२३ महिनाको काम पाँच प्रतिशत मात्र

|

उदयपुर : तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेको पुल अलपत्र परेको छ। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ०७४ भदौ ३१ मा उदयपुरको रानीटारस्थित सुनकोसी नदीमा पुल निर्माणको शिलान्यास गरेका थिए।

उदयपुर, भोजपुर र खोटाङलाई सडक सञ्जालसँग जोड्ने सुनकोसीको नदीको पुल अलपत्र परेको हो। शिलान्यासको डेढ वर्ष बित्दा ५ प्रतिशत कामसमेत हुन सकेको छैन।

करिब २३ करोड रुपैयाँको लागतमा ०७६ को असार मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्नेगरी रसुवा एसएन एस र पप्पु ज्वाइन्ट भेन्चरले निर्माण कार्यको ठेक्का लिएको पुलको कामले गति लिन नसेकेको स्थानीय बताउँछन्।

२३ महिनामा पाँच प्रतिशत काम

तर २३ महिना बितिसक्ता पाँच प्रतिशत पनि काम हुन नसकेपछि स्थानीयहरू चकित बनेका छन्। करिब २३ करोड रुपैयाँको लागतमा यही २०७६ सालको गएको   असार मसान्तसम्ममा निर्माण कार्य सम्पन्न गर्नेगरी रसुवा एसएन एस र पप्पु ज्वाइन्ट भेन्चरले निर्माण कार्यको ठेक्का लिएको हो। निर्माणको कामले गति लिन नसेकेको स्थानीय बासिन्दाहरुले बताउँछन्।

ठेक्का लिएको कम्पनीले शिलान्यासपछि पिलरका लागि उदयपुरतर्फको रानीटारमा एउटा खाडल खन्नेबाहेक अन्य कुनै काम नगरेको स्थानीय रामबहादुर मगरले बताए।

पुल शिलान्यास गर्दा प्रधानमन्त्री देउवाले पुल चाँडै निर्माण हुने बताएका थिए। निर्माणको ठेक्का लिएको कम्पनीको लापरबाहीले पुल निर्माण अलपत्र परेको अर्को स्थानीय रत्न तामाङ बताउँछन्।

यता, त्रियुगा नदीमा पर्ने उदयपुरको चौदण्डीगढी नगरपालिका ५ मा गएको असारको अन्तिम सातादेखि नियमित वर्षाले त्रियुगा नदीको सतह बढेसँगै डुंगा चल्यो। सिवाई सुन्दरपुरको व्यापारी केन्द्र बेल्टार बजारलाई जोड्ने सिवाईस्थित त्रियुगा नदीमा पुल नबन्दा स्थानीयलाई नदी तर्न समस्या भएपछि डुंगा सञ्‍चालनमा आयो।

सिवाई सुन्दरपुरका स्थानीयलाई नगरपालिकाको कामकाज तथा सिवाई सुन्दरपुरको दैनिक उपभोग्य सामग्री खरिद गर्ने मुख्य व्यापारी केन्द्र बेल्टारसम्म पहुँच पुर्‍याउन त्रियुगा नदीमा डुंगा सञ्‍चालन गरिएको थियो। सोही स्थानमा पुल निर्माणको कार्य शुरु भएको १० वर्ष पुग्दा पनि पुल नबेपछि वर्खायाममा बर्सेनि डुंगा चल्दै आएको छ।

चौदण्डीगढी नगरपालिका ५ शिवाईस्थित त्रियुगामा मोटरेबल पुल ३ वर्षमा सक्ने गरी ०६७ असार २३ गते सम्झौता भएको थियो। ०७० असार २२ गतेभित्र पुल बनाई सकेर हस्तान्तरण गरिसक्नु पर्नेमा ४ पटक म्याद थप्दासम्म सम्पन्न हुन नसकेपछि सर्वसाधारणले डुंगाको साहारा लिँदै आएका छन्।

धरान–चतारा–गाईघाट–कटारी–सिन्धुली–हेटौडा जोड्ने वैकल्पिक लोकमार्गसँग चौदण्डीगढी केन्द्र बेलटारसँग दक्षिणी भेगका वडाहरू सुन्दरपुर, हडिया र जोगीदह तथा छिमेकी जिल्ला सप्तरीका फत्तेपुर–कन्चनपुरलाई जोड्ने १३ स्पानको उक्त पुल २ सय ८४ दशमलव ६ मिटर लामो र ५ मिटर चौडाइको प्राविधिक इस्टीमेट छ।

स्थानीय सडक सञ्जाल (एलआरएन) प्रविधिमा गाईघाट–दिक्तेल सडक आयोजना कार्यालय गाईघाटद्वारा निर्माणाधीन पुल बनाउने मुख्य जिम्मा महालक्ष्मी/लोकप्रिय जेवी कलंकी काठमाडौंले लिएको छ।

