|

म्याग्दी : बिहानको मिरमिरेदेखि साँझको झिसमिसेसम्म माटो, मल, पानी र विरुवासँग खेलिरहने बेनी नगरपालिका २ खवराका चन्द्रबहादुर कार्कीले तरकारी बारीबाट नै दिनमा सयौं मानिसहरूलाई नमस्कार फर्काउँछन्।

‘कार्की जी नमस्कार’ भन्दै तरकारी बारीमा नै आउने ग्राहकहरूलाई नमस्कार फर्काउँदै उनीहरूले रोजेको तरकारी टिपेर ग्राहकलाई दिँदै भलाकुसारीसम्म गर्न भ्याउने हँसिला ५८ वर्षीय कार्की म्याग्दीका लागि अर्गानिक तरकारीका पिता मानिन्छन्।

म्याग्दीको बेनी नगरपालिका-२ खवराका कार्कीका लागि घर अगाडिको तरकारी बारी नै युरोप र अमेरिका बनेको छ। ४० वर्ष अघिदेखि व्यावसायिक तरकारी खेती शुरु गरेका कार्कीले तरकारी फलाएर नै सम्पत्ति र सम्मान दुवै कमाएका छन्।

तरकारीको बीउ र विरुवासमेत आफ्नै नर्सरीमा उत्पादन गरेर तिनै विरुवामार्फत व्यावसायिक रूपमा नै अर्गानिक तरकारी खेती गर्ने कार्कीले तरकारी बेचेर नै मासिक ६५ हजारभन्दा बढी आम्दानी गर्छन्।

कार्की जस्तै अर्का कृषक छन् बेनपा २ रोहोटेका शोभित शर्मा। शर्माले व्यावसायिकरूपमा तरकारी खेती गर्न लागेको करिब २० वर्ष भयो। आफूले यो २० वर्षको अवधिमा तरकारीबाट नै रु ५० लाखभन्दा बढीको सम्पत्ति जोडिसकेको शर्मा बताउँछन्।

‘२० वर्षअघिसम्म परिवारको विजोग थियो’ सानै उमेरमा बुबाको मृत्यु भएपछि परिवारको सम्पूर्ण जिम्मेवारी सम्हालेका ३८ वर्षीय शर्माले भने ‘साँझ बिहान खाने कुरा हुँदैनथ्यो, घरको जिम्मेवारीले गर्दा पढ्न पनि सकिनँ, विदेश जाने पैसा भएन र शुरु गरेँ २ रोपनी पाखोवारीमा तरकारी खेती।’ २० वर्षअघिको दुःख सम्झदै शर्माले थपे, ‘त्यही  पाखोवारीमा गरेको तरकारी खेतीबाट नै मेरो जीवनमा पनि हरियाली छाउँदै आयो।’

कार्की र शर्मा दुई प्रतिनिधिमूलक पात्र मात्र हुन्। म्याग्दीमा पछिल्लो समय व्यावसायिकरूपमा अर्गानिक विधिद्वारा तरकारी खेती गरेर सम्पत्ति र सम्मान कमाउने किसानहरूको संख्या वृद्धि हुँदै गएको छ।

तीन वर्षदेखि पर्यटकीय क्षेत्रको रूपमा विकास भएको लभ्लीहिलको तल्लोपट्टि २० मिटरको दूरीमा छ म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीको घर। घर अगाडिको २२ रोपनी जग्गामा फलेका छन् गोलभेडा, काउली, बन्दागोपी, मुला, गाजर, सिमी, कांक्रा, साग, प्याज, लसुन, धनियाँ र अन्य तरकारीहरू। घरको माथिल्लोपट्टी एउटा टिनले छाएको छाप्रोको पसलमा  फलफूल र तरकारी राखिएको छ। लभ्लीहिलमा जाने पर्यटकहरू त्यही पसलमा आएर फलफूल र तरकारी किनेर फर्किने गर्छन।

कार्कीले करिब २२ रोपनी र शर्माले १४ रोपनी जग्गामा तरकारी खेती गरेका छन्। स्थानीय बजारमा कार्की र शर्माले उत्पादन गरेको तरकारीको माग अहिले पनि उत्तिकै छ। तरकारी बेचेर कार्कीले मासिक रु ६५ हजारभन्दा बढी र शर्माले रु ५५ हजारको हाराहारीमा आम्दानी गर्छन्।

