६० लाख लगानी गरेर भेडी गोठ

|

म्याग्दी : धवलागिरी गाउँपालिका-५ मल्काबाङका देवान छन्त्याल मलेसियामा कम्प्युटरसम्बन्धी रोजगारी छोडेर अहिले धौलागिरी हिमालको फेदीमा भेडापालन व्यवसाय सञ्चालन गर्दै आएका छन्।

मल्काबाङको खर्कमा ६ महिनाअघि ६० लाख रुपैयाँको लगानीमा भेडापालन सुरु गरेका छन्त्यालको दैनिकी अहिले मलेसियमा जस्तो कम्प्युटरको किबोर्डमा होइन भेडाका हुलसँगै धौलागिरी आधारशिविरको चरन क्षेत्रमा बित्ने गरेको छ।

गोठमा रहेका भेडाबाख्रालाई चरनमा लैजाने, वन्यजन्तुबाट जोगाउन रेखदेख गर्ने र भेडाबाख्रालाई बजारीकरण गर्ने उनको दैनिकी हो। अहिले भेडीगोठलाई धवलागिरि हिमालको फेदीतिर पुर्‍याएका छन्। गर्मीयाम सुरु भएसँगै चरणको लागि हिमालको काखमा गोठ पुयाएका छन्त्याल नियमित जसो भेडीगोठमै समय बिताउने गर्छन्। उनको गोठमा अहिले करिब ४५० भेडाबाख्रा छन्।  ४० लाख लगानीमा ३५० भेडाबाख्रा खरिद गरी भेडापालन सुरु गरेका छन्त्यालले अहिले थप २० लाख लगानी गरी भेडाबाख्राको संख्या बढाएका छन्।

'हिउँदमा बेंशी झरेका भेडीगोठ अहिले लेकमा छन्, हिमालकै फेदीसम्म चरणका लागि गोठ पुर्‍याउनुपर्छ, जंगल, भीरपहरा र बुकी गोठका साथी हुन्,’ छन्त्यालले भने। तल्लो क्षेत्रमा रहेका भेडीगोठ च्यामली, चौरवन, रिखार, रिरु, बाँझो बुकी हुँदै धौलागिरि हिमालको बेसक्याम्पमा पुर्‍याइएको छ।

चौरवनदेखि बेसक्याम्पसम्मको भूगोल कठिन र जोखिमपूर्ण रहेकाले भेडीगोठका भेडाबाख्रासँगै गोठका सामग्री ओसारपोसारमा गोठालाहरुलाई सकस हुने गरेको छ। गाउँदेखि च्यामलीसम्म खच्चडमार्फत गोठमा खाद्यान्नलगायतको सामाग्री पुर्‍याउने गरिए पनि त्यहाँदेखि माथि भने मानिसले नै बोकेर हिउँ छिचोल्दै सामग्री ढुवानी गर्नुपर्ने बाध्यता छ।

घनघोर जंगल पार गरेर हिमालको फेदीको फाँटमा चरन गर्दै गरेका भेडाबाख्राको लर्कोको सुन्दर दृष्यले भेडीगोठको दुःखलाई भुलाइदिने गरेको छन्त्याल बताउँछन्। ‘दुई दशकभन्दा बढी समय विदेशमा बिताएँ, पुर्खाहरुकै पेशालाई व्यावसायिक बनाउन सकिन्छ कि भनेर ठूलो लगानीमा जोखिम मोलेर भेडाबाख्रा पालन थालेको हुँ,'उनले भने, 'गोठमा हुने सबै सकसलाई सहर्ष स्वीकार गरेको छु।’ उनले गोठमा बिताउने बाहेकको समयलाई आफ्नो पुरानै पेशा कम्प्युटर डिजाइनिङमा समेत लगाउने गरेका छन्।

