|

दमक : दमक उद्योग वाणिज्य संघको आसन्न निर्वाचनको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकका राजनीतिक दल विभाजित बनेका छन्। यहाँ सत्ताको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी नेकपा एक्लै चुनावी मैदानमा छ भने बाँकी सबै दल अर्को प्यानलमा अटाएका छन्। शक्तिशाली नेताको गृहनगर भएकाले पनि यहाँका व्यवसायीको निर्वाचनलाई राजनीतिक दलले आफ्नो प्रतिष्ठाको विषय बनाएका छन्।

दुवै प्यानलका उम्मेदवार राजनीतिक दलले बनाएका छनोट समितिबाट सार्वजनिक भएका हुन् भने चुनाव परिचालनमा पनि राजनीतिक नेतृत्व नै हाबी देखिएको छ। भर्खरै पार्टी एकता भएकाले पनि नेकपालाई उम्मेदवार तय गर्न साबिकका दुई दलको सन्तुलन मिलाउन चुनौती बनेको थियो भने लोकतान्त्रिक प्यानलको रूपमा

गोलबद्ध बाँकी ८ दललाई दलीय हैसियतअनुसार भाग लगाउन निक्कै चरणका वार्ता पूरा गर्नु पर्‍यो। दमक उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आगामी भदौ २० गते निर्वाचन हुँदैछ।

नेकपाका उम्मेदवार र एजेण्डा

तीनै तहका सरकारको सत्तामा रहेको नेकपाले प्रगतिशील व्यावसायिक समूह भन्दै वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष विमल खतिवडालाई अध्यक्ष पदको उम्मेदवार बनाएकोछ।

यस्तै वरिष्ठ उपाध्यक्षमा वर्तमान समितिका प्रथम उपाध्यक्ष गोपाल गुरागाईं, प्रथम उपाध्यक्षमा वर्तमान समितिका द्वितीय उपाध्यक्ष युवराज घिमिरे, द्वितीय उपाध्यक्षमा पूर्वकार्यसमिति सदस्य घनश्याम खनाल र तृतीय अध्यक्षमा हालकै कार्य समिति सदस्य ज्ञाननाथ पौड्याललाई उम्मेदवार बनाएको छ।

यस प्यानलले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा संघीय सरकारले अघि सारेका नेपाल-चीनमैत्री औद्योगिक पार्क, बुद्ध मूर्ति, भ्यू-टावर जस्ता योजनालाई प्राथमिकता दिइएको छ। प्यानलका अध्यक्षका उम्मेदवार विमल खतिवडाले दमकलाई औद्योगिक सहरको रूपमा स्थापित गर्न अगुवाइ गर्ने बताए।

प्यानलको १६ बुँदै प्रतिबद्धता पत्रका दमकमा संघीय सरकारमार्फत शुरु भएका बृहत योजनाको कार्यान्वयनमा समन्वयकारी भूमिका निर्वाह गर्ने, दमकमा कृषि तथा पर्यटन व्यवसायको प्रवर्द्धन गर्ने, गौरीगञ्ज तथा ओलांचुंगोला भन्सारको स्तर वृद्धिका लागि पहल गर्ने लगायतका बुँदा समेटिएका छन्।

यस्तै दमकको सहरीकरण र सुरक्षाका लागि सौर्यवत्ती जडान, ईलम प्रशिक्षण केन्द्र सञ्चालन, दमकलाई प्लाष्टिकमुक्त कार्यान्वयनलगायतका विषय समेत प्रगतिशील प्यानलको घोषणा पत्रमा समावेश गरिएको छ। अघिल्लो पटक नेकपा एमालेको आधिकारीक उम्मेदवार बनेका गणेश बस्नेतसमेत अहिले चुनाव परिचालनमा जुटेका छन्।

तत्कालिन समयमा एमालेकै कार्यकर्ताले बागी प्यानल बनाएका कारण अधिकांश पार्टीका उम्मेदवार पराजित भएका थिए। तर, अहिले पार्टीमा विगतको जस्तो अवस्था नरहेको, पार्टी एकतापछि झन एक ढिक्का भएकाले परिणाम प्रगतिशीलको पक्षमा आउने निश्चित रहेको उनको भनाइ छ।

