३५ करोड ६६ लाख ७२ हजार जरिवाना माग

|

पोखरा : उत्तरी गोरखाका धनकमल गुरुङ पूर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत गोरखामा बुधवार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनी कारागार चलान भएका हुन्।

धार्चे गाउँपालिका १ केरौंजाका ब्यवसायी धनकमल गुरुङ आफैंले ओडारमा धार्चे ३ उहियाको ओडारमा लुकाएको १६ किलो सुन सहित गत साउन ९ गते पक्राउ परेका थिए।

‘अब मुद्धाको प्रक्रिया अघि बढ्यो,’ जिल्ला अदालत गोरखाका श्रेस्तेदार बिनोद अधिकारीले भने, ‘अब दिन तोकेर साक्षीहरुको बक पत्र हुन्छ। त्यसपछि बहस हुन्छ अनि अरू प्रक्रियाअनुसार गएर नै फैसला हुन्छ।’

१६ किलो सुनसहित पक्राउ परेका धनकमललाई राजस्व अनुसन्धान विभागले मुख्य प्रतिवादी बनाउँदै जिल्ला अदालत गोरखामा मुद्धा दर्ता गरेको थियो। राजस्व अनुसन्धान विभागले धनकमलविरुद्ध राजस्व चुहावट, अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ र विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ अनुसार मुद्धा दर्ता गरेको थियो। उक्त मुद्धासँगै ३५ करोड ६६ लाख ७२ हजार रुपैयाँ जरिवानासमेत माग गरिएको छ।

धनकमललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले १६ किलो सुन सहित राजस्व अनुसन्धान विभागमा गएको साउन १० गते नै बुझाएको थियो।

यसरी नाटक गरेका थिए धनकमलले

गत असार ११ गते माथिबाट धार्चेकै माछाखोला बजार झर्दै गरेका उनीमाथि एउटा समूहले आक्रमण गरेको खबर एकाएक बाहिर आयो। स्थानीयमार्फत् नौजना युवाले धनकमललाई आक्रमण गरी अपहरण गरेको खबर पनि बाहिरियो।

त्यही बेला धनकमलले नै गाउँमा फोन गरेर आफूसँग भएको पैसा लुटिएको नाटक गर्दै फोन काटेका थिए। धनकमल हराएपछि उनका परिवारले माछाखोला प्रहरी चौकीमा उनलाई खोजी दिन भन्दै निवेदन दर्ता गर्‍यो। त्यही बेलादेखि गोरखा प्रहरी उनीसहितको टोलीलाई खोजी तीब्र पारियो।

धनकमलको काण्डको खोजी गर्ने बेलामा गोरखाका तत्कालीन एसपी भोला रावलले घटनाको बेवास्ता गर्दै उल्टै कार्यालयमै रक्सी खाएर डिआइजीलाई गाली गरी गीतसमेत सुनाएका थिए। पछि गोरखामा नयाँ एसपी ओम अधिकारी आएपछि घटनाको अनुसन्धान थप अघि बढेको थियो। गाउँलेले धनकमललाई हत्या गरेर बूढीगण्डकीमा फालिदिएको आशंका पनि गरेका थिए।

यता परिवारको दबाबमा रहेको प्रहरीले धनकमल र उनलाई आक्रमण गरेको भनिएको टोली कोही पत्ता नलागेपछि घटना रहस्यमय बनेको थियो। एसपी अधिकारीले प्रहरी निरीक्षकको कमाण्डमा उत्तरी गोरखामा सर्चका लागि टोली खटाएका थिए। त्यही टोलीले अपहरणमा परेका भनिएका धनकमललाई बुधबार पक्राउ गरेको थियो। उनलाई कहाँबाट कसरी पक्राउ गरिएको थियो खुलाइएको छैन। स्रोतका अनुसार उनलाई प्रहरीले बुधबार काठमाडौँबाट नियन्त्रणमा लिएको हो।

उनै धनकमलले नै ओडारमा सुन राखेको ठाउँमा प्रहरीलाई पुर्‍याएका थिए। प्रहरी स्रोतले भन्यो,‘जाँदा खच्चडमा खाद्यान्न लगेर गएको र फर्किँदा तिब्बतीले दिएको सुन लिएर त्यही खच्चडमा लिएर माछाखोला फर्कँदै थिए।’ प्रहरी स्रोतका अनुसार उनले त्यो सुन भारतीय ब्यापारीको हातमा पुर्‍याउने जिम्मा लिएका थिए। प्रारम्भिक अनुसन्धानले धनकमलले यस भन्दा पहिले पनि सुन ओसार(पसार गर्ने गरेको खुलेको छ।

खच्चड छोडेर रुमालमा सुन बेरेर जंगल छिरेका धनकमलले नै ओढारमा सुन लुकाएका थिए। उत्तरी गोरखालाई सुन तस्करले पछिल्लो रुट बनाएका छन्। गत वर्षको भदौमा पनि सिर्दीबासमा १० किलो सुन प्रहरीले बरामद गरेको थियो। उत्तरी गोरखामा तिब्बतसँग जोडिएका दुईवटा नाका छन्। एउटा रुइला र अर्को ङुइला नाका। रुइला सामागाउँमा पर्छ भने ङुइला छेकम्पारमा। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.