अन्य चार पुलको पनि उही हालत

उदयपुरमा अन्य चार पुलको अवस्था पनि उस्तै छ। यता निर्माणको ठेक्का लिएको महालक्ष्मी र लोकप्रिय कन्स्ट्रक्सन जेभीले हालसम्म करिब सात करोड खर्च गरिसकेको भन्दै गाईघाट दिक्तेल सडक आयोजनाका प्रमुख पशुपति ज्ञावलीले आगामी असार मसान्त सम्ममा सिवाई पुलको सम्पूर्ण कार्य सम्पन्न गर्नेगरी अब काम गरिने बताए।

उनका अनुसार काम ढिलो गरेकै कारण निर्माण कम्पनीबाट आर्थिक वर्ष २०७५/०७६ मा ६९ लाख जरिवाना गरी नेपाल सरकारको राजस्‍व खातामा जम्मा गरिएको छ।

त्यस्तै ठेक्का सम्झौता गरी तोकिएको मापदण्डअनुसार काम नगरेपछि उदयपुरको बेलका नगरपालिका-३ स्थित गिदेरी खोला पक्की पुल निर्माणमा पनि चरम ढिलासुस्ती भएको छ।

उक्त पुल निर्माणका लागि २०७१ साल असार २५ गते पप्पु मृत सञ्जीवनी जेभी बानेश्वरले दुईकरोड रुपैयाँ लहानस्थित डिभिजन सडक कार्यालयबाट पेश्की लिएकोमा काम नगरेपछि निजबाट एक करोड ४० लाख रुपैयाँ यसअघि नै फिर्ता गरिएको डिभिजन प्रमुख विनोद साहले जानकारी दिए।

कुल १३ करोड ३९ लाख ६७ हजार चारसय ७९ रुपैँया लागतमा दुईसय १८ मिटर लम्बाइ तथा सातवटा वेल फाउण्डेशन पिलर र ६ वटा स्पान रहेको गिदेरी खोलाको पुलको काम अहिलेसम्म करिव पाँच प्रतिशत भन्दा बढि हुन नसकेको बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताए।

यसैगरी निर्माण सुरु भएको सातवर्ष बितिसक्ता पनि उदयपुर र खोटाङ दुई जिल्लालाई जोड्ने सुनकोशी नदीको फोक्सिन्टारस्थित पक्की पुल अझै बनेको छैन। गौरा पार्वती र वाईपिजेवी निर्माण कम्पनीका ठेकेदारको चरम लापरबाही भएपछि पुल निर्माणको काम बीचैमा अलपत्र परेको स्थानीयको आरोप छ। ठेक्का सम्झौताअनुसार गएको चैत २० गते नै निर्माण सम्पन्न हुनुपर्ने पुलको काम हालसम्म २० प्रतिशत मात्रै सम्पन्न भएको छ।

ठूलो नदीमा भएको पुल निर्माण अलपत्र परेसँगै दुई जिल्लाका आम उपभोक्तालाई सुनकोसी नदी वारपार गर्नमा हुनसम्मको समस्या पर्दै आएको छ। गाईघाट–दिक्तेल लोकमार्गअन्तर्गत उदयपुरतर्फ रौतामाई गाउँपालिका-५ र खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका-१ बीचको फोक्सिन्टारमा निर्माणाधीन पुल २०७५ चैत २० गते नै सम्पन्न गर्नेगरी २०६९ चैत २३ गते ठेक्का सम्झौता भएको पुल योजना पूर्वी क्षेत्र सेक्टर कार्यालय धरानले जनाएको छ।

चार मिटर ५० सेन्टिमिटर गहिरो फाउन्डेसन, चारमिटर उचाइ र एकसय २० मिटर लामो तीन स्पानको सो पुल बनाउन तत्कालीन सडक विभागले १९ करोड ६० लाख रुपैयाँमा निर्माण कम्पनीलाई जिम्मा दिएको थियो। पुल योजना पूर्वी क्षेत्र सेक्टर धरानले उक्त पुल निर्माणको प्राविधिक रेखदेख गर्ने जिम्मा पाएको छ। हालसम्म ६ करोड ६६ लाख रुपैयाँ  ठेकेदारलाई भुक्तानी भइसकेको छ।

यसैगरी शिलान्यास गरेको दुईवर्ष बित्न लाग्दा पनि उदयपुरको चौदण्डिगढी नगरपालिका-१ को रानीटारस्थित सुनकोसी नदीमा पुल निर्माणको कामले गति लिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.