|

काठमाडौं : आउँदै गरेको नेपाली मात्रको महान पर्व विजया दशमीका लागि यातायात व्यवसायीले नयाँ सवारी साधन नथप्‍ने भएका छन्। बैंकले नयाँ  यातायातका साधन खरिदका लागि ऋण प्रवाह नगर्ने भएपछि यातायात व्यवसायीले नयाँ सवारी साधन नथप्‍ने भएका हुन्।

दशैंको लागि प्रत्येक वर्ष नयाँ सवारी साधन थप्ने गरेको भए पनि यसपटक व्यवसायीसँग पुँजी अभावका कारण नयाँ सवारी साधन थप्‍न गाह्रो हुने देखिएको यातायात व्यवसायी महासंघले जनाएको छ। यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले व्यवसायीसँग पर्याप्त सवारी साधन नभएको अवस्थामा बैकहरुको असहयोगका कारण नयाँ गाडी थप्न नसकेको बताए। 'ठूला साधनहरू खरिद गर्नुपर्ने हुन्छ। यातायात सञ्चालनको लागि सरकारले सहयोग गरेको छैन' उनले भने।

सरकार व्यवासायीप्रति उदार नभएकोले बैंकले नपत्याएको सिटौलाको आरोप छ। यही अवस्थाका कारण दशैंको लागि नयाँ सवारी साधन थप्‍न नसकिने उनले प्रतिक्रिया दिए। सरकारलाई दशैंमा नयाँ साधन थप्न नसक्ने बारम्बार अवगत गराएको पनि उनले बताए।

'उपत्यकाबाट लाखौँ मानिसहरू उपत्यका साथै अन्य भागमा आवतजावत गर्छन्। त्यसको लागि सरकारले पनि ध्यान दिएर व्यवसायीलाई प्रोत्साहन गरी नयाँ साधनको लागि व्यवस्था गर्नुपर्छ ' उनले भने। बुधबार यातायात व्यवस्था विभागसँग सवारी साधन थप्ने विषयमा छलफल गर्ने पनि उनले बताए। यात्रुप्रति असुविधा नहोस भन्नका लागि सरकारसँग नयाँ गाडी थप्‍नका विषयमा छलफलका क्रममा व्यवसायीले गम्भीर भएर कुरा राख्‍ने उनले बताए।

दशैंको समयमा यातायात व्यवसायीलाई फाइदा हुने भए पनि यसपटक साधन थप्न नसकिने हुँदा व्यवसायीलाई मार पर्न सक्ने उनको भनाइ छ। 'व्यवसायीले कमाउने यही समय हो तर सरकारको असहयोगको कारण नयाँ थप्न नसक्ने हुदा यात्रुलाई कष्ट हुन सक्ने अनुमान हाम्रो छ' उनले भने।

यता, सरकारले व्यवसायीलाई विभिन्न क्षेत्रबाट सहयोग गरिरहेको यातायात व्यवस्था विभागका निर्देशक गोगनबहादुर हमालले बताए। बैंकमा रोक्का भएको पैसासमेत खुल्ला गरिसकेको उनको भनाइ छ। 'सरकारले सहयोग गरेन भनेर व्यवसायीहरूले आरोप मात्र लगाएका हुन्। दशैंका लागि नयाँ यातायातका साधन पनि ल्याइसकेका छन्। सञ्चालन गर्नको लागि उनीहरूले ल्याएका हुन। खाली उहाँहरूले सरकारसँग सहजताको लागि बहाना गरिरहेको छन्' उनले भने। 

व्यवसायीको सरकारसँग केही माग रहेकोले बार्गेनिङ गरिरहेको हमालको भनाइ छ। 'उहाँहरूलाई विभिन्न बैंकले ऋण नदिएकोले सरकारले सहजता गरोस भन्ने उहाँहरूको माग छ' उनले भने 'बैंकमा ऋण उपलब्ध गराउन सरकारले केही सहयोग गर्नेछ तर व्यवसायीहरु पनि गम्भीर भएर आउनु पर्छ।' 

व्यवसायीले सरकारसँग बिमा गरिदिनु भनेर माग गरिरहेको उनको भनाइ छ। 'बुधबार उहाँहरूसँग छलफल हुँदैछ। यसले एउटा निस्कर्ष निकाल्ने छ। यस्तो बेलामा सरकारलाई सहयोग गरेन भन्ने ? सरकार पछि उहाँहरूलाई पनि चाहिन्छ' उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.