|

पर्वत : विवाह होस या चौरासी, नेताले भाषण गर्ने कार्यक्रमहरू हुन या विजय उत्सव नै किन नहुन्? जहाँ उत्सव, महोत्सव, मेला, जात्रा लगायतका कार्यक्रमहरू हुन्छन् त्यहाँ सुरुमा नै नहरा बजाउनु नेपाली समाजमा शुभ संकेत मानिन्छ। 

यस्ता कार्यक्रमहरूको सुरुवात गर्दा नै दमाई दाइलाई दमाहा, ढोलक, झ्याली, ट्याम्को, सहनाई, कर्नाल लगायतका नौमती बाजा बजाउन लगाएर कार्यक्रमको सफलताको कामना गर्दै 'नहरा' लगाउन भनिन्छ। यही कारण पनि यस्ता अवसरमा खोजी खोजी महँगै पैसा तिरेर भए पनि नौमती बाजाको टोली उतार्ने गरिन्छ। नेपाली परम्परा र संस्कारमा औधी रुचाइने पञ्चे र नौमती बाजा आजभोलि हराउँदै जान थालेका छन्।

कताकति मात्रा बाजा बजाउने टोली भेटिँदा यस्ता अवसरमा नहरा लगाउने बाजाको अभाव हुँदै गएको छ। विभिन्न कारणले लोक, पञ्चे तथा नौमती र अन्य बाजा बजाउने बाद्यबादक नै पाउन मुस्किल हुन थालेपछि पर्वतको कुस्मा नगरपालिकाले पञ्चेबाजा संरक्षण गर्ने अभियान थालेको छ।

बाजा लोप हुँदै जाँदा बाजा हराउनुको मात्र चिन्ता नभई परम्परादेखि बाजा बजाएर पेट पाल्दै आएकालाई अहिले आर्थिक जोहो गर्न पनि समस्या भएकोले बाजा बजाउने गरेका दलित समुदायको संरक्षणको लागि पनि बाजा जोगाउने अभियान थालिएको कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बताए।

‘लोकबाजा हामी नेपालीका मौलिक पहिचान हुन्। सुख-दुःख सबै क्षणमा चाहिने बाजा नै हराएपछि हाम्रो पहिचान पनि हराएको छ’ उनले भने, ‘एकातिर पहिचान हराएको चिन्ता छ। अर्कोतिर बाजा बजाएरै पेट पाल्नेलाई बाजाकै अभावमा समस्या भएको छ। यही कारण बाजा संरक्षणको लागि नगरपालिकाबाट प्रयास थालेका हौँ।’ 

अभियानअन्तर्गत जिल्लाका धेरै ठाउँमा बाजा बजाउनकै लागि पुग्ने गरेको कुस्मा नगरपालिका २ खुर्कोटमा रहेको बाजा टोलीलाई बाजा किनेर हस्तान्तरण गरिएको छ। झन्डै ८० हजार मूल्य बराबरका बाजाहरू हस्तान्तरण गरिएको कुस्मा नगर सञ्जालका अध्यक्ष दुर्गाबहादुर नेपालीले बताए।

एक सेट बाजाको मूल्य नै यति महँगो पर्ने भएका कारण बाजा पुराना हुँदा, टुट-फुट हुँदा, हराउँदा नयाँ किन्न सक्ने अवस्था नहुने खुर्कोटकै बाद्यबादक सेते दर्जीले बताए। ‘बाजा महँगो छ हाम्ले किन्न सकिन्न। जस्ता छन् उस्तै बजाउँछाैं। बोलाएका ठाउँमा जाने गरेका छाैं’ उनले भने, ‘बाजा नहुने हो भने हाम्ले कमाउने अरू उपाय छैन। नगरपालिकाले बाजा दिएसी अब त यिनी बजाएर खान पाइने भयो।’

सेते दर्जी जस्तै बाजा बजाएर पेट पाल्दै आएका खुर्कोटका अन्य बाद्यबादकहरू पनि बाजा पाएपछि खुसीले गदगद भएका छन्। बाजाको संरक्षणका लागि नगरपालिकाले थालेको यो अभियान प्रशंसनीय रहेको लोकदोहोरी गायक तथा गीतकार कस्तुप पन्तले बताए। उनले भने,'बाजा बजाउँदै आएका समुदाय आफैले बाजा किन्दा महँगो पर्ने भएकोले संस्थाले गरेको सहयोग महत्वपूर्ण रहेको छ।'

‘हामीले दुई वर्ष अगाडि फलेवास नगरपालिकाको लिमिठानामा रहेको बाजा समूहलाई नौमती बाजाको एक सेट किनेका थियौँ। त्यही बेलामा नै एक लाख बीस हजार रुपैयाँ परेको थियो’ उनले भने, ‘कुस्मा नगरपालिकाले संस्कृति र परम्पराको माया मानेको सुन्दा खुसी लाग्यो। अब अरू स्थानीय तहले पनि नेपाल र नेपालीको मौलिकताको रक्षा गर्न यस्तै खालका योजनाहरू ल्याउन आवश्यक छ।’

दलित समुदायका लागि बाजा उपलब्ध गराउँदा उनीहरूको पुर्ख्यौली पेसा व्यवसायलाई संस्थागत गर्न सजिलो हुनुका साथै दलितलाई पनि स्वरोजगार बनाउन सकिने नगर सञ्जालका पूर्व सचिव भीम नेपालीको भनाई छ।

कुस्मा नगरपालिका यसअगाडि नगरपाािलका ९ कटुवाचौपारी र वडा नं. १२ पकुवामा रहेका दुई वटा बाजा समूहलाई पनि बाजा उपलब्ध गराइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.