|

बागलुङ: नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले वर्तमान सरकार एनजिओको जस्तो काम गर्ने र झुटको खेती गर्ने काममा लागेको आरोप लगाएकी छिन्। 

शुक्रबार बिहान नेपाल प्रेस युनियन बागलुङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रबादको टोपी फुत्केको पनि आरोप लगाइन्। ‘प्रधानमन्त्रीले मन्त्री परिषद बैठक बसेको भन्ने, संचारमन्त्री हैन भन्ने यो झुटको खेती नभए के हो?’ उनले भनिन्, ‘भिडियो कन्फ्रेन्सको आरोप लुकाउन मन्त्रिपरिषदको बैठकलाई समेत झुटको खेतीमा लगाइएको छ।’

देशको गोपनीयता भंग गर्ने काम गरेर जनतालाई झुक्याउन फेरि झुट बोलिएको उनको भनाई थियो। कार्यक्रममा संग्रौलाले तरकारीमा बिषादी प्रयोगको परीक्षण रोक्न भारतीय दूताबासले पठाएको पत्र हैन भन्ने, रेल र पानीजहाजको सपना देखाएर भ्रष्टाचारलाई संस्थागत गर्न प्रोत्साहन दिने जस्ता कामले सरकार एकपछि अर्को कुरामा झुट बोलेको टिप्पणी गरिन्।

नेपाल भ्रमण वर्ष मनाउने तयारी भइरहे पनि सरकारले श्रम, रोजगार र सुरक्षाको ग्यारेन्टी दिन नसकेको बताइन्। ‘पर्यटक ल्याउने भन्ने तर नेपाली युवालाई बिदेशमै बेचिरहने?’ उनले भनिन्, ‘युवा स्वदेशमै रोजगार पाउने कार्यक्रम ल्याउनु पर्‍यो।’ उनले प्रतिपक्षले आवाज उठाएका कारण दर्जनौं त्रुटि सच्याउन सरकार अगाडि बढेको दावी गरिन्।

मिडिया काउन्सिल विधेयक, गुठी विधेयक, आम संचार विधेयक जस्ता काममा सरकार सच्चिने अवस्था आउनुमा कांग्रेसको हात भएको बताइन्। सशक्त प्रतिपक्ष नभएको भन्ने पत्रकारको जिज्ञाषामा उनले कम्युनिष्ट जस्तो रेलिङ भाँच्ने काममा कांग्रेस नलाग्ने प्रतिक्रिया दिइन्।

‘अधिकांश समय कांग्रेस सरकारमा बस्यो। प्रतिपक्ष हुँदा कम्प्युनिष्टले रेलिङ भाँचे, टायर पोलेको देखेकोले हामीलाई कमजोर प्रतिपक्ष भनिएको हो?’ संग्रौलाले भनिन्, ‘जिम्मेवार र लोकतन्त्रमा बिश्वास गर्ने प्रतिपक्षले संसदमा बहसमार्फत प्रतिकार गर्ने हो।’  

सरकारी मिडियामार्फत प्रजातान्त्रिक विचार राख्ने पत्रकार हटाएको समेत उनले आरोप लगाइन्। कार्यक्रममा उनले पार्टीको महाधिवेशन, भातृ संगठनको पूर्णता र संघीयताको मोडल अनुसारको संगठन ढाँचा तत्काल थाल्न पार्टीको केन्द्रीय बैठक शुरु भएको बताइन्।

‘अब हामी सबै समस्या समाधान गर्ने, विमतिलाई एकमत बनाउने र कार्यकर्तालाई संरक्षण गर्ने अभियान लिएर आएका छौं’ उनले भनिन्, ‘वेयटिङ सरकारको रुपमा प्रतिपक्ष रहने भएकोले छाया सरकार भनिएको हो। झण्डावाल गाडी चढ्नका लागि छाया सरकार बनाइएको होइन।’

भदौ २० गते देशभर एकैपटक कांग्रेसले सबै निर्वाचन क्षेत्र र स्थानीय तह अनुसारको समिति गठन गर्ने उनले बताइन्। प्रेस युनियनका अध्यक्ष प्रदिप पन्तको अध्यक्षताामा खकार्यक्रम सम्पन्न भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.