|

भद्रपुर (झापा) : भद्रपुरको पशु हाट बजार निर्माणाधीन ज्येष्ठ नागरिक स्वास्थ्य भवनभित्र लाग्दै आइरहेको पाइएको छ । ठेक्कामार्फत कर मात्रै सङ्कलन गर्ने भद्रपुर नगरपालिका कार्यालयले पशु हाट बजारलाई व्यवस्थित गर्न नसक्दा पशु बजार निर्माणाधीन स्वास्थ्य भवन र त्यस आसपासका स्थानीयको खेतीयोग्य जमिनमा लाग्दै आइरहेको हो ।

भद्रपुर–६ भानुनगरस्थित नगरपालिकाकै स्वामित्वमा रहेको जमिनमा वर्षौंदेखि लाग्दै आइरहेको पशु हाट बजारलाई त्यहाँबाट नगरपालिकाले आर्थिक वर्ष २०७१/७२ मा सारेको हो । नगरपालिकाको नयाँ कार्यालय भवन बन्न लागेपछि पशु हाट बजारलाई त्यहाँबाट सारेर नेपाल टेलिकम कार्यालय भद्रपुरको पूर्व पट्टि निर्माणाधीन स्वास्थ्य चौकी नजिकको खाली जमिनमा सारिएको हो ।

जनप्रतिनिधि आउनुअघि नै सारिएको पशु हाट बजार अहिलेसम्म व्यवस्थित हुन सकेको छैन । पशु हाट बजार व्यवस्थित नहुँदा गाईवस्तु निर्माणाधीन स्वास्थ्य चौकीभित्र वा व्यक्तिको निजी जमिनमा राखेर बिक्री वितरण गर्नुपर्ने ठेकेदार व्यवसायीको बाध्यता छ । विगत चार वर्षदेखि खेतीयोग्य जमिन र कालोपत्रे सडक नै ओगट्ने गरी लाग्दै आएको पशु हाट बजार व्यवस्थित नहुँदा समस्या भइरहेको व्यवसायी सञ्जीव पौडेलले जानकारी दिए ।

 ‘हिउँदमा त पशु बजार लगाउन समस्या छैन‚ तर बर्खाको बेला गाईवस्तु राख्नै समस्या हुन्छ‚’पौडेलले भने‚ ‘गाईवस्तु राख्ने ठाउँमा खेतभरि पानी जम्छ‚ दलदलमा गाडी फस्छ‚ अनि गाईवस्तुलाई सडक वा निर्माणाधीन स्वास्थ्य भवनभित्र राख्नु पर्ने हुन्छ ।’ यस्तो समस्याका बीच पशु हाट बजारको ठेक्का लिँदै आइरहेको उनले गुनासो पोखे । ‘पशु हाट बजारलाई अन्यत्र सारेर व्यवस्थित बनाउन नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई भन्दै आइरहेका छौं‚ अहिलेसम्म सुनवाइ भएन‚’ उनले थपे । गाईवस्तु राख्न समस्या भएको जानकारी गराएपछि नगरपालिकाले दुई÷चार ट्रयाक्टर गिट्टी बालुवा ल्याएर हालिदिने गरेको उनको भनाइ छ ।

अहिले बजार लाग्दै आइरहेको केही जमिन मात्र नगरपालिकाको पर्छ । पशु हाट बजारलाई फराकिलो जमिन चाहिन्छ । साँघुरो जमिनमा गाईवस्तु खुल्ला छाड्दा खेतीयोग्य जमिनको अन्नबाली खाइदिने समस्याका कारण तीन जनाको खेतीयोग्य जमिन भाडा लिएर बजार लगाइरहेको अर्का व्यवसायी विकास गुप्ताले बताए । उनले‚ ‘स्थानीय महेश कामती‚ सुरज कामती र हनुमान कामतीको जमिन भाडा लिएर बजार लगाउनु पर्ने बाध्यता छ।’

चालु  आर्थिक वर्षमा नगरपालिकाले चौपाया हाट बजार सेवा शुल्कको ठेक्का २९ लाख १२ हजार १२५ रुपैयाँमा लगाएको छ । सो ठेक्का जीविका सप्लायर्सले लिएको नगरपालिका राजस्व शाखाका प्रमुख सुशील कर्णले जानकारी दिए । आर्थिक वर्ष २०७५/७६ मा जीविका सप्लायर्सले नै २९ लाख ५ हजार १२५ रुपैयाँमा ठेक्का लिएको थियो । आर्थिक वर्ष २०७४/७५ मा लक्ष्मी देवी डाँगी चौपाया हाट बजार सेवा शुल्कको ठेक्का १५ लाख २८ हजार ५०५ सय रुपैयाँमा लिएको थियो । नगरपालिकाले वार्षिक रूपमा चौपाया हाट बजारबाट लाखौँ कर सङ्कलन गर्दै आए पनि यसको व्यवस्थापनमा अहिले सम्म कुनै चासो देखाएको पाइएन ।

पशु हाट बजार सार्न नगरपालिकाले रकम छुट्टाए

नगरपालिकाले चालु आर्थिक २०७६/७७ को बजेट‚ नीति तथा कार्यक्रममा पशु हाट बजारलाई व्यवस्थापन गर्न २० लाख रुपैयाँ बजेट भौतिक पूर्वाधार शीर्षकको योजनामा राखेको पाइएको छ । योजनामा राखेको पशु हाट बजार कहिले व्यवस्थापन हुने त्यस विषयमा अझै अनिश्चित छ ।

नगरपालिकाले मंसिरभित्र पशु हाट बजारलाई भद्रपुर–६ स्थित जगदम्बा टि स्टेट नजिकै रहेको आफ्नो नम्बरी जमिनमा सार्ने कुरा आएको पशु हाट बजारका ठेकेदार व्यवसायी सञ्जीव पौडेलले जानकारी दिए । ‘नगरपालिकाले पशु बजारलाई त्यहाँ सारेर मात्र हुँदैन‚’उनले भने‚ ‘त्यसका लागि गाईवस्तु राख्ने संरचना बनाउनु पर्छ‚ त्यहाँ अरूको पनि खेतीयोग्य जमिन छ‚ गाईवस्तुले त्यहाँ गएर अन्नबाली खाइदिए भने कसले जिम्मेवारी लिन्छ ।’

यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठका अनुसार अहिले भएको पशु हाट बजार अस्थायी हो । नगरपालिकाले जमिन खोज्ने काम गरिरहेको बताउँदै उनले भने‚ ‘भद्रपुर ६ मै राष्ट्