|

एजेन्सी : बेलायती प्रधानमन्त्री बोरिस जोनसनका भाइ जो जोनसनले मन्त्री पदबाट राजीनामा दिएका छन्। उनी प्रधानमन्त्री बोरिसका कान्छा भाइ हुन्। टोरिजका नामले समेत चिनिने कन्जरभेटिभ पार्टीको सांसदबाट समेत उनले राजीनामा दिएको बिबिसीले जनाएको छ। 

जो जोनसनले राजीनामापछि ट्वीट गर्दै ‘९ वर्षसम्म ओरपिङ्गटनको प्रतिनिधित्व गर्नु र तीन प्रधानमनत्रीको कार्यकालसम्म काम गरिरहन पाउनु मेरा लागि गर्वको विषय हो’, भनेका छन्।

उनले आफू हालका दिनमा पारिवारिक निष्ठा र राष्ट्रिय हितको बीमा फसेकोसमेत उल्लेख गरेका छन्। लण्डनको दक्षिणपूर्वी शहर ओरपिङ्गटनबाट सांसद बनेका जो जोनसन व्यापार मन्त्री थिए।

उनले आफ्नो भूमिकामा अतुलनिय तनावको पनि जिकीर गरेका छन्। जोनसनले सन् २०१६ मा युरोपेली संघको सदस्यता जनमत संग्रहमा इयूमै रहनुपर्ने पक्षमा मत दिएका थिए। उनका दाजु बोरिसले ईयूबाट अलग्गिने अभियानको सह-नेतृत्व गरेका थिए । दुवै दाजुभाइ ब्रेक्जिटलाई लिएर फरक धारमा छन्। 

जो जोनसनले ब्रेक्जिट सम्झौताको विरोधमा गत वर्ष थेरेसा मेएलाई मन्त्रीको हैसियतबाट  राजीनामा दिएका थिए। तर कन्जरभेटिम पार्टीका सदस्यहरुले दाजुलाई नेता निर्वाचित गरेपछि उनी फेरी सरकारमा फर्किएका थिए।

डाउनिङ्ग स्ट्रीटका प्रवक्ताले प्रधानमन्त्री बोरिसले जो जोनसनलाई उनको सेवाका लागि धन्यवाद दिएको र उनी एक शानदार, प्रतिभाशाली मन्त्री र सांसद रहेका बताएका उल्लेख गरेका छन्। 

बेलायत हालका दिनमा ब्रेक्जिट मुद्दामा राजनीतिक संकटको सामना गरिरहेको छ । प्रधानमन्त्री बोरिस जोनसनलाई ब्रेक्जिट मामिलामा बुधवार संसदमा दोस्रो झट्का लागेको थियो। 

बोरिसले अक्टूबर १५ अघि नै चुनावको माग गरेका थिए जसलाई बेलायती सांसदहरुले एकमतले खारेज गरिदिए। बेलायतलाई बिनाशर्त युरोपेली युनियनबाट बाहिर जानबाट रोक्ने पक्षमा विपक्षी सांसदहरु र टोरी दलका विद्रोही गरी ३ सय २९ ले मत दिएका थिए भने विपक्षमा ३ सय मत खसेको थियो। 

अब अक्टूबरको मध्यसम्म ब्रेक्जिट सम्झौता भएन भने बोरिस जोनसनले अक्टोबर ३१ सम्म ब्रेक्जिटको समयसिमा बढाउनका लागि युरोपेली युनियनलाई भन्‍न बाध्य हुुनपर्नेछ। उनले अक्टूबर १५ सम्म चुनाव गराउने चेतावनी दिईसकेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.