|

तपाईंलाई कुनै विषयका बारेमा खोज्न मन लाग्यो भने तुरुन्त गुगल सर्च गर्नुहुन्छ। आजकल त झन् सबै प्रश्नको उत्तर नै गुगलले पत्ता लगाउँछ भन्ने गरिन्छ। सबैको समस्या समाधानमा सहयोग गर्ने यति ठूलो सर्च इन्जिन गुगल नै कहिलेकाहीँ आफैँ विवादमा पर्ने गरेको छ।

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा मत फेरबदलमा भूमिका निर्वाह गरेको आरोप खेपेको गुगलले अब त्यस्ता आरोप नै बेहोर्नुनपरोस् भन्नका खातिर आफ्ना कर्मचारीहरूलाई सचेत गराएको छ।

उसले आफ्ना कर्मचारीहरुलाई कार्यकक्षमा राजनीति र अन्य अनावश्यक मुद्धामा बहस नगर्न र आफ्नो काममा मात्र ध्यान दिन निर्देशन दिएको छ। जसअनुसार अब गुगलका कर्मचारीहरूले आफ्नो कार्यकक्षमा रहँदा कुनै पनि प्रकारको राजनीतिक कुराकानी गर्न पाउने छैनन्। नयाँ निर्देशन नमान्ने कर्मचारीमाथि कारबाही मात्र गरिनेछैन उसको जागिर नै जानसक्छ। 

गुगलले छुट्टाछुट्टै विभागका म्यानेजर र फोरमको नेतृत्व गर्नेहरूलाई नयाँ निर्देशन लागू गराउन र नमान्नेलाई अनुशासनको कारबाही गरिनेबारे सावधानी गराउन भनेको छ।

गुगलको यो निर्देशनलाई अमेरिकी निर्वाचनमा राष्ट्रपति ट्रम्पको मत फेरबदलको आरोपसँग जोडेर हेरिएको छ। कम्पनिले भविष्यमा यस्तो आरोप नलागोस् भन्ने हेतुले यो कदम चालेको बुझिएको छ।

गुगलले जारी गरेको निर्देशनमा कर्मचारीहरूबीच राजनीतिक मुद्‍दामा बहस हुँदा त्यो सार्वजनिक हुने, यसका लागि कम्पनीलाई जिम्मेवार ठहराइने र यसले गलत प्रभाव पर्ने उल्लेख गरिएको छ। “गुगल कुनै पनि प्रकारको वितण्डा, कारोबार या राजनीतिक विमर्शभन्दा टाढा रहन्छ यसकारण गलत या भ्रामक बयान दिनबाट कर्मचारीहरूले बच्नुपर्नेछ” भनिएको छ। यसले कम्पनीमाथि मानिसहरूको विश्वास कायम रहने गुगलको विश्वास छ। 

गुगलबाट निस्किएका एक इन्जिनियरलाई आधार बनाएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गुगलले डेमोक्रेटिक पार्टीकी राष्ट्रपतिकी उम्मेद्वार हिलारी क्लिन्टनको पक्षमा १६ मिलियन मत फेरबदल गरेको आरोप लगाएका थिए। यद्धपि, गुगलले राष्ट्रपति ट्रम्पको उक्त आरोपलाई तत्काल निराधार भन्दै कम्पनीले कुनै पनि प्रकारको राजनीतिक झुकाव नराख्ने स्पष्ट पारेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.