जनयुद्धमा ब्याटलको हिरो अहिले भिखारी भएको छु

|

सुर्खेत : कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रलय। सरकारको प्रवक्तासमेत भएकाले मन्त्री विमला केसीले प्रदेश सरकारका निर्णय सार्वजनिक गर्ने कार्यक्रम थियो। पत्रकार सम्मेलन। म निर्धारित समयभन्दा केही समयअघि मन्त्रालयमा पुगेँ।

मैले सोचेँ मन्त्रालयमा आएको बेला मन्त्रीलाई कार्यकक्षमै भेटेर केही कुरा सोधूँ। अनि म पनि पालो कुरेर वेइटिङ रुममा बसेँ। मान्छे थपिँदै थिए। मभन्दा पहिले पुगेका एक पत्रकारले अन्तर्वार्ता लिने भन्दै समय लिइसकेका रहेछन्।

म बस्दा बस्दै एकजना पुरुष र दुईजना महिला आएर मेरो वरिपरि बसे। पुरुष देब्रेतिर र महिला दायाँतिर। म आफ्नै सुरमा नै थिएँ। हामी केही मान्छेहरू राजनीतिका गफमा गफिइरहेका थियौँ।

मेरो देब्रेतिर बसेका ती पुरुष हाम्रो गफमा मिसिए। मैले सोचेँ चिन्नु न जान्नु ढुंगाले हान्नु, त्यो पनि अँध्यारोमा। त्यसै हाम्रो गफमा किन मिसिएको होला? हाम्रो गफमा ती चर्कोसँग नै मिसिए। यहाँसम्म कि बोल्दाबोल्दै ‘सरकारले हामीलाई भिखारी बनायो’ भन्दै भक्कानिए पनि।

मसँगै गफिएका अरू अवाक। तर, उनी बोलिरहेका थिए। मसँगै गफिएकामध्ये एकले मुख खोलिदिए। ल पत्रकारजी, उहाँको कुरा बुझिदिनुपर्‍यो।

त्यसपछि त के थियो र ती पुरुष एक हिसाबले ममाथि जाई नै लागिहाले। उनी भन्दै थिए ,‘तपाईं पत्रकार हो, मेरो फोटा खिच्नुहोस्, हाम्रो समाचार बनाउनुहोस्, हाम्रा समाचार कसले  लेख्छ र? पैसा आउने र खाने पाउने भए पो लेख्थे त।’

उनी फेरि भक्कानिए। अनि एक हातले आँसु पुछ्दै ल हेर्नुहोस भन्दै दाहिने खुट्टा देखाए। उनको दाहिने खुट्टा स्टिलको रहेछ। कृत्रिम खुट्टा रहेछ। उनले थपे, ‘हामी जस्ता सत्ता ल्याउन लडेकाहरूलाई अहिले कसले हेर्छ? हामीले लडेर ल्याएको सत्तामा हामीलाई भिखारी बनाइयो, हाम्रो जीवन बर्बाद भयो। हाम्रो पीडा कस्ले बुझ्ने?’

म पनि डोके रेडियो हुँदै पत्रकारिता सिकेको मान्छे। मलाई यी पूर्वजनमुक्ति सेना हुन् भन्ने कुरामा कुनै शंका रहेन। मैले सोधेँ।

हजुर पूर्व-जनमुक्ति सेना हो?

हो।

हजुरको नाम?

विष्णु हमाल राकेश, जनयुद्धमा म ब्याटलको हिरो हुँ, हिजो हिरो अहिले भिखारी भएको छु। हामीले लडेर ल्याएको सत्ता हो यो संघीयता तर हाम्रो जीवन अहिले बर्बाद भयो। उनले आफ्नो नामसँगै आफ्नो पीडा एकै सासमा पोखे।

घर कुन ठाँउ हो नि?

मेरो घर कालिकोटको खाँडाचक्र नगरपालिका-५ राताबाडा भन्ने ठाउँमा हो।

जनमुक्ति सेनामा के हुनुहुन्थ्यो त?

