|

दाङ : दंगीशरण गाउँपालिका पनि जिल्लाको एउटा स्थानीय तह हो। साबिकका गोल्टाकुरी, हेकुलीर श्रीगाउँ गाविस मिलेर बनेको यस गाउँपालिकाको क्षेत्रफल ११०.७१ वर्ग किमि छ। गाउँपालिकाको कुल जनसंख्या २०६८ को जनगणनाअनुसार २१,४८४  रहेको छ।

गाउँ कार्यपालिकाको कार्यालय हेकुलीमा छ। गाउँपालिका पूर्वमा तुलसीपुर उपमहानगरपालिका, पश्चिममा बबई गाउँपालिका, उत्तरमा शान्तिनगर गाउँपालिका  र  दक्षिणमा लमही नगरपालिका र बाँके जिल्लासँग जोडिएको छ।

गाउँपालिकाको औसत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ भने स्थानीय बासिन्दाको अरू आम्दानीको स्रोतको रुपमा साना उद्योग, व्यापार, सेवामूलक व्यवसाय, नोकरीको साथै वैदेशिक रोजगारी पनि हो।

स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम अत्यधिक बढिरहेको छ। यस गाउँपालिकामा आधारभूतदेखि उच्च शिक्षासम्म प्रदान गर्ने शैक्षिक संस्था पर्याप्त मात्रामा छैनन्।

प्राविधिक तथा थप गुणस्तरीय शिक्षाको लागि गाउँपालिकाबाट अध्ययनका लागि स्थानीय विद्यार्थीका अन्य क्षेत्र जाने गरेका छन्। यस गाउँपालिकामा तत्कालीन नेकपा एमालेबाट भागीराम चौधरी अध्यक्षमा निर्वाचित भएका थिए।

चौधरी लामो समयसम्म कमैया आन्दोलन तथा मुक्त कमलरी आन्दोलनको नेतृत्व गर्दै सक्रिय रूपमा सहभागी भई समाजिक कार्यमा लागेका थिए। जननिर्वाचित भएपछि गरेका प्रमुख काम र चुनौतीबारे उनै चौधरीसँग थाहा सहकर्मी विकास डाँगीले गरेको कुराकानीको सम्पादित अंश...

र्षको कार्यकाल कसरी बिताउनुभयो?

हामीले विभिन्न हक अधिकारका लागि जहिले पनि सरकारसँग अधिकार मागिरहन्थ्यौँ, तर अहिले म अधिकार प्रयोग गर्ने ठाउँमा आएको छु। म अधिकार माग्नेबाट अधिकार प्रयोग गर्न दिने ठाउँमा आएको २ वर्ष भयो। तर आफू आज यहाँ आउँदा निकै खुशी भएको छु। हामी निर्वाचित भएपछि नयाँ संरचना भएको हो।

नेपालमै पहिलोपटक नयाँ संरचना भएकाले कसरी जाने भन्ने थाहा थिएन। माथिको नेतृत्वलाई सोध्यो, तपाईं धमिलो पानीमा खोला तर्दै हुनुहुन्छ, भन्ने जवाफ आउने र तपाई कसरी जाने भन्ने कुरा आफैँले तय गर्ने कुरा हो, हामीले अहिले केहीँ गर्न सक्दैनौँ भन्ने जवाफ आउँथ्यो।

हुन पनि त्यहि रहेका आफुले ढुंगा छाम्दै जाने राम्रो भए अगाडि बढ्ने नभए नत्र त्यसै बस्ने गरी निर्वाचन भएको एक वर्ष यसरी नै बित्यो। त्यसैगरी अर्को वर्ष कर्मचारी समायोजनले गर्दा धेरै समस्या भोग्नुपर्‍यो।

कर्मचारी समायोजनले कर्मचारीहरू अब हामी यहाँबाट जाने हो, पछि आउनेले काम गर्दछु, भन्ने भानले गर्दा काममा समस्या भएको थियो। संमग्रमा भन्नु पर्दा हामीले २ वर्ष सिक्दै अगाडि बढ्दै बितेको जस्तो मलाई लाग्छ।

निर्वाचनमा जनतासामु गरेका चुनावी नारा कति पूरा भए कति बाँकी छन्?