यस्तै, उम्मेदवार छनोट र निर्वाचन परिचालनका लागि पार्टीबाट गठित समितिका संयोजक दुर्गा चौलागाईंले विगतभन्दा पनि वर्तमान र भविष्यप्रति केन्द्रित भएर लोकतान्त्रिक प्यानलले घोषणा पत्र ल्याएको बताएका छन्। पार्टीले उम्मेदवार तोक्नेभन्दा पनि समन्वयको काम गरेको उनले जनाएका छन्।

लोकतान्त्रिकका उम्मेदवार र घोषणा

आसन्न दमक उद्योग वाणिज्य संघको निर्वाचनलाई लक्षित गरी लोकतान्त्रिक व्यवसायी प्यानलले नेपाली कांग्रेस सम्बद्ध व्यवसायी गोकुल श्रेष्ठलाई अध्यक्षको प्रत्यासी बनाएको छ। अघिल्लो निर्वाचनमा पनि उनी अध्यक्ष पदमै पराजीत भएका थिए। उनीसँगै तत्कालीन नेकपा एमालेले अघि सारेका आधिकारीक उम्मेदवारसमेत पराजीत हुँदा बागी प्यानलबाट अघिकांश पदाधिकारी निर्वाचित भएका थिए।

लोकतान्त्रिक प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सहदेव आचार्य, प्रथम अध्यक्षमा राजु खड्का, द्वितीय उपाध्यक्ष राजकुमार योङ्या र तृतीय उपाध्यक्षमा रमा लिम्बूको उम्मेदवारी घोषणा भएको हो। तीमध्ये खड्का यसअघि नयाँ शक्तिपार्टीबाट उम्मेदवार हुँदै कार्य समिति सदस्यमा निर्वाचित भएका थिए भने लिम्बू नेपाली कांग्रेस सम्बद्ध हुन्। उनी हालकी कार्यसमिति सदस्य हुन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सार्वजनिक गरेको प्रगतीशिल व्यवसायीक प्यानलविरुद्ध गोलबद्ध ८ दलको संयुक्त प्यानलले बुधबार २४ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो। घोषणापत्र निर्माण समितिका संयोजक पर्शुराम रिजालले तीन तहमा सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी नेकपाप्रति नागरिक निराश भएकाले पनि बाँकी सबै दल एकै गठबन्धनमा आएको बताए।

यस्तै, राप्रपा प्रदेश अध्यक्ष राम थापाले लोकतान्त्रिक प्यानलले समावेशी र सहभागीतामूलक उम्मेदवार सार्वजनिक गरेकाले सबै क्षेत्रको भावना पनि समेटिएको बताए। लोकतान्त्रिकको प्यानलमा व्यवसायीहरूलाई बोझ बनेको पिप्यान, भिसिटिएस तथा कर प्रणालीलाई व्यवस्थित गर्न, सडक पूर्वाधार करको बोझ घटाउन तथा सरसफाइको नाममा लिइने चर्को कर न्यूनीकरण गर्न पहल गर्नेलगायतका विषय समेटिएको छ।

यस्तै, संघलाई पारदर्शी बनाउने, इलम प्रशिक्षण केन्द्र सञ्चालन गर्ने, विभिन्न अस्पतालहरूसँग सम्बन्ध स्थापित गरि उपचारमा सहुलियत गराउने, फुटपाथ व्यवस्थित पार्ने, आदिवासी रंगशालामार्फत खेल तथा धार्मीक पर्यटन प्रवर्द्धन गर्ने, रवि सडक निर्माणलाई जोड दिँदै दमक औद्योगीक पार्क निर्माणमा निजी क्षेत्रलाई प्रोत्साहित गर्नेजस्ता विषय पनि समेटिएको छ। सो घोषणा कार्यक्रममा अध्यक्षका उम्मेदवार गोकुल श्रेष्ठले सबै प्रतिबद्धता शतप्रतिशत पूरा गर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.