आयोजनास्थलमा शान्तिपूर्ण धर्ना

|

सिन्धुपाल्चोक : बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना अनिश्चितकालको लागि बन्द गराइएको चेतावनी दिएका छन्। आयोजनमा निर्माणबाट पीडित स्थानीय मजदुर तथा सप्लायर्सहरूले अनिश्चित कालका लागि बन्द गराएका चेतावनी दिएका हुन्।

मेलम्ची खानेपानी आयोजना पीडित संघर्ष समितिले मंगलबार आयोजनाको साइट कार्यालय मेलम्चीमा शान्तिपूर्ण र्‍यालीसहित कोणसभा गर्दै आयोजनाबाट पाउनुपर्ने रकम भुक्तानी नभएसम्म कुनै पनि निर्माण कम्पनीलाई आयोजनामा काम गर्न नदिने आयोजना पीडित संघर्ष समिति संयोजक विष्णुमणि आचार्यले जानकारी दिए।

स्थानीय मजदुर, सहायक निर्माण कम्पनी र सप्लायर्सले बाँकी रकम नपाउँदासम्म नयाँ कम्पनी सिनो हाइड्रोलाई काम गर्न नदिने भन्दै पीडितहरुले धर्ना दिएका हुन्। सरकारले केही समय अघिमात्र चाइनाको सिनो हाइड्रोलाई बाँकी कामका लागि जिम्मा दिएको थियो।

आयोजना पीडितहरूको समिति बनाएर प्रतिवेदन दिइसकेको अवस्थामा सरकारले समाधानको पहल नगरेको भन्दै मेलम्चीस्थित आयोजनाको कार्यालय तथा खानेपानी मुहान क्षेत्र अम्बाथानमा आजदेखि पीडितहरूले धर्ना सुरु गरेका हुन्। स्थानीय मजदुर, सहायक निर्माण कम्पनी र सप्लायर्सले गत साता जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा सात दिने अल्टिमेटमसहित रकम भुक्तानीका लागि ज्ञापनपत्र बुझाएका थिए।

आयोजनाबाट पीडित स्थानीयहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै ३ नम्बर प्रदेश सभा सदस्य इन्द्रमाया गुरुङले पीडितहरूको गुनासो सरकारले सम्बोधन गर्नुपर्ने बताइन्। सरकारले मेलम्ची आयोजनामा आलटाल गर्दे करोडौँको नोक्सानी बेहोर्नुपरेको समेत जनाइन्।

‘सिएमसीले स्थानीय सप्लायर्सको करिब २० करोड, सात सय कामदारको ज्याला, दस करोड, नेपालका सहायक कन्ट्राक्टर्स र सप्लायर्सहरूको डेढ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी देखिएको छ’ जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल  भने, ‘सिएमसीका इटालियन प्रतिनिधिहरूले खाना खाजाबापतको र मोबाइल रिजार्च कार्डको रकमसमेत क्यान्टिनमा भुक्तानी गरेका छैनन्। आयोजनास्थलका स्थानीय मजदुरहरूको तीन महिनाको तलब र सञ्चय कोष बापतको नौ करोड ७४ लाख रुपैयाँ कम्पनीले भुक्तानी गर्न बाँकी रहेको छ।’

मेलम्ची खानेपानीमा आयोजनाका ९४ प्रतिशत काम सम्पन्न भइसकेको छ। विभिन्न बहाना बनाउँदै मेलम्ची आयोजनाको निर्माण कम्पनी सीएमसी भागेको थियो। अहिले मेलम्ची खानेपानीको काम करिब ९ महिनादेखि अलपत्र छ। स्थानीय आन्दोलीत भएसँगै मेलम्ची भित्रको विवाद लम्बिने सम्भावना बढ्दै गएको छ। स्थानीयको भुक्तानी सुनिश्चित नभएसम्म नयाँ चिनियाँ कम्पनी सिनो काम गर्न सक्ने अवस्था छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.