अर्थ

कुपोषण न्यूनीकरणमा ‘सोइजन' अर्थात् सजिउन उपयोगी
SHARES

पश्चिमा मुलुकमा ‘सुपर फुड’ भनेर चिनिने सोइजनको व्यवसायिक खेती कति सम्भव?

भदौ १७, २०७६

    विराटनगर : ‘गरिवको साथी’ भनेर चिनिने मोरिङ्गा अर्थात् सोइजन मध्य तथा पूर्वी तराइमा मनग्ये पाइन्छ। अत्यधिक औषधीय गुण रहेको यसको व्यवसायिक खेती भने अझै हुन सकेको छैन। अन्तर्राष्ट्रिय बजारमा यसको माग अत्याधिक छ।

    वातरवरणीय सुरक्षा, कृषि आम्दानी र गरिव परिवारलाई कुपोषणबाट बचाउन यसको व्यवसायिक खेती गर्न उचित प्रोत्साहनको खाँचो छ। सोही कुरालाई मध्यनजर गर्दै मोरङ कटहरी ६ थलाहाका पन्त परिवारले हालै यसको व्यवसायिक पूर्ण अग्र्यानिक खेती सुरु गरेका छन्। अन्तर्राष्ट्रिय बजारमा यसको पात बिक्री गरेर पैसा कमाउने योजना बनाएका छन्।

    तराइका अधिकांश घर आँगनमा पाइने सोइजनलाई तराई भेगको संस्कार र संकृतिसँग पनि जोडिएको छ। घर आँगन वरपर कान्ला तथा बाँझो जमिनमा लगाइने सोइजन सँधै हरियो रहिरहन्छ। चैत महिनामा फल लाग्ने यसको कोशाको तरकारी सिरुवा पर्वमा खानुपर्छ भन्ने तराइका आदिवासी चारु, राजवंशीलगायतका जातीमा मान्यता छ।

    सोइजनमाप्रति १ सय ग्राम काँचो पातमा ६४ किलो क्यालोरी पाइन्छ, यस्तै कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन एबिसी लगायत ८ प्रकारका भिटामिन पाइन्छ। यसमा २१ प्रतिशत क्याल्सियम, पोटासियम, सोडियम लगायतका मिनरल पनि पाइन्छ। गरिव मुलुकमा  यसको पातबाट बन्ने औषधि कुपोषण रोकथामका लागि प्रयोग गरिन्छ।

    नेपालमा सजिउन खेती व्यवसायिक ढंगले भने हुन सकेको छैन। तर, मोरङ कटहरी ६ थलाहाका किसान अविनाश पन्त र विकास पन्तले ५ विगाहा १४ कट्टामा यसको खेती सुरु गरेका हुन्। १ वर्ष अगाडिदेखि सुरु गरेको उक्त खेतीमा ८ महिना अगाडि ५७ हजार विरुवा लगाइएको लगानीकर्ता विकास पन्तको भनाइ छ।

    दैनिक १० जना महिला, ४ जना पुरुष त्यहाँ काम गरिरहेका छन्। उक्त खेतीमा दुवै जनाले निकट भविष्यमा बन्ने प्रशोधन कारखानासहित १ करोड ७० लाख बढी लगानी लाग्ने अनुमान गरेको अर्का लगानीकर्ता अविनाश पन्तको भनाइ छ। यसरी लगानी गरेर लगाएको खेतीबाट मनग्ये आम्दानी हुने पन्त परिवारको विश्वास छ। 

    एउटा सजिवन विरुवाले वर्षमा २ किलो सुकेको पात आम्दानी दिने र आधा किलो सजिवन कोसा आम्दानी गर्ने पन्तको भनाइ छ। अहिलेको बजार भाउमा पनि १ किलो सुकेको पातलाई ४ सय तथा कोसालाई प्रतिकिलो ५० रुपैयाँसम्म पर्न जान्छ। यही अनुपातमा पनि आफूहरूले मनग्ये आम्दानी गर्नसक्ने लगानी कर्ता अविनाश पन्तको भनाइ छ। 

    ‘सजिउनको पातको धूलोको माग जर्मनी, डेनमार्क, अमेरिका लगायतका मुलुकमा अत्याधिक छ,’ अविनाश पन्तले भने, ‘बिनामल, बिनापानी र धेरै मेहनत गर्नु पनि नपर्ने सजिउनको प्रयोग टुप्पोदेखि जरासम्मै गर्न सकिन्छ।’ पश्चिमा मुलुकमा यसलाई सुपर फुड भनेर चिनिने गरेको छ।

    जीवित प्राणीलाई चाहिने एउटै वस्तुमा पाइने सबै गुण सजिउनमा रहेको विज्ञानले पत्ता लगाएको उनको दाबी छ। यसअर्थमा पनि सजिउन खेती नेपाल र नेपालीले गर्नुपर्ने आवश्यक भएको उनको भनाइ छ। 

    सजिउनका विरुवा महत्वपूर्ण ५ विरुवामध्ये पर्ने गरी प्रदेश १ सरकारले सूचीकृत गरेको छ। पौष्टिक तत्व घरघरमा पाइने गरी यसको विरुवा रोप्न प्रदेश सरकारले सबैलाई प्रोत्साहन गरेको डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेको भनाइ छ।

    कृषि वन कार्यक्रम अनुसार किसानका खेतको आली, कान्लामा लगाउन वन कार्यालयले विरुवा उपलब्ध गराइरहेको घिमिरेको भनाइ छ। सजिउनलाई गर्मी मौसममा प्रयोग गरे सितल हुने मान्यता पनि छ। अफ्रिकी मुलुकहरुमा यसको पात मिसाएर चिया खाने चलन पनि छ।

    सजिउनको पात सजिलै कुहिने भएकोले मलको रुपमा पनि किसानले खेतमा प्रयोग गर्ने गर्दछन्। सजिउन सँधैभरि हरियो रहने, छिटो बढ्ने, डाँक्ला गाडी दिँदा पनि सर्ने खालको वनस्पती हो। यसलाई सोइजन, सहजन, सजिवन पनि भनिन्छ। कुपोषण अन्त्य गर्न र आम्दानी लिनका लागि पनि हाम्रो जस्तो मुलुकमा सस्तो र दिगो उपाया सजिवनको खेती हुनसक्ने पन्त परिवारको दाबी छ। 

    सोइजनमा पाइने तत्वहरू

    भिटामिन सी : सुन्तला भन्दा ७ गुणा बढी
    भिटामिन ए : गाँजरभन्दा ४ गुणा बढी
    क्याल्सियम : दूधभन्दा ४ गुणा बढी
    पोटासियम : केरामा भन्दा ३ गुणा बढी
    प्रोटिन : दहीमा भन्दा २ गुणा बढी

अर्जुन आचार्य

आचार्य थाहा खबरका मोरङ समाचारदाता हुन्। इमेल : jorarjun@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]