‘म कम्पनी कमाण्डर हो, मेरो बुढी कम्पनी सहकमाण्डर,’ श्रीमतीतिर इशारा गर्दै भने।

मैले पनि उनकी श्रीमतीतिर हेरेँ। उनको अनुहारमा थकानको स्पष्ट भाव देख्न सकिन्थ्यो। निराशा झल्कन्थ्यो। हजार माइलको याात्राबाट भर्खरै बिसौनीमा बसे जस्तो।

उनीहरू कर्णाली सरकारका मन्त्रीसँग भेट्नका लागि कालिकोटदेखि आएका थिए। सुर्खेतमा सरकारका मन्त्रीलाई भेट्नका लागि कालिकोटबाट आएको ५ दिन भइसकेको उनीहरूले बताए। उनीहरू नेपालको परिवर्तनकारी जनुयुद्धमा लडेका पूर्वजनमुक्ति सेनाका योद्धाका जोडी थिए।

कालिकोटको खडाचक्र नगरपालिका-५ राताडावका विष्णुबहादुर हमाल राकेश र उनकी जीवन संगिनी  लक्ष्मी हमाल ‘सुनिता’ जनयुद्धकालीन अवस्थामा पार्टी र अन्य योद्धाका लागि प्ररणाका स्रोत थिए। उनीहरू युद्धका हिरो हिरोइन नै थिए। युद्धमा उनीहरूको शान नै फरक थियो।

तर, अहिले उनीहरूको अवस्था कमजोर छ। आफूलाई भिखारी भएको उनीहरूको महसुस छ। हिजोसँगै लडेका साथीहरू जो कमाण्डर थिए, उनीहरू सरकारमा बसेर शासन गरिरहेका छन् तर उनीहरूसँग लड्नेहरूको अवस्था दयनीय भएको त छ नै साथमा अझै पनि समाजमा समायोजन हुन हम्मेहम्मे परेको छ। जुन व्यवस्थाका लागि लडियो सोही व्यवस्थाले अन्याय गरेको र  सरकारले वास्ता नगरेको उनीहरूको गुनासो  छ।

साना ठूला गरी ३६ वटा मोर्चामा लडाइँ

राकेश ५ भाइहरूमध्ये राइला वा पाचौँ नम्बरका हुन्। उनी पहिले २०५६ सालमा नेपाल प्रहरीमा भर्ती भएका थिए। भर्ती भएको एक वर्षपछि विष्णु कालिकोटमा घर भेटघाटमा गएको बेला तत्कालीन नेकपा माओवादीको सम्पर्कमा गए। जनमुक्ति सेनामा भर्ती भए। आफूले सिकेका कुरा वा सैन्य तालिम उनले माओवादी सेनालाई दिए। सैन्य प्रशिक्षकका रूपमा उनी त्यहाँ कार्यरत भए।

एनका अनुसार माओवादी सेनामा रहँदा साना ठूला गरी ३६ वटा मोर्चामा लडाइँ लडे। २०६१ सालमा जुम्लामा भएको सरकारी पक्षसँगको भिडन्तमा घाइते भए। त्यो भिडन्तमा उनको दाहिने खुट्टा गुम्यो।

राकेशले सुनितासंग पार्टीमा नै विवाह गरे। जनवादी विवाह गरेको एक बर्ष नपुग्दै राकेशले खुट्टा गुमाए। तर पनि ज्यानभन्दा क्रान्ति सर्वोपरी ठानेर उनीहरू पार्टी र क्रान्तिप्रति बफादर सिपाही भएर लागिरहे।

समाजमा समायोजन हुन सकस

शान्ति प्रक्रिया त्यसमा पनि सेना समायोजनको प्रक्रियापछि भने उनीहरूको जीवनमा समस्याहरूको पहाड नै खडा भयो। हिजो निजी सम्पत्ति र निजी जिन्दगी चाहिँदैन भनेर सबै त्यागेर हिँडेको मान्छे फेरि हिजो छोडेको कुरामा हक जमाउन जाँदा अहिले समाजमा समायोजन हुन सकस भयो।