तरकारी मात्रै होइन यी दुवै कृषकले फलफूल खेती, बाख्रा पालन र माछा पालन पनि एकसाथ गरेका छन्। कार्कीले तरकारीको साथमा केरा खेती र माछा पालन गरेका छन् भने शर्माले बाख्रा पालन गरेर दोहोरो आम्दानी लिन सफल भएका छन्। दुवैतर्फको आम्दानी जोड्दा दुवै कृषकको आम्दानी मासिक १ लाख रुपैयाँभन्दा बढी हुन्छ।

सिजन र बेसिजनमा समेत तरकारी उत्पादन गर्ने कार्कीले  शुद्ध अर्गानिक तरकारी उत्पादन गर्छन्। बारीमा फलेको तरकारीको स्वाद र गुणका कारणले नै लामो समय बजारमा आफ्नो उत्पादन टिकेको कार्कीको भनाइ छ। ‘तरकारीमा प्रयोग गर्ने विषादी कस्तो हुन्छ मलाई जानकारी छैन’ कार्कीले भने ‘रोग किराको नियन्त्रण गर्ने मेरो औषधि गाईवस्तुको गहुँत मात्रै हो।’

गहुँतकै प्रयोगले मात्रै तरकारीमा लागेका सबै रोगकिरा मर्ने गरेको अनुभव उनीसँग छ। कार्कीले उत्पादन गरेको तरकारी आधाजसो तरकारी बारीबाट नै बिक्री हुन्छ भने बचेको उनकी पत्नी लक्ष्मी कार्कीले बजारमा पुराउने व्यवस्था मिलाउँछिन्। कार्कीको घरका चार जना परिवार नै तरकारी खेतीमा लागेका छन्।

एउटै गाउँका यी दुई जना कृषकको देखासिकी गरेर अहिले खवराको गाउँ नै तरकारी र फलफूलको गाउँमा परिणत भएको छ। २ सय ४० घरधुरीको बसोबास रहेको खवराका प्रायः सबै मानिसहरू तरकारी र फलफूल खेतीमा लागेका छन्। ‘अहिले खवरा गाउँ नै हरियाली गाउँमा परिणत भएको छ, ताजा र अर्गानिक तरकारी र फलफूलका कारण खवराको परिचय नै फेरिएको छ', नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बेनी नगरपालिकाका सचिव एवं स्थानीय राजकुमार थापाले भने।

मानिसहरू अहिले छिटो र सस्तोका लागि तरकारीजन्य वस्तुमा पनि किटनासक औषधि प्रयोग गर्दछन्। औषधिले मानिसको स्वास्थ्यमा कति असर पार्छ भन्ने खासै चासो राख्दैनन्। तर, कार्की र शर्माले उपभोक्ता स्वास्थ्यको हितमा हुने गरी तरकारी उत्पादन गर्दै आएका छन्। बिषादीका कारण मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ भन्ने बिषयमा गाईंगुईं सुनेका कार्कीलाई कहिल्यै पनि तरकारीमा बिषादी प्रयोग गर्ने र क्षणभरमै मालामाल हुने मन नपलाएको बताए।

कार्की र शर्माले उत्पादन गरेको तरकारीको माग सदरमुकाम बेनी बजारमा धेरै छ। वाहिरबाट आयातित सस्तो तरकारीभन्दा उपभोक्ताले बरु केही रकम बढी तिरेरै भए पनि कार्की र शर्माले उत्पादन गरेको तरकारी खरिद गर्ने गरेका छन्।

‘बजारमा होस् वा गाउँमा अर्गानिक तरकारी खोज्नेको माग बढ्दै गएको छ’ शर्माले भने ‘मागेजति तरकारी पुर्‍याउन सकेको छैन।’ उपभोक्ताको चाहनाअनुसारको उत्पादन दिन सके पैसा कमाउन विदेश जान नपर्ने शर्माको भनाइ छ।

प्रायः सबै काम आफैँले गर्ने शर्मालाई पछिल्लो समय प्रविधिले सघाएको छ। खेतबारीको खनजोत गर्नका लागि आधुनिक मेसिन आएकाले सहज भएको शर्माले बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.