बैंकहरूले सूचना प्रविधिमा लगानी बढाउनू : कार्यकारी निर्देशक

|

साढे ३३ खर्बभन्दा बढी निक्षेप अहिले बैंक तथा वित्तीय क्षेत्रमा रहेको छ। यस्तो अवस्थामा बैंक तथा वित्तीय क्षेत्र कति सुरक्षित भन्ने विषयमा सतही बहस सुरु भएको छ। शनिबार चिनियाँ ह्याकरले नेपालका बैंकहरूका एटिएमबाट नक्कली कार्डमार्फत पैसा चोरेपछि सर्वसाधारणमा एक किसिमका सन्त्रास देखिएको छ।

नेपालको बैंकिङ प्रणाली कति सुरक्षित छ, नियमनकारी निकायमले कसरी नियमन गरिरहेको छ अबको समस्या के हो र काम के हो भन्ने सवालमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलासँग भागवत भट्टराईले गरेको कुराकानीको अंश:

शनिबारको घटनाले बैंकिङ क्षेत्रमा सुरक्षा अवस्था नाजुक देखायो हैन?

सबैकुरा सामान्य भइसकेको छ। केही बैंकहरूमा नक्कली कार्ड प्रयोग गरेर एटिएममा हमला भएको हो। आक्रमणकारी खाली एटिएम हमलामा मात्रै सफल भएका छन्। कोर बैंकिङ सिस्‍टममा हमला भएको छैन।

यो सिस्‍टम पूर्णरूपमा सुरक्षित छ। सम्पूर्ण निक्षेपकर्ताको रकम कुनै पनि तलमाथि भएको छैन।

कोर बैंकिङ सिस्‍टममा पनि आक्रमण हुँदैन भन्ने के रह्यो र?

हामीले प्रयोग गरेको बैंकिङ सफ्ट्वयेर र अन्य अन्य हार्डवयेरहरु अन्तर्राष्टिय मापदण्डकै छ। कोर बैंक सफ्टवेयरको लागि गर्नुपर्ने सिस्‍टम अडिट समय समयमा हेर्ने काम गरेका छौँ। त्यही भएर सफ्टवेयर अट्याक्ट भएको छैन।  कहिलेकाहीँ यस्ता घटना घट्छन्। दोहोरिन दिने छैनौँ।

 बैंक तथा वित्तीय क्षेत्रलाई सूचना प्रविधि हार्डवेयर तथा सफ्टवयेर लगानी बढाउनपर्ने सन्देश शनिबार घटेको अप्रिय घटनाले देखाएको छ। 

हामी कति सुरक्षित छौँ त त्यसो भए?

नक्कली कार्ड प्रयोग गरेर नक्कली कारोबार गर्ने केही विदेशी नागरिकले एटिएम हमला गरेका हुन्। एटिएम पनि कस्तो समयमा हमला गरे भने जुन समयमा हाम्रो बिदा छ।  बिदाको दिन निरन्तर निगरानी अलि कम हुन्थ्यो। अब बिदा होस् या जुनसुकै बेला  हार्डवेयर वा सफ्टवेयर सिस्‍टममा निगरानी बढाउन भनिसकेका छौँ।

अब के गर्नुपर्छ भन्ने सवालमा हामीले अध्ययन टोली पनि गठन गरेका छौँ। कार्यकारी निर्देशक बोमबहाहदुर मिश्रको संयोजकको समितिले विज्ञहरू राखेर छानविन गर्नेछ। जुन समितिले हामीलाई प्रतिवेदन दिनेछ र आवश्यक काम गरिनेछ। व्यवस्थापनको विषय हामीले गर्नुपर्छ। प्रतिवेदनपछि लगानी बढाउन निर्देशन दिन्छ। 

हामीले अन्य क्षेत्रको तुलनामा बैंकिङ क्षेत्र सुरक्षित र मर्यादित भन्दै गर्दा नेपाल भारत दुवैतर्फबाट यस्तो किसिमको घटना घट्नुले सन्देश गलत गयो नि हैन?

