नेपाली पहिचान झल्कने नामको खोजी

|
तस्विर सौजन्य : सुमन सत्याल/ नेपाल एस्ट्रोनोमिकल सोसाइटी

काठमाडौं : हाम्रो सौर्यमण्डल बाहिर अर्को सौर्य मण्डलका हजारौं ग्रह र ताराहरुको नामांकरण हुँदैछ। एक्जो वर्ल्ड अर्थात् अर्को सोलार फ्यामिलीमा रहेको हजारौं ग्रहमध्ये एउटा ग्रह र ताराको नाम अब नेपालीले राख्दै छन्।

ताराको वैज्ञानिक नाम HD100777 र सन् २००७ मा पत्ता लागेको ग्रह HD100777B हो। तर, अब यसको नामांकरण नेपालीमा हुनेछ। नेपालले हामीभन्दा १ सय ७२ प्रकाश वर्ष टाढा रहेको ग्रह र त्यसले परिक्रमा गर्ने ताराको नाम राख्न लागेको हो। तपाईलाई पनि उक्त ग्रह र ताराको नाम यस्तो राख्दा उचित हुन्छ भन्ने लागिरहेको छ भने यो लिंकमा गएर आज शनिबार राति १२ बजेसम्म प्रस्ताव गर्न सक्नुहुन्छ।

सामान्यतया मिल्की वे ग्यालेक्सि अर्थात आकाशपुञ्ज तारापुञ्जको लाखौ करोडौं तारामध्येको एउटा मध्यखालको तारा सूर्य हो। सन् १९१९ मा स्थापना भएको अन्तर्राष्ट्रिय एस्ट्रोनोमिकल युनियन (आईएयू)को शतवार्षिकीको उपलक्ष्यमा आयोजित ग्लोवल  क्याम्पेनको भागेदार बनेको नेपालले नामको प्रस्ताव आह्वान गरिरहेको छ।

यसको संयोजन गरिरहेका नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार नेपालीहरूले गरेको प्रस्तावित नामलाई नामांकरण कमिटीले छनोट गरी मूल्याङ्कन गर्ने र कम्तिमा १० वटा नाम सार्वजनिक भोटिङ्गका लागि सातौं राष्ट्रिय विज्ञान दिवसको दिन छाडिनेछ।

एक महिनासम्म भोटिङ्ग भएपछि ५० प्रतिशत भोटिङ्गका आधारमा र ५० प्रतिशत कमिटीको जुरीका आधारमा छनोट गरी नोभेम्बर १५ भित्र आइएयुको साधारणसभामा सिफारिस गरेर पठाईने कमिटीका संयोजक सुरेश भट्टराईले जानकारी दिए।

सिफारिस गरिएका नामहरुमध्येबाट आईएयूले आगामी डिसेम्बरमा विश्वव्यापी रूपमा नाम घोषणा गर्नेछ । उनका अनुसार नेपाल एस्ट्रोनोमिकल सोसाइटी नासोको वेभसाईटमार्फत फारम भरेर आफूलाई लागेको नाम पठाउन सक्नेछन्।

अर्को सौर्य मण्डलको ग्रह र ताराको नाम राख्न पाउनु नेपालका लागि ऐतिहासिक मौका भएको उनले बताए । वेभसाईटमार्फत अहिलेसम्म ४ सय ५० बढी नाम प्राप्त भएका छन् । अहिलेसम्म बुद्ध, एभरेष्ट, कोशी, ब्रम्हालगायतका नाम आएका छन् ।

'नेपालको भाषिक, साँस्कृतिक पहिचान झल्कने खालको नाम आवस् भन्ने हाम्रो चाहना हो । संयोजक भट्टराइ भन्छन्, त्यस्तो नाम होस् जुन चिजको खोजीमा विदेशीहरु नेपालसम्म खोज्दै आउन, जसले यहाँको पर्यटनलाई पनि टेवा पुगोस्।'

नासोले क्षेत्रीयता, जातीयता बर्गका आधारमा पनि नाम आओस् भन्ने चाहेको छ। आईएयुले यसअघि लघुग्रहमा तेन्जिङ नोर्गे, एडमण्ड हिलारी लगायतका नाम राखिदिएपनि नेपाली आफैंले प्रस्ताव गरेर नेपाल आफैंले नाम राख्न लागेको यस घडीलाई नासोले ऐतिहासिक भनेको छ।

यसबाट खगोलीय अध्ययन गर्नेले कुनै दिन त्यो नाम पढ्ने र यो रेकर्डेड हुने भट्टराईले बताए। आइएयुका नेपाल प्रतिनिधिसमेत रहेका (नासो) का अध्यक्ष भट्टराईका अनुसार नाम राख्न अंग्रेजीमा अधिकतम १६ अक्षर र थोरैमा ४ अक्षरको हुनुपर्नेछ। जिवीत व्यक्तिको नाम, धार्मिक, राजीतिक गन्ध आउने खालको नाम हुनुहुँदैन। ऐतिहासिक व्यक्तित्वको नाम राख्दा एक सय वर्ष पुरानो हुनुपर्नेछ।

हामीले नामांकरण गर्न लागेको ग्रहमा गएर बस्ती बसिहाल्न सम्भव नरहेको तर भविष्यमा नेपाली सभ्यतासँग सम्बन्धित विषयहरु खोजमा महत्वपूर्ण हुनसक्ने उनको विश्वास छ । यसको प्रकृतिबारे बोल्दै उनले भने, 'अर्को मण्डलको सूर्यको प्रकृति हाम्रो सूर्य जत्तिकै हो, पिण्ड उत्तिनै छ। तर ऊ हामीभन्दा युवा अवस्थामा छ। हामी साढे ४ अर्व बर्ष भयौं, ऊ साढे दुई अर्व बर्ष जत्ति भयो। जुन ग्रह पत्ता लागेको छ त्यो २००७ मा हार्प भन्ने यूरोपियन मिशनको सर्वेमा पत्ता लागेको हो।

‘यो ग्रह हाम्रो बृहस्पति जस्तो छ, ग्यासको डल्लो मात्र छ। त्यसैले त्यहाँ पनि जीवन भेटिने सम्भावना भने छैन भट्टराईले भने, अर्को सौर्यमण्डलको ग्रहको उपग्रह पत्ता लागेमा भने हाम्रो सौर्यमण्डलमै पनि बृहस्पतिको चन्द्रमामा यूरोपामा जीवनको सम्भावना छ, त्यस्तैगरी त्यो ग्रहकै जस्तो उपग्रह भेटियो भने त्यहाँ जीवको सम्भावना हुनसक्छ।
अर्को सौर्यमण्डलको ग्रहको उपग्रह एक्जोमुन पत्ता लगाउने प्रवधि बनेपनि परीक्षण सफल हुन सकेको छैन। सुमन सत्यालको टिमले यसबारे परीक्षण गर्दा विश्वव्यापी रूपमै अहिलेसम्म भएका भौतिक पूर्वाधारबाट अर्को उपग्रह पत्ता लगाउने सम्भावना भने नरहेको ठहर गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.