एक्लै भेटे मानिस पनि निसानामा

|

पर्सा : महानगरपालिकाभित्र सडक कुकुरको पनि ग्याङ शक्तिशाली हुन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ। तर, प्रदेश-२ को एक मात्र वीरगन्ज महानगरपालिकाभित्र सडक कुकुरको ग्याङ पनि शक्तिशाली बन्दै गएको छ। कुकुरको ग्याङले गएको एक महिनायता ‘फिल्मी स्टाइल' मा वीरगन्ज नगरवासीका २० वटा खसीबाख्राको शिकार गरिसकेका छन्।

सडक कुकुरको ग्याङले चालु महिनाको साउन १५ यता मात्र वीरगन्ज महानगरपालिका वडा नम्बर २७ कुहडी टोलका नगरवासीको घर छेउ र आँगनमा नै बाँधेका खसी बाख्रामाथि आक्रमण गरेका हुन्।

कुकुरको आक्रमणमा परी जग साह तेलीका मात्र ४ वटा खसीबाख्रा मरिसकेको स्थानीयले बताए। एक महिनायता मात्र यहि टोलमा यत्रो खसी बाख्रा सडक कुकुरको ग्यांङमा परिसकेको स्थानीय शम्भु यादवले थाहा खबरलाई बताए। कुकुरको ग्याङ्गले एक महिना भित्रै मेरा पनि ३ वटा खसी खाइसके।

महानगरवासी भएर पनि कुकुरको ग्याङ्गबाट पीडित छौं उनले तर्क गरे। यस बिषयमा वडाध्यक्ष प्रदिप यादव र नगरप्रमुख विजय कुमार सरावगीसँग पनि कुरा गरेको। तर उहाँहरूबाट कुनै पहल भएको छैन। खसी बाख्राको शिकार गर्ने सडक कुकुरको ग्याङ्गमा १५ देखि २० वटासम्म कुकुरहरू छन् उनले भने।

सका कति खसीबाख्रा परे?

१    रजाक अंसारीका   चारवटा

२  शम्भु यादवका    तीनवटा 

४  रामराज्य कुशवाहाको  एउटा

५  जितेन्द्र पासवानको   एउटा

६  रोजद्दिन मियाको  एउटा 

७  रमेश रायभरको  एउटा 

८  श्रीराम भरको  एउटा 

९  प्रसाद यादवको  एउटा 

१० लंगड मियाको  एउटा 

११ रोजा मियाको एउटा 

१२ नन्दलाल रायभरको  एउटा र

१३    जग साह तेलीको चारवटा गरी जम्मा २० वटा खसीबाख्रा सडक कुकुरले मारेको छ।

 

खसी बाख्रा बचाउनै सकस

सर्वसाधारणका आँगन र खोरका बाख्रा कुकुरको आहारा बन्न थालेपछि अब महानगरको ग्रामीण वडाका बाख्रापालक किसानलाई बाख्रा बचाउनै सकस भएको छ। खोरसम्म पनि कुकुरले आक्रमण गर्न थालेपछि कसरी बचाउनु ? स्थानीयले भने।

स्थानीय सरकारसम्म कुरा पुर्‍याएको। तर सो टोल समेटिएको वडाका वडाध्यक्ष प्रदिप यादव र वीरगन्ज महानगरका नगरप्रमुख विजयकुमार सरावगीलाई ठोस आश्वासन र चित्तबुझ्दो काम नभएको स्थानीय मक्सुद आलमले बताए। अब त बाख्रा मात्र होइन। एक्लै खेतबारीमा गएको मानिस घर फर्किएर आउन मुस्किल छ उनले भने।

एक्लै भेटे मानिस पनि निसानामा

'केही दिन अगाडि म आफैँ कुकुरको घेराबन्दीबाट फुत्केर ज्यान बचाएँ' मक्सुद आलमले भने। त्यस्तै कुकुरको आक्रमण हुनबाट १५⁄२० दिन अगाडी स्थानीय कलामत मियालाई स्थानीयले बचाए।

उनलाई पनि खेतमा गएको समयमा चारैतर्फबाट कुकुरको ग्याङ्गले घेरा हालेको थियो।  ६० बर्षीय मिया खेतमा गएको समयमा कुकुरको घेरावन्दीमा परेपछि यता र उता भाग्दा एक गह्रो खेतको धान पनि पूरै माडिएको थियो स्थानीय शम्भु यादवले बताए।

ग्रामिण क्षेत्रका बृद्धहरू खेतवारीमा जाँदा लाठी लिएर जाने गरेको कारण कुकुरहरूको आक्रमण हुन केही विलम्भ भएको हो। उनी उम्किन नसकेर हल्ला गरेपछि गाउँले पुगेर कुकुर लखेटेपछि उनको ज्यान जोगिएको यादवको तर्क छ।

हड्डी कारखानाको योगदान

वीरगन्ज वडा नम्बर २७ र नजिकैको वडा नम्बर १८ मा रहेका  मध्यमाञ्चल बोर्न चिप्स, हिरो बफ मिट सप्लायर्स र नारायणी बोर्न चिप्स गरी तिनवटा हड्डी कारखानाको योगदान प्रमुख कारण रहेको स्थानीयले बताए। हड्डी कारखानाको गन्धले टाढा टाढाका पनि कुकुरहरू त्यहाँ जम्मा हुने र कारखाना भित्रको कुरा खान नपाएपछि त्यसको गन्धले मात्र रन्थनिएका कुकुरले स्थानीय र तिनका बाख्रालाई निसानामा पार्न थालेको उनीहरूको भनाइ छ।

२ महिना अगाडी पर्साको बहुदरमाईको सिसियाडी टोलकी बीर बहादुर पासवानकी पत्नीलाई पनि खेतमा गएको समयमा कुकुरले आक्रमण गर्दा पछि मृत्यु भएको कुहडीका शम्भु यादवले बताए।

हड्डी कारखानाको गन्धका कारण कुकुरको संख्या बृद्धि भए पनि स्थानीय चारपाँच टोलका सर्वसाधारण भने गाउँमा बस्न नसक्ने अवस्था पुगेको स्थानीय मक्सुदले बताए।

उद्योगको अनुगमन हुन्छ, प्रक्रिया अघि बढ्दैन

गाउँ नै दुर्गन्धित पार्ने गरी संचालन भएका हड्डी कारखानाको कारण कुकुरको बृद्धि भए पनि नियमन गर्ने निकाय चुप छ। स्थानीयको दबाबपछि स्थानीय सरकार, प्रहरी, प्रशासन मात्र नभएर संसदीय टोली समेत आई ती कारखानाको अनुगमन गरेर फर्किए। तर  त्यो संसदीय टोलीले बुझाएको प्रतिवेदन पनि उद्योग तर्फको संसदीय समितिमा थन्किएर बसेको बसेको बुझिएको छ।

वीरगन्ज महानगरपालिकाको तर्फबाट पनि महानगरका अधिकृत रामदयाल यादवको टोलीले हड्डी कारखानामा अनुगमन गरी त्यसको प्रतिवेदन तत्कालिन प्रमुख प्रशासकीय अधिकृत डा. भिष्म भुषाललाई बुझाएको उनले बताए। त्यो प्रतिवेदनको फायल भने कार्वाहीका लागि अगाडी बढेको आफूलाई थाहा नभएको उनको तर्क छ। फायल नै हामिक साहसँग थियो। अहिले उहाँ त सरुवा भएर जानु भयो फायल कोसँग छ ? भन्ने पनि आफूलाई थाहा नभएको उनले बताए।

शहरमा पनि कुकुर आतंक

कुकुर मार्न राज्यको नीतिगत कारणले नमिल्ने भएपछि नगरवासी नै प्रताडित हुन पुगेका छन्। कुनै विकल्प ननिकाली पनि नहुने भएको महानगरपालिका वडा नम्बर २७ का वडाध्यक्ष प्रदिप यादवले बताए।

यो विषयमा नगरप्रमुख सरावगीसँग पनि कुरा भइरहेको छ। केही न केही विकल्प त निकाल्नै पर्ने हुन्छ उनले भने।  बिहान मनिङ्गवाक गर्ने र साँझ बिहान काम बिशेषले हिँडडुल गर्ने मानिस कुकुरको आक्रमणमा कतिखेर पर्ने हो ? त्रास फैलिएको छ। बालबालिकालाई पनि सडक कुकुरबाट जोगाउन सकस परेको स्थानीयले बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.