|
फाइल फोटो

दार्चुला : दार्चुलाका कुनै ठाउँमा छाउगोठ नहुँदा पनि अन्य जिल्लामा जस्तै बदनाम गराइएको प्रति यहाँका नागरिक अगुवाले गुनासो गरेका छन्।

दार्चुला भन्नेबित्तिकै छाउगोठको धारणा व्यक्त गर्नेले जिल्लाको वस्तुस्थितिको अध्ययन नै नगरेको बताउँदै गैरसरकारी संस्था महासंघ दार्चुलाका अध्यक्ष नारायणदत्त जोशी भन्छन्, ‘सुदूरपश्चिमका सबै जिल्लामा छाउगोठको चलन रहेको बुझाइलाई दार्चुलाबासीले चिर्नु आवश्यक छ।’

करिब १५ वर्षदेखि रेडक्रस अभियानमा लागेका महाकाली नगरपालिका-४ का राधिका अवस्थी भन्छन्, ‘दार्चुलाका कुनै स्थानमा पनि छाउगोठ भेटाएको छैन र सुनेको पनि छैन।’ उनी दार्चुलामा अन्यत्र जस्तो छाउपडीको चरम विकृतिसमेत नरहेको बताउँछन्।

जिल्लाको ग्रामीण क्षेत्रमा अझै पनि गरिबी, अभाव र रूढीग्रस्त मान्यता जीवित रहेको बताउँदै दार्चुला बहुमुखी क्याम्पसका उपप्राध्यापक धाना धामी भने, 'सामान्य छोइछिटो गर्ने चलन रहेको छ।'

महिनावारी भएको बेला छुट्टै कोठामा सुत्ने अवस्थाको समेत अन्त्य हुन लागेको अवस्थामा दार्चुलालाई पनि अन्य जिल्ला सरह छाउगोठ रहेको क्षेत्रमा रूपमा चिनाउँदा आफूहरूलाई नराम्रो लाग्ने महिला अधिकारकर्मीहरू बताउँछन्।

महिनावारी र सुत्केरी भएको बेला पूजाकोठा र भान्सा नगर्ने प्रचलन अन्यत्र जस्तै दार्चुलामा पनि रहेको बताउँदै महिला सशक्तिकरण समाज धम्पनेरका सदस्य द्रोपती धामी भन्छन्, ‘गोठ मै सुताउने, खाना नै नदिने वा अलग्गै घरमा राख्ने चलन दार्चुलामा छैन।’

मुख्य गरी सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा छाउपडी प्रथाले ग्रसित भन्ने विभिन्न बहस र चर्चा हुने गरेको छ। बाहिरी चर्चा र बहस गरिन्छ त्यस्तो अवस्था भने दार्चुलामा नरेहेको स्थानीय सञ्चारकर्मी ईश्वरी बुढाथोकीको भनाइ छ।

दार्चुला जिल्लाका अन्य जिल्लामा जस्तो चर्चामा नआएको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुवँरको भनाइ छ। 'दार्चुला जिल्लामा अन्य जिल्लाहरूको जस्तो चर्चामा छैन, रिपोर्टिङमा पनि केही आएको छैन हालसम्म' सहायक प्रमुख जिल्ला अधिकारी कुवँरले भने। जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी कुवँरका अनुसार अहिलेसम्म प्रशासनका छाउपडी प्रथासम्बन्धी कुनै मुद्दा दर्ता भएको छैन ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार पनि अहिलेसम्म यस्ता छाउपडी प्रथाका मुद्दाहरू दर्ता भएको उदाहरणहरू नै छैनन्। केही रूढीगत मान्यता पक्कै छन् तर बाहिर हल्ला गरिए जस्तो दार्चुलामा छाउपडीको विकृत रूप छैन भन्दै पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंरकसिह धामी केही ठाउँको समस्यालाई लिएर समग्र क्षेत्रलाई दोषारोपण गरिनु ठीक नहुने बताए।

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही जिल्लाहरूका छाउपडी प्रथाको चलनको जरो गाडेकाले सिंगो प्रदेशलाई नै छाउपडी प्रथाको पगरी गुथाइएको छ। सुदूरपश्चिम प्रदेशका अछाम, बझाङका केही ग्रामीण क्षेत्रमा छाउगोठहरूको चलन विद्यमान रहेका छन् भने ती छाउगोठमा कतिपय महिलाले ज्यानसमेत गुमाएका छन्।

छाउगोठको प्रचलनलाई समग्र क्षेत्रको समस्याका रूपमा चित्रण गरेर यस्तो समस्या नै नरहेका क्षेत्रलाई बदनाम गर्नु आवश्यक नरहेको र छाउगोठलाई हटाउन नसकिने क्षेत्रमा आधुनिक सुविधा सम्पन्न छाउघर निर्माण गर्नतर्फ सरकारी र गैरसरकारी निकाय लाग्नु पर्ने गैरसरकारी महासंघ दार्चुलाका अध्यक्ष नारायणदत्त जोशी बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.