हामीले निर्वाचनमा जनतासामु  गरेको प्रतिवद्धताहरू पूरा गर्दै आएका छौँ। हामीले गाउँगाउँमा बाटो पुर्‍याउने भनेको थियौँ। तर पक्की बनाउन सकेको भएता पनि ट्र्याक खोल्ने ग्रावेल गर्ने जस्ता काम गर्दै आएका छौँ। त्यसैगरी जनताको घर आँगनसम्म गाडी पुर्‍याएका छौँ।

त्यसैगरी सिँचाईतर्फ पनि हामी आफ्नो चुनावी नारा बनाएको थियौँ। त्यो पनि क्रमिक रूपमा काम हुँदै छ, हाम्रो सानो लगानीमा कुलो निर्माण तथा डिप बोरिङ निर्माण गरेको छौँ। तर हामी आइसकेपछि जुन परम्परागत सिँचाइ कुला थिए, तिनीहरूको निर्माण गरी जनताहरूलाई सेवा पुर्‍याएका छौँ। गाउँपालिकामा शिक्षाक्षेत्रमा नराम्रो थियो, तर हामी आइसकेपछि क्रमिक रूपमा सुधार गर्दै आएका छौँ।

त्यसैगरी हामी स्वास्थ्य क्षेत्रमा भएका समस्याहरूलाई पनि समाधान गर्दै नागरिकहरूलाई सहज सेवा प्रदान गर्दै आएका छौँ। तर कतिपय हाम्रो समस्याको कारणले पनि नभएका होलान्। ती पनि हाम्रो कार्यकालभित्र पूरा गरी छाड्ने  अठोट लिएर काम गर्दैछौँ।

तपाईंको गाउँपालिकामा के कस्ता चुनौती महसुस गर्नुभयो?

अहिले म निर्वाचित भएर आएको २ वर्ष भयो, तर काम गर्नका लागि स्रोत चाहिने भएकाले त्यसोका चुनौती भयो।  त्यसैगरी हामीले हरेक कामलाई असार मसान्तभन्दा अगाडि सक्ने भन्ने गरे तापनि विभिन्न कारण गर्दा त्यो हुन नसकेको समस्या छ।

त्यसैगरी गाउँपालिकामा आर्थिक अभावको कारण ठूला आयोजनाको काम गर्न सकेका छैनौँ। हामीलाई ऐन कानुन निर्माणमा समस्या भएको थियो, तर अहिलेसम्म हामीले १७ वटा ऐन र केही कार्यविधिहरू पास गरिसकेका छौँ।

सिंहदबारको अधिकार नागरिकले पाएका छन् ?

हाम्रो गाउँपालिकाको सन्‍दर्भमा भन्नुपर्दा यहाँका नागरिकहरूले त्यो अधिकार पाएका छन्, र हामीले पनि दिँदै आएको छौँ। कतिपय वडा कार्यालयहरूबाट प्राप्त गरेका छन्, केही हामीले घुम्ती शिविरमार्फत पनि गाउँ ठाउँबाट प्रदान गर्दै आएको छौँ।

तपाईंहरूलाई लाखौँको गाडी चढेको भन्ने आरोप छ नि के भन्नुहुन्छ?

यो त कसैले भन्नलाई भनेको कुरा जस्तो मलाई लाग्छ। तर हामीले स्वयं सेवासुविधा थप गरी लिएका छैनौँ, हामीले केन्द्र र प्रदेश सरकारले जुन सेवा सुविधा दिएको छ। त्यो नै प्रयोग गर्दै आएको छौँ।

तर पहिले गाविस हुने बेला सानो एकाइ थियो। त्यतिबेला मोटरसाइकल भए पनि हुन्थ्यो। अहिले २/३ वटा गाविस मिलेर गाउँपालिका बनेको छ। हामी जनप्रतिनिधिहरू गाउँपालिकाको हरेक ठाउँमा जानुपर्ने भएकाले हामीले पनि अन्य स्थानीय तहको जस्तो एउटै गाडी अध्यक्ष र उपाध्यक्षले प्रयोग गर्दै आएका छौँ।

त्यसैगरी प्रदेश र जिल्लामा कार्यक्रम  हुने भएकाले पनि हामी त्यहाँ जानुपर्ने भएकाले मात्र सवारी प्रयोग गरेका छौँ। तर व्‍यक्तिगत सेवा सुविधाका लागि मात्र सवारी प्रयोग गरेका छैनौँ।

गाउँपालिकाले हरेक विषयमा कर बढाएको भन्ने छ नि के भन्‍नुहुन्छ?