छन्त्यालको भेडीगोठमा काम गर्दै आएका याम गौचनले परम्परागत रुपमा हुँदै आएको भेडाबाख्रा पालनमा युवाहरुको आकर्षण बढ्नुलाई सकारात्मक मान्छन्। ‘भेडीगोठ बिस्तारै हराउँदै जान थालेको छ, बुढापाका मात्रै गोठाला छम्, युवाहरु सबै शहर र विदेशतिर जान्छन, भेडीगोठको निरन्तरताको लागि युवाहरुको आगमनले हामीलाई हौँसला थपिएको छ,’ दुई दशकदेखि भेडीगोठालाको काम गर्दैै आएका गौचनले भने।

छन्त्यालको भेडीगोठमा अहिले २ जना गोठाला छन्। भेडीगोठको सुरक्षामा गोठालासँगै ‘भोटे कुकुर’ पनि राखिएका छन्। गौचनले भने, ‘गोठ र चरन क्षेत्रमा जंगली जनावरबाट जोगाउन कुकुर नै प्रमुख सारथी हो, कुकुरविना यसरी गोठ बस्न नै सकिँदैन।’

वनको नीति चरिचरनविरुद्ध 

पछिल्लो समय सामुदायिक वनको नीतिका कारण भने भेडापालनमा समस्या भएको गौचनको गुनासो छ। खुला चरनको अभावले म्याग्दीका धौलागिरि र अन्नपूर्ण क्षेत्रमा ठूलो संख्यामा भेडीगोठ घटेका छन्। जिल्लाको तल्लो भेगमा सामुदायिक वन उपभोक्ता समूहले चरन क्षेत्र उपलब्ध नगराउँदा समस्या भएको व्यवसायीको गुनासो छ। ‘सबै क्षेत्रमा भेडा डुलाउन पाए राम्रो हुन्थ्यो,’ भेडा गोठाला गौचनले भने, ‘तर केही सामुदायिक वनमा चरीचरनमा रोक लागेको छ।’

यस्तै, भेडापालकसँग प्रत्येक सामुदायिक वनले ५०० देखि तीन हजार रुपैयाँसम्म वार्षिक राजस्व उठाउने गरेको छ। सरकारले नै वनको नीति परिवर्तन गरेर सामुदायिक वनक्षेत्र चरीचरनका लागि खुला बनाइदिनुपर्ने उनीहरूको माग छ।

रोग लागे बेनी दोडिनुपर्ने बाध्यता 

४५० वटा भेडालाई दैनिक रुपमा रेखदेख गर्न छन्त्याललाई निकै सास्ती भएको छ। एउटा गोठालासँगै छन्त्याल पनि अधिकांश समय भेडाहरुसंगै गोठ र चरन क्षेत्रमा नै व्यस्त देखिन्छन्।

तर, भेडालाई रोग लाग्दा भने छन्त्याल औषधि लिन दुई दिन लगाएर सदरमुकाम बेनी धाउन बाध्य हुन्छन्। भेडामा नाम्ले, फनफनेजस्ता रोग लाग्दछ। पशुचिकित्सक नजिक नहुँदा २ दिन सदरमुकाम बेनी वा दरवाङ औषधि किन्न धाउनुपर्ने बाध्यता रहेको छन्त्यालले बताए।

ऊनका सामग्री विदेशमा माग 

भेडाको ऊनबाट बनेका राडीपाखी स्वदेशी बजारका साथै विदेशमा समेत निकासी हुने गरेको छ। चीन, भारतलगायत देशमा यसको माग हुने गरेको भेडापालक कृषकहरुले बताए।

यद्यपि, भेडापालन घट्दै गएकाले मागअनुसार उत्पादन हुन सकेको छैन। भेडाको ऊनबाट बनेका राडी आतिथ्य सत्कारमा बढी प्रयोग हुने गर्छ। साथै चिसोबाट बच्न यसलाई तन्दाको रूपमा ओछ्याउने र सिरकको रूपमा ओढ्ने समेत गरिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.