|

काठमाडौं : लागूऔषधको कारोबारमा पूर्व प्रहरी नै सक्रिय रहेको रहस्य खुलेको छ। ललितपुर लेले घर भै काठमाडौंको नयाँ बजार बस्दै आएकी विमला थापा हुसेन पक्राउ परेपछि यो रहस्य खुलेको हो। थापा पूर्व प्रहरी हवल्दार हुन्। 

उनलाई प्रहरीले नयाँ बजारबाट लागू तथा मनोद्धिपक पदार्थ बुफेनफिन २९ एम्पुल र डाईजेपाम ३९ एम्पुल र फेनारगन ४४ एम्पुलसहित पक्राउ गरेको हो। उनका श्रीमान् मन्सुर हुसेनले पनि लागूऔषधमा सजाय भोगिरहेको लागूऔषध नियन्‍‍‍त्रण ब्युरोका निर्देशक प्रहरी नायब महानिरिक्षक (डिआइजी) जयबहादुर चन्दले जानकारी दिए।

लागूऔषधसहित पक्राउ परेका उनका श्रीमान् हुसेनलाई जिल्ला अदालत काठमाडौंले तीन वर्ष छ महिना कैद र दुई लाख रुपैयाँ जरिवाना तोकेको थियो। अहिले जगन्‍नाथ देवलमा सजाय काटिरहेको डिआइजी चन्दले जानकारी दिए।

थापाले दिएको जानकारीबाट अन्य दुई  जना पनि पक्राउ परेका छन्। भारतको पूर्वी चम्पारण घर भएका १८ वर्षीय विक्की कुमार सिंह र संजितकुमार सिंहलाई पनि प्रहरीले पक्राउ गरेको हो।

विक्किबाट प्रहरीले तीन सय एम्पुल डाइजेपाम, दुई सय एम्पुल बुप्रेनफिन र दुई सय एम्पुल फेनारगन बरामद गरेको छ।

संजितबाट दुई सय एम्पुल डाईजेपाम, तीन सय एम्पुल बुप्रेनफिन र आठ सय एम्पुल फेनारगन बरामद गरेको छ। 

उनीहरु दुबैलाई प्रहरीले कालिमाटीबाट लागूऔषधसहित पक्राउ गरेको हो। उनीहरु आफै नेपाल भारतको सिमा क्षेत्रमा गई भारतबाट लागूऔषध काठमाडौं ल्याएर बिक्री वितरण गर्ने गरेको ब्युरोका निर्देशक चन्दले जानकारी दिए।

‘उनीहरु आफै नै सिमा क्षेत्रमा गई लागूऔषध काठमाडौं ल्याई विक्रि वितरण गर्ने गिरोह हुन्’, उनले भने, ‘उनीहरुबाट बरामद लागूऔषध आठ लाख ६२ हजार रुपैयाँ बराबरको हो।’ 

उनीहरुलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्दा दर्ता भई अनुसन्धान भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.