|

मुगु : मुगुका सहायक प्रमुख जिल्ला अधिकारीले नै फर्जी बिल पेस गरी नगरपालिकाबाट रकम लिएको आरोप लागेको छ। सहायक प्रजिअ प्रदीपकुमार ढकालले कर्मचारी व्यवस्थापनको सिलसिलामा संघीय मामिला तथा स्थानीय मन्त्रालयमा जाँदा र आउँदा हवाई खर्चमा लागेको टिकटको वास्तविक रकमभन्दा बढीको बिल पेस गरेको आरोप लागेको हो।

मंगलबार छायानाथ रारा नगरपालिकाले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार सहायक प्रजिअ ढकालले २०७६ बैशाख ३१ गते नगरपालिकामा पेस गरेका टिकट फर्जी पाइएको हो।  ढकालले नेपालगञ्जदेखि काठमाडौं बुद्ध एयरको जहाजमा २०७५ चैत्र २१ गते जाँदा वास्तविक रकम ४ हजार ५ सय तिरे पनि नगरपालिकामा ७ हजार ३ सय र २०७६ बैशाख ७ गते काठमाडौंबाट नेपालगञ्ज फर्किँदा श्री एयर उनले ७ हजार ३ सय नै वास्तविक टिकटको शुल्क तिरे पनि नगरपालिकामा ८ हजार ८ सय तिरेको फर्जी टिकट र भ्रमणभत्ता गरी ३९ हजार १ सय ७० रुपैयाँ भुक्तानी लिएको छायानाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजंग शाहीले पत्रकार सम्मेलनमा जानकारी दिए।

उनका अनुसार ढकालले जिल्ला प्रशासन कार्यालयको गाडी मर्मत गर्दा जिल्लामा नै नभएको शुभ ट्रेडर्स एन्ड अडर सप्लायर्स मुगुको बिल पेस गरी १ लाख ५० हजार रुपैयाँ पेश्की लिएको पाइएको छ। जिल्लामा गाडी मर्मत गर्ने र गाडीका पाटपुर्जा पाइने वर्कसप अहिलेसम्म नभए पनि सहायक प्रजिअ ढकालले नगरपालिकामा २ लाख २९ हजार २ सय ७७ रुपैयाँको बिल पेस गरेको नगर प्रमुख शाहीले बताए।

ढकालले आफू जिल्ला बाहिर गएको बेला यसरी फर्जी बिल पेस गरेको र नगरपालिकाका प्राविधिकलाई अनावश्यक मानसिक तनाब दिने कामसमेत गरेको नगर प्रमुख शाहीको भनाइ छ।

यता, आफूमाथि नगरप्रमुखले झुटा आरोप लगाएको सहायक प्रजिअ ढकालले दाबी गरे। आफूले आर्थिक प्रलोभनमा नपरेको, फर्जी बिलसमेत प्रयोग नगरेको बताए। 'जिल्लामा रहँदा भएका कमीकमजोरी भए माफी मागौँला' उनले भने, 'राम्रो भए सम्मानजनक तबरले बिदाइ हुने सोचेको थिए तर अहिले अनावश्यक आरोप लाग्यो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.