|
तस्बिर : रासस

काठमाडौ :  यातायातको अत्यधिक चाप र पैदल यात्रुको भीड हुने कोटेश्वरमा तत्काल आकाशे पुल नबन्ने भएको छ ।

पैदल यात्रु र सवारीचालक दुवैको समस्यालाई मध्यनजर गर्दै सडक विभागले कोटेश्वर चोकमा आकाशे पुल निर्माण गर्ने भएको थियो। तर स्थानीयबासीले विरोध गरेपछि कोटेश्वरमा पुल तत्कालै नबन्ने भएको संघीय सुपरीवेक्षण तथा अनुगमन डिभिजन कार्यालयले जनाएको छ ।

कोटेश्वरबासी र पैदल यात्रुलाई ध्यानमा राखेर कोटेश्वरमा आकाशे पुल बनाउने निर्णय गरेको थियो। तर, स्थानीयको अवरोधपछि  पुल निर्माण नगर्ने निर्णय गरेको संघीय सुपरीवेक्षण तथा अनुगमन डिभिजन कार्यालयका प्रमुख कैलाश श्रेष्ठले बताए। उनका अनुसार मुख्यचोक देखि ८० मिटर उत्तरमा पुल बनाउने भएको हो। अहिले आकाशे पुल कलंकी सडक खण्डमा भएको र  तिनकुने गौशाला सडक खण्डमा पनि अर्को पुल निर्माण गर्न लागिएको छ ।

सबैभन्दा बढी पैदल यात्रु सवारी चाप कोटेश्वर क्षेत्रमा हुने भएकोले त्यस क्षेत्रमा पुल निर्माण गर्नुपरेको श्रेष्ठले बताए। स्थानीय बासिन्दासँग वार्ता पनि भइरहेको छ, यसको चाडै नै समाधान निकाली निर्माण प्रक्रिया अगाडि बढने उनले विश्वास व्यक्त गरे। पुल निर्माणको लागि टेण्डर पनि भइसकेको छ, कम्पनीले काम गर्ने तयारी अवस्थामा रहेको उनको भनाइ छ ।

पवन जेभी कम्पनीले पुलको निर्माण गर्नेछ। नयाँ बन्ने आकाशे पुल अर्थात् स्काई ब्रिज ढलान गरेको नभई इस्पातको पुल बन्ने उनले बताए। भविष्यमा केही अप्ठ्याराहरू सिर्जना गरे पुललार्ई अन्यत्र ठाउँ लैजान र पुनः प्रयोग गर्न मिल्ने गरी बनाइने डिभिजन कार्यलयले जनाएको छ । उक्त आकाशे पुलको लम्बाइ ३८ मिटर र चौडाइ ३ मिटर रहने छ ।

यसैगरी, कोटेश्वर ठूलो चोक रहेकोले दुबै चौकमा सहज ढंगले वारपार गर्न सक्ने गरि पुलको निर्माण गरिनुपर्ने काठमाडौं महानगरपालिका वडा नम्बर ३२ का अध्यक्ष नवराज पराजुलीले बताए। ' एकापटी चोक छ। अर्कोपटि मात्र गोरेटो छ,' उनले भने, पुल निर्माण भएपछि पुलले दुबै चोकलाई भेटोस। मानिस पुलबाट ओर्ले पछि सिधा सडकमा जानु त भएन नि।'

स्थानीय निकायसँग समन्वय नगरी पुल निर्माण गर्न लागिएको उनले बताए। विकास हुन्छ भने कमसेकम एकपटक स्थानीय र जनप्रतिनिधि सँग सल्लाह हुनुपर्ने उनको भनाइ थियो। ' दुबै चोकलाई समेटने गरी पुल निर्माण हुन्छ भने सहमति छ ' उनले भने । तत्काल पुरानो स्थानमा पुरानो पुल निर्माण नगर्नलाई पत्र काटिसकेको उनले जानकारी दिए।                                                                                          

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.