यस्ता घटना कहिलेकाहीँ घट्ने गर्छन्। नेपालमा मात्रै हैन संसारका अन्य देशमा पनि घट्छन्। संसारको सबैभन्दा बलियो सुदृढ राष्ट्र भनेका ठाउँका सूचना प्रणालीमा त आक्रमण भइरहेको छ। लाखौँको संख्यामा डाटा चोरी र भइरहेको छ। यस्ता घटना कहिलेकाहीँ घट्छन्। यसबाट हामीले सिक्ने हो।

भोलिका दिनमा यस्ता खालका घटना घट्न नदिन पर्याप्त मात्रामा हामीले सुरक्षा व्यवस्था अपनाउने हो। यसले हामीलाई शिक्षा दिएको छ। नेपाल राष्ट्र बैंकलाई कानुनले पनि अधिकार दिएको छ। निक्षेपकर्ता र ग्राहकको सम्पत्ति संरक्षण गर्न हामी कुनै कसुर राख्दैनौँ। सुदृढ नीतिगत र कानुनी संरचना बनाउँछौँ।

असुरक्षा छ भन्ने विषयमा पहिले पनि केही प्रतिवेदन आएका थिए। तिनलाई बेवास्ता गरिएको हो?

हामी कुनै पनि कुराको सूचनालाई गम्भीरताका साथ लिन्छौँ। सामान्य कुरालाई पनि नियाल्छौँ। कसैले विज्ञापनलाई कर्जा दिन्छ घरजग्गा कारोबार गर्छौं भनेर पत्रिकामा निकालेको सूचनालाई समेत सम्बोधन गर्छौं। हरेक विषयलाई हामीले हेरेका हुन्छौं। बैंकिङ सिस्‍टमप्रति आएको सबैलाई विषयलाई हामीले गम्भीरताका साथ लिएका छौँ र सम्बोधन पनि गरिरहेका छौँ। कमी कमजोरी भए सुधार गर्न पछि पर्दैनौँ।

राष्ट्र बैंकले फाइनान्सियल अडिट त गरिरहन्छ प्राविधिक अडिटको आवश्‍यकता कत्तिको देख्‍नुहुन्छ?

हामी यसमा लागेका छौँ आइटी गाइडलाइन पनि छ। सिस्‍टम अडिट गरिसकेका छौँ। प्राविधिक अडिटको आवश्‍यकता देखिएको छ।

धेरै एटिएममा सुरक्षा गार्डसमेत नरहेको देखिन्छ यसले अपराधीलाई प्रोत्साहन गरेजस्तो देखिन्छ कि?

एटिएममा सुरक्षा गार्ड राख्नैपर्छ भन्ने कुरा हैन अरू तर्फबाट पनि हामीले सुरक्षा दिइरहेका छौँ। सिसी क्यामेराहरू हुन्छन् क्यामेराको माध्यमबाट मनिटरिङ भइरहेको छ। तुरुन्त नियन्त्रण वा पक्राउ गर्न सकिन्छ भन्ने हो।

अहिलेको अवस्थामा सर्वसाधारण र बैंक सञ्‍चालकरहरूलाई के भन्न चाहनुहुन्छ?

सर्वसाधारणलाई आफ्नो बचत गरेको रकम बैंकमै राख्न र बैंकसँग नै कारोबार  गर्न आग्रह गर्दछु। बैंकमा रहेको पैसा सधैँ सुरक्षित नै रहन्छ। बैंकिङ प्रणाली सुदृढ छ निश्‍चिन्त भएर कारोबार गर्न आग्रह गर्छु।

राष्ट्र बैंकका सुदृढ नियमनकारी निकाय हो। तीव्र ज्ञान भएको जनशक्ति रहेको छ। बैंक सञ्‍चालकहरू सूचना प्रविधिमा लगानी बढाउनुस् आफ्नो सूचना प्रणालीलाई सुदृढ गर्न सम्‍पूर्ण बैंक तथा वित्तीय सञ्‍चालकहरूलाई अनुरोध गर्दछु। यसले कहिलेकाहीँ ठूलो जोखिम निम्त्याउँछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.