राकेश भन्छन्, ‘अहिले त घरका परिवारले पनि हेलाको पात्र बनाएका छन्। तँ लंगडोलाई हामीले पालेर के गर्नु भन्छन्, श्रीमतीले पनि तँलाई पाल्नुभन्दा त... भनेर भन्छिन्। मलाई कम पीडा छ उनी यति भन्दै फेरि रोए।’

पहिले चाहिँदैन भनेको सम्पत्ति र पढ्नु हुँदैन भनेको बुर्जुवा शिक्षा अहिले चाहिने भएपछि समस्या भएको राकेशको भनाइ छ। पढाइको महत्व देखिएपछि अहिले राकेशले कक्षा ८ को परीक्षा दिएका छन्।

सुनिताको नेपाली सेनामा समायोजन भएको भए जीवन केही सहज हुन्थ्यो कि भन्ने छ। उनी नेपाली सेनामा समायोजन हुन चाहन्थिन् तर राकेशले रोकेको उनको भनाइ छ। ‘तँ नेपाली सेनामा समायोजन भएपछि म कसरी कोसँग बस्ने भन्दै रोए,’ सुनिताले गला अवरुद्ध पार्दै भनिन् ‘राकेशले समायोजनमा गए म पनि मर्छु र हाम्रो छोरा पनि मार्छु भन्दै विलाप गरे, मनले मानेन अनि समायोजनमा जान सकिनँ।’

उनी भन्छिन्, 'अहिले मेरो जिन्दगी पो समस्यामा छ। यो अपांग श्रीमानसँग म के गरेरर खाऊँ। छोराछोरी कसरी पढाउनु  लेखाउनु?’

राकेशले आफूलाई पार्टी र सरकारले अहिले भिखारी बनाएको गुनासो गरे। 'हामीले हिजो उनीहरूको सुरक्षाका लागि आफनो ज्यान दाउमा राखेर हिँड्यौँ, एकै कासनमा हामी  मर्न तयार थियौं तर अहिले हामीलाई भिखारी जस्तै बनाए' उनले भने।

हाम्रै सुरक्षाले बाँचेका नेताले नचिन्दा मन रून्छ

‘हामीलाई खाने र लाउने अनि औषधि उपचार गर्ने पनि समस्या छ। कसले गरिदिन्छ? हामीले सुरक्षा दिएर बचाएकाहरू अहिले सरकारमा छन् तर नचिने जस्तै गर्छन्, बाटो काटेर जान्छन्।’ कर्णाली प्रदेशका मुख्यमन्त्रीको नामै लिएर राकेशले आक्रोश पोखे, ‘हाम्रै कमाण्डर हुन् तर अहिले हामीलाई चिन्न छाडिसके।’

‘उतिबेला हामीलाई तारो बनाउने पनि त्यही पार्टी हो, अहिले हामीलाई छारो बनाउने पनि यही पार्टी हो।’ सुनिताले पनि राकेशको कुरामा सही थपिन्।

उद्यममा अनुदानको आस

लगानी गर्ने पैसा भइदिए केही उद्यम गरेर खाने सोचाइमा छन् अहिले उनीहरू। राकेशले कान्छी आमाको नामबाट गलैँचा उद्योग पनि खोलेका छन्। अनुदान बाँडिरहेको सरकारले  उनीहरूलाई पनि गलैँचा उद्योग र पशुपालनका लागि केही सरकारबाट सहयोग पाइन्छ कि भन्दै कालिकोटदेखि सुर्खेत पुगेको सुनिताले बताइन्।

राकेशले भने, ‘हामीलाई त्यसै पैसा देऊ भनेका छैनौं, हामी काम गर्छौ, सहयोग चाहियो भनेका छौ।’ राकेशको भनाइमा सुनिताले थपिन्, ‘हिजो सँगै लडेका कमाण्डर अहिले सरकारमा छन, केही उद्यम गर्ने बाटो दिन्छन् कि भन्ने आशा छ, नदिए पनि आफ्नो जिल्दगी आफैँ जसरी पनि काट्नै पर्ने त होला।’ यो पूर्व कमाण्डर तथा सरकारमा बसेकालाई सुनिताको पीडा पचाउन सक्छु भन्ने सन्देश त थियो तर गुनासोसँगै।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.