हामीले गाउँपालिकामा त्यस्तो कुनै कर बढाएका छैनौँ। तर गत वर्ष हामीले ऐनमै एकीकृत सम्पत्ति कर उठाउनुपर्छ भन्ने आएको थियो। सबै तयारी गरेका थियौँ। तर फेरी अर्को ऐन आएपछि त्यो स्थगित भयो। त्यतिबेला एकीकृत कर ल्याउन लाग्दा मानिसहरूले नबुझेर कर बढायो भन्ने कुरा आएको थियो।

हाम्रो गाउँपालिकाको मुख्य स्रोत भनेको मालपोत नै हो। त्यसैगरी गिट्टी बालुवा पनि केही प्रतिशत आयस्रोत नै हो त्योभन्दा अरू हाम्रो आयस्रोत छैन।

गाउँपालिकामा सुशासनको अवस्था कस्तो छ?

सुशासनको अवस्था भन्नुपर्दा हामी २/३ वटा कुराले अगाडि बढेका छौँ। पहिलो कुरा हामीले योजनाहरूको लागत कति कहाँ भन्ने कुराको आम नागरिकहरूलाई सूचना प्रवाह गर्दै छौँ। त्यसैगरी हाम्रो गाउँपालिकाको वेभ साइडमा राखेका हुन्छौँ।

त्यस्तै हामीले योजना निर्माण गर्नको लागि उपभोक्ताहरूलाई जिम्मा दिएर गराउँदै आएका छौँ त्यो काम सम्पन्न भएपछि सार्वजानिक कार्यक्रमको आयोजना गरी त्यसको बारेमा सार्वजनिक गर्दै आएका छौँ।

तपाईंलाई गाउँपालिका अध्यक्ष भएर एकलौटी ढंगबाट अगाडि बढेको भन्ने सुनिन्छ वास्तविक यथार्थ के हो?

सुरुसुरुमा केही त्यस्तो थियो। तर, अहिले हाम्रो गाउँपालिकामा त्यस्तो अवस्था छैन। केन्द्र र प्रदेश सरकारमा सत्ता पक्ष र विपक्ष हुन्छ। तर स्थानीय तहमा त्यस्तो हुँदैन। हाम्रो आ–आफ्ना भूमिका छ, त्यसले गर्दा हामी सकेसम्म मिलेर नै अगाडि बढिरहेका छौँ। चित्त नबुझेका कुराहरूलाई सबैसामु राखी छलफल बहस गर्दै अगाडि बढेको अवस्था हाम्रो छ।

तपाईहरूले गरेका विकास निर्माणका काम गुणस्तरहीन भयो भन्ने आरोप लागेको थियो नि?

हामीले निर्माण गरेको योजनामा गुणस्तरीयहीन भन्दा पनि खोलामा हामीले बनाएको डिजाइन फरक हुँदा त्यो आरसिसी पर्खालमा समस्या आएको थियो। तर, त्यसमा हामीले कुनै गुणस्तरहीन मेटल प्रयोग गरेका थिएनौँ। आगामी दिनहरूमा प्राविधिक कारणले गर्दा भएका समस्या सुधार गरेर जानेछौँ।

गाउँपालिकाले विकास निर्माणमा के कस्ता मुद्धा खेप्नुपरेको छ?

अहिलेसम्म कुनै पनि विकास निर्माण गर्दा हामीले त्यस्तो मुद्धा खेप्नुपरेको त छैन, तर अख्तियारमा हाम्रो गाउँपालिकाबाट एउटा मुद्धा परेको छ भन्ने सुन्नमा आएको छ। तर त्यो केमा हो त्यो जानकारी छैन।

आफ्नो कार्यकालभरमा गाउँपालिकालाई कस्तो बनाउँछु भन्ने कार्ययोजना बनाउनुभएको छ?

अब हाम्रो कार्यकाल ३ वर्ष छ, तर ३ वर्षभित्र केही ठूला सडकहरू जुन पुराना र महत्वपूर्ण हुन तिनी पिच हुनेछन्। त्यसैगरी गाउँपालिकाका २ र ३ नम्बर वडा गोलटाकुरी जोड्न पुलको काम सम्पन्न  गर्नेछौँ। त्यसैगरी, केही पर्यटकीयस्थलहरूको निर्माण गर्ने योजना पनि छ। त्यसैगरी गाउँपालिकाभित्र करिब ५० प्रतिशत जमिन सिँचाइ व्‍यवस्था हुनेछ।

त्यसैगरी अहिले गाउँपालिकामा ४० प्रतिशत नागरिकहरूले धाराको पानी खाँदै आएका छन्, भने अबको ३ वर्षभित्र ८० प्रतिशतलाई पहुचमा पुर्‍याउने योजना रहेको छ। त्यसैगरी शिक्षा, स्वास्थ्य, खेलकुदतर्फमा पनि धेरै काम गर्नेछौँ।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.