|

धनगढी : अछामबाट तराई झरेकी भरु ठकुल्लाले श्रीमान गुमाएको चार वर्ष भयो।  सुन्दर सपना बोकेर श्रीमानसँग तराई झरेकी थिइन्, भरु। तर, सपना साकार हुन पाएन। तराई झरेको केही वर्षमै कमाई खुवाउने श्रीमानको मृत्यु भयो। त्यसपछि दैनिक गुजाराका लागि खुटिया नदी किनारमै संघर्ष गरिरहेकी छिन्।

परिवार पाल्ने व्यक्ति बितेपछि चार बालबच्चाको पालनपोषण गर्नु पर्ने एकल जिम्मेवारी छ, उनलाई। त्यसैले, खुटिया नदी किनारमा गिट्टी नकुटी सुख छैन। ‘खानलाई जग्गा छैन। केही न केही त गर्नु नै पर्‍यो’, भरु भन्छिन्–‘हामी जस्तालाई गुजाराको लागि ढुङ्गा फुटाउनै पर्ने बाध्यता छ।’ बिहानभरि खुटिया नदीमा ढुङ्गा बटुलेर जम्मा गर्ने। र, दिनभरि त्यसलाई फुटाएर गिट्टी बनाउने। भरुको दिनचर्या हो। ‘यसैले पेट पालेका छौं’, उनले भनिन् ‘जसोतसो गुजारा चलेको छ।’

परिवारका सदस्यहरूलाई उनले कुनै कमी हुन दिएकी छैनन्। ‘ढुङ्गा फुटाउनै यसैबाट अलि–अलि कमाएर दुई बालबच्चा पनि पढाइरहेकी छु’, टाउको कन्याउँदै भरुले भनिन् –‘घरको दुःख देख्न नसकेर जेठी छोरी भने पोइल गई मलाई खिन्न भयो।’

  भरु मात्रै हैन, खुटिया नदी किनारमा एक÷डेढ सयको हाराहारीमा महिलाहरु गिट्टी कुटिरहेका दैनिक देखिन्छन्। गुजाराका लागि उनीहरु ढुङ्गा सङ्कलन गर्न र फुटाएर गिट्टी बनाउन बाध्य भएका हुन्। महिनादिन लगाएर बनाएको गिट्टी बिक्री गरेर साँझविहानको छाक टार्ने गरेको बताउँछन्। पहाडबाट यहाँ झरेका सुकुम्बासी परिवारको सङ्घर्षको थलो नै खुटिया नदी बनेको छ। र, गुजारा गर्ने स्रोत पनि।

  नदी किनारमा महिला मात्रै हैन, विद्यालय जाने उमेरका कलिला बालबालिका पनि ढुङ्गा बटुल्ने र गिट्टी कुट्ने कार्य गरिरहेको देखिन्छन्। भने, कतिपय महिला स–साना नानीबाबुलाई बोकेर गिट्टी कुट्ने गरेका छन्। त्यसैमध्येको एक हुन, मोहन्याल गाउँपालिका–५ की जानकी मगर। हालै श्रीमानसंग बल्मी आएकी उनको दिनचर्या पनि गिट्टी कुट्नमै बितिरहेको छ।

६ वर्षकी छोरी र पाँच महिनाका छोरा लिएर उनी दिनभरि ढुङ्गा फुटाउने कार्य गरिरहेकी छिन्। ‘१०/१२ दिनभयो, ढुङ्गा फुटाउँदै गरेको’ जानकीले भनिन्–‘श्रीमानको कमाईलेमात्रै गुजारा गर्न सहज नभएकोले मैले पनि केही कमाउने आशमा गिट्टी कुट्ने काम गरिरहेकी छु।’ उनी पाँच महिने छोरालाई झुलामा सुताएर आफू गिट्टी कुट्छिन्। श्रीमान भने अन्यत्र मजदुरी गर्ने गरेको जानकीले सुनाइन्।

 ढुङ्गा फुटाउने कार्य सजिलो पक्कै होइन। जति गाह्रो सङकलन गर्न र फुटाउनलाई छ, त्यति नै गाह्रो गिट्टी बिक्री गर्न पनि। गिट्टी किन्ने कोही नआएमा एक÷दुई महिनासम्म थन्क्याएर राख्नुपर्ने बाध्यता पनि रहि आएको महिलाहरुले बताएका छन्।

  ‘कहिलेकाँही चाँडै बिक्री हुन्छ, भने कहिलेकाँही एक÷दुई महिना पनि कुर्नु पर्दछ’, बल्मीकी धनसरा मगरले भनिन्–‘ढुङ्गा फुटाउने धेरै छन्, किन्ने ग्राहक कम आउँछन्।’ हातले कुटेको गिट्टी प्रति घनमिटर एक हजार ८०० रुपियाँमा बिक्री हुने गरेको जनाइएको छ।

धनसराको परिवारमा छ जना छन्। जग्गा जमिन छैन। उनको श्रीमान घर बनाउने डकर्मीको काम गर्छन्। श्रीमानले मिस्ट्री काम र आफूले गिट्टी बिक्री गरेर भएको कमाइले घरगुजारा गरिरहेको धनसराको भनाइ छ। ‘हामी दुवैले कमाएपछि तीन छोरालाई पढाउन र सासुलाई पाल्न सकेका छौं’, उनले भनिन्–‘ससुरा भने बितिसक्नु भो।’

अहिले ठूलठूला क्रसर उद्योग सञ्चालनमा छ। क्रसरको गिट्टी बढी प्रयोग हुने गरे पनि हातले गिट्टी पनि खेर नजाने गरेको जनाइएको छ। आफूहरुले कुटेको ढुङ्गा गिट्टी ढिलो चाँडो बिक्री भइहाल्ने गरेको ललिता साउँदले बताइन्। ‘श्रीमान प्रदेशमा हुनुहुन्छ’, उनले भनिन्–‘उहाँले पैसा नपठाउँदासम्म मैले कुटेको गिट्टी बिक्री गरेर परिवार चलाउने गरेकी छु।’ नन्दसहित उनको परिवारमा सात जना सदस्य छन्।

हातले कुटेको गिट्टी राम्रो हुने गरेको बताइएको छ। ‘यो गिट्टी क्रसरकोभन्दा राम्रो हुन्छ’, गिट्टी लिन खुटिया पुगेको धनगढी उपमहानगरपालिका–१५ उर्मीका आइतवारी रानाले भने। प्रति घनमिटर दुई हजार रुपियाँका दरले गिट्टी खरिद गर्ने गरेको उनको भनाइ छ। ‘एक ट्रयाक्टर ट्रलीको आठ हजार ८०० रुपियाँ पर्दछ’, रानाले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.