|

संखुवासभा : कोसी राजमार्गअन्तर्गतको संखुवासभा–तेह्रथुम–धनकुटा खण्डको विभिन्न ठाउँमा सडक मर्मत सम्भार नहुँदा यातायात सञ्चालनमा समस्या भएको छ। कालोपत्रे गरेको ठाउँमा खाल्डा खुल्डी र हिलो हुँदा यात्रुहरुले कष्टपूर्ण यात्रा गर्न बाध्य छन्। 

समयमै मर्मतसम्भार नगर्दा सडक जीर्ण बन्दै गएको छ। यस क्षेत्रमा पानी परे हिलो र घाम लागे धुलोको समस्याले यातायातका सञ्चालनमै समस्या हुने गरेको छ। हिलो र खाल्डा खुल्डी भएको टुटेदेउराली–वसन्तपुर सडकखण्डको १० किमी पार गर्न ६ घण्टा लागेको खाँदबारीबाट धरान हिँडेका खाँदबारी–४ का नवीन गुरुङले गुनासो गरे। हिलाम्मे सडकमा गाडी फस्ने र निकाल्ने गर्दै यात्रा गर्नुपरेको उनले बताए। 

यसरी गाडी फस्दा संखुवासभाबाट धनकुटा, धरान र विराटनगर हिँडेका र विराटनगर, इटहरी र काठमाडौंबाट घर फर्किएका सयौं यात्रु टुटेदेउराली–मुडे सडकखण्डको घण्टौंसम्म बीच बाटोमै अलपत्र पर्न गरेका छन्। टुटेदेउरालीदेखि मुडेसम्म चार किलोमिटर सडकको दोबाटे र गिद्रे भन्ने जंगलभित्रको सडकखण्डमा गाडी  फसे यात्रुले भनेको बेला पिउने पानी समेत पाउने अवस्था छैन। 

टुटेदेउराली–वसन्तपुर सडक खण्ड उच्च भागमा पर्न भएकाले सधैं जसो पानी परिरहन्छ। जसका कारण हिउँद बर्खा दुवै याममा सडक हिलाम्मे भइरहन्छ। हिलाम्मे सडकमा ठूला–ठूला ट्रक र ट्याक्टर बीच बाटोमै फस्दा यात्रुवाहक गाडी पनि घण्टौंसम्म बाटो कुरेर बस्नु पर्ने अवस्था भएको चाकलको गुनासो छ। 

टुटेदेउरालीबाट मुडेसम्म १० किमी सडक कालोपत्रे गर्ने जिम्मा याक्थुङहाङ निर्माण सेवा पाँचथरले जिल्ला सडक डिभिजन कार्यालय तुम्लिङाटारसँग २०७३ भदौमा सम्झौता गरेको थियो। उक्त कम्पनीले २६ करोड रुपैयाँको लागतमा २०७५ भदौसम्म निर्माण सम्पन्न गर्ने सम्झौता गरेको भए पनि समयअवधिमा काम नसकेपछि २०७५ चैत मसान्तसम्म दोस्रो पटक म्याद थप गरेको थियो। त्यो अवधिमा पनि काम सम्पन्न नगरेपछि उक्त कम्पनीलाई गत साउनमा १४ लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको डिभिजन सडक कार्यालयका तुम्लिङटारले जनाएको छ। 

कोसी राजमार्ग धर्मदेवी नगरपालिका हुँदै जाने भएका कारणले सवारीसाधनको सहजताका लागि नगरपालिकाले एउटा एक्स्काभेटर चौबिसै घण्टा त्यस क्षेत्रमा उपलब्ध गराएको नगर प्रमुख रमेशकुमार जिमीले बताए। उक्त सडक खण्ड संघीय सरकार मातहतको योजना भए पनि स्थानीय सरकारले नहेरको भन्र्दै पटक–पटक गाली खानु परेका कारणले नगरपालिकाले एक्स्काभेटर उपलब्ध गराएको उनले बताए। 

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.