|

  • अर्जुन आचार्य-

विराटनगर : सुनसरीको अमरवा – ४ ऋषिदेव बस्तीका बासिन्दाको दैनिक गुजारा टार्ने एउटै माध्यम बनेको छ ‘घुँगी’।

खोला तथा खेतबारीमा हिलोमा गाडिएको अवस्थामा पाइने ‘घुँगी’ बिक्रीबाटै यहाँका १५ परिवार ऋषिदेव समुदायको गुजारा चलेको छ। ‘घुँगी’ टिप्न ऋषिदेव सामुदायका मानिस भारतको खरियासम्म पुग्ने सुनसरीको अमरवा–४ का महेश्वर ऋषिदेवले जानकारी दिए। ‘एक दिन लगाएर भारतको खरियादेखी घुँगी ल्याउँछौं’, महेश्वरले भने, ‘विहान झिसमिसैमा जोगवनीमा पुगी रेलमा चढी भारतको खरियासम्म पुग्छौं।’

बिहानै घरबाट निस्कने उनीहरु साँझसम्म त्यहाँका खेतबारी र खोलामा खोजी गरेर एक क्वीन्टलसम्म घुँगी जम्मा गर्छन्। अनि भोलिपल्ट घर आउछन्। घरमा ल्याएपछि परिवारका सबै सदस्य घुँगी सफा गर्न सक्रिय हुन्छन्। त्यसपछि स्थानीय हाट बजारमा बिक्री गर्ने घुँगी व्यापारी सहनीदेवी ऋषिदेवले बताइन्। ‘घुँगी’ प्रतिकिलो ५० रुपैयाँको दरले बिक्री हुने गरेको छ।

यहाँका बासिन्दा घुँगी खोज्न हप्तामा तीन पटकसम्म भारतको खरिया पुग्छन्। रुघाले सताएको बेला यसको रस खाएमा ठीक हुने र स्वास्थ्यवर्द्धक पनि हुने भएकाले सबै सामुदायका मानिसले घुँगी खाने स्थानीय जसनारायण गुरुङले बताए।

जाडो महिनामा घुँगी बाहिर निस्किने भएकाले पुसको सुरुवातदेखि माघ अन्तिम सातासम्म ऋषिदेव समुदायहरूले यो व्यवसायलाई गुजाराको उपयुक्त माध्यम बनाउँछन्। यसै व्यवसायबाट परिवार पाल्ने गरेको अर्का घुँगी व्यापारी बुधन ऋषिदेवले बताए। दैनिक ३० देखि ५० केजीसम्म घुँगी बिक्री गर्ने बुधनले हप्तामा ७ हजारदेखि १० हजार रुपैयाँसम्म आम्दानी हुने बताए। उनले यही व्यवसायबाट पाँच जनाको परिवार धानेका छन्।

‘दुई महिनासम्म मेहनत गरेर घुँगी खोज्न लागिपर्छौं त्यसपछि यसको सिजन हराउने भएकाले उखु खेतीतिर लाग्छौं,’ उनले भने। ‘एक दिन मेहनत गरेन भने परिवारको मुखमा माडसमेत पस्न पाउँदैन’, बुधनले भने, ‘बाह्र महिना अर्काको घरमा बनीबुतो गरेर परिवार पाल्नु परेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.