|
फाइल फोटो

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षता गर्ने सचिवालय बैठकमा सांगठनिक एकता र अन्य निर्णयहरू गरिने बताइएको छ।

सचिवालय बैठक सोमबार दिउँसो १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बोलाइएको हो।

पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि गत बिहीबार सिंगापुर गएपछि अध्यक्ष प्रचण्डले बैठक बोलाएका हुन्। बिहीबार बसेको बैठकले प्रचण्डको अध्यक्षतामा बैठक बस्ने निधो गरेको थियो। पार्टी एकताका बाँकी काम टुंगो लगाउन प्रचण्डले बैठक बोलाएर निर्णय गर्ने निर्णय यसअघिको सचिवालय बैठकले गरेको थियो।

अध्यक्ष प्रचण्डले यसअघि पार्टी सचिवालय बैठकको नेतृत्व गरेका छैनन्। पार्टीअध्यक्षमा ओली र प्रचण्ड छन्। बैठकको नेतृत्व भने ओलीले गर्दै आएका थिए।

नेकपामा प्रवास कमिटी, महानगरहरूको नेतृत्व, पोलिटब्युरो गठन, अन्य केन्द्रीय सदस्यहरूको कार्यविभाजनलगायतका एकताका काम हुन बाँकी छ।

भोलिको बैठकबाट पार्टी एकताका बाँकी कामको टुंगो लाग्ने सम्भावना रहेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

नेकपाका यसअघिका सचिवालय बैठकहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुँदै आएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.