पूर्वाञ्चलका पहिलो ओलम्पियनको अनुभव
पूर्वाञ्चलका पहिलो ओलम्पियनको अनुभव
पूर्वाञ्चलमा पुस ८ गते सातौँ राष्ट्रिय खेलकुदको भब्य उद्घाटन हुँदा ओलम्पिक ज्योति प्रज्वलन गर्ने महत्त्वपूर्ण अवसर पाएका थिए पूर्वका पहिलो ओलम्पियन ५३ वर्षीय नरेन्द्र पोमोले। पूर्वमा जन्मिएर ओलम्पिकसम्मको यात्रा तय गरेको सम्मानमा उनलाई यो अवसर दिइएको थियो।
पूर्वबाट उनले ओलम्पिक प्रतिनिधित्व गर्दै गर्दा नेपाली खेलकुद बल्ल संघर्षको अवस्थामा थियो। त्यसमा पनि उनी बक्सिङका खेलडी हुनाले रिङमा कति समय टिक्न सक्छु भन्ने विषय महत्वपूर्ण थियो।
नेपालले विश्व खेलकुदको महाकुम्भमा सहभागी भएको ५० वर्ष भइसक्दा नेपालको धेरै सहभागिता साधारण संघर्षमा नै बितायो। नेपालका लागि ओलम्पिक सहभागिता नै गौरवको विषय बन्यो। अहिले पनि ओलम्पिक सहभागिता पदक भन्दा पनि कति अगाडिसम्म पुगिन्छ भन्नेमा केन्द्रित रहँदा आजभन्दा ३६ वर्षअघिको ओलम्पिक सहभागिता सहजै अनुमान गर्न सकिन्छ।
ब्रिटिश आर्मीको बाटो छाडेर खेलाडी
पहाडको ताप्लेजुङको निगुरादिन (आठराई) बाट धरान झर्दै गर्दा सामान्य लिम्बु परिवारको त्यति ठूलो सपना केही थिएन। पोमो सम्झिन्छन्, त्यसताका ब्रिटिस आर्मी हुने लहर थियो तर उनलाई परिवारबाट कहिले पनि आर्मी बन्नुपर्छ भन्ने दबाव आएन। उनलाई बुवाआमाले खेलाडी बन्न नै हौसला दिएका थिए। 'बक्सिङ सपना बनाएर रिङमा उत्रन कहाँ सजिलो थियो र! खेल्नका लागि न डाइट, न प्रशिक्षक', पोमो भन्छन्, 'तर आमाबुवाले अवरोध त परको कुरा सधैँ नजिक रहेर सकेको सहयोग गर्नुभयो।' आफ्नो रहर र परिवारको सहयोगले उनलाई बक्सरको रुपमा ओलम्पिकसम्म पुर्यायो।
ओलम्पिकमा सहभागी हुने भएपनि तयारी राम्रो थिएन। उनी सम्झन्छन्, 'त्यसताका दिनको ६ रूपैयाँ राज्यले खर्च दिन्थ्यो तर ५०० रूपैयाँ भन्दा बढी खर्च हुन्थ्यो।' ओलम्पिकमा पहिलो चरणमा बाई पाएर उनी दोस्रो चरणमा पुगे। त्यहाँ उनले ब्राजिलियन खेलाडी सिद्धनेई दलरोभेरी विरुद्ध कडा प्रतिस्पर्धा गरे पनि जीत निकाल्न असफल भए।
पोमोलाई लाग्छ, त्यसबेलाको जस्तो लगाव र अहिलेको जस्तो सुविधा हुनु हो भने मेडल टाढा छैन। भन्छन्, 'अहिले खेलाडीमा अनुशासन, लगनशीलता हराएर गयो भने ओलम्पिकमा सधैँको विवादले निकास नपाउँदा पदक आश धकेलिँदै गएको छ।'
त्यो बेला उनको डाइट सम्झिँदा अहिले पनि हाँसो रोक्न सक्दैनन्। 'डाइट अहिले जस्तो कहाँ थियो र! एउटा अण्डा र १ ग्लास दूधका भरमा संघर्ष गर्नुपर्थ्यो।' त्यो पनि सधैँ हुन्छ भन्ने थिएन। उनले थपे, 'तर हामी खान भन्दा पनि अभ्यास र परिश्रममा ध्यान दिन्थ्यौँ।'
उनले २२ औँ ओलम्पिक बक्सिङ फाइटमा सहभागिता जनाएकै वर्ष नवौँ एसियाली एम्मेचोर च्याम्पियनसिप बक्सिङमा शानदार उपस्थिति जनाए। त्यसपछि पनि उनले अन्य ११ भन्दा बढी अन्तर्राष्ट्रिय इभेन्टहरूमा भाग लिए। पोमोले २०४३ सालमा यु-२० प्रतियोगिता गराए। उनले त्यसबेला प्रशिक्षित गरेका खेलाडीहरू नै अहिले महत्त्वपूर्ण स्थानमा पुगेका छन्।
त्यसो त अहिले पनि उनले बक्सिङलाई माया गर्न छोडेका छैनन्। बक्सिङमा विवाद भएपछि उनी आफैँ धरानबाट काठमाडौँसम्म पुगे र समन्वयकारी भूमिका निर्वाह गर्दै बक्सिङ विवादलाई पार लगाउन महत्त्वपूर्ण भूमिका खेले। अहिले पोमो बक्सिङ संघको उपाध्यक्ष छन्।
नेपालमा खेल क्षेत्रको विकास हुनुमा तत्कालीन सदस्य सचिव शरदचन्द्र शाहको योगदान महत्वपूर्ण रहेको उनी बताउँछन्। उनी भन्छन्, 'शाहको जस्तो 'स्पिरिट' अरूको भएको भए सायद नेपालले अहिले यो जटिल अवस्थामा सातौँ राष्ट्रिय खेलकुद गर्नुपर्दैन थियो कि!' काम गर्न व्यक्तिमा ईच्छाशक्ति हुनुपर्ने उनको मत छ।
पछिल्लो समय पोमो रिटायर्ड लाइफलाई पनि बक्सिङमै समर्पित गरिरहेका छन्। अब बक्सिङमा नयाँ योजना ल्याउन जरुरी भएको उनको बुझाइ छ। त्यसो त उनी क्षेत्रीयस्तरमा पूर्वलाई बलियो बनाउने अभियानमा पनि छन्। किसानको परिवारमा सामान्य जीवन जिएर पाएको उपलब्धिबाट धेरै खेलाडीले सिक्न जरुरी छ। तर समयले सधैँ साथ दिँदैन, दिएको बेलामा मेहनत र लगाव कायम राखे सफलताले पछ्याउने पोमोको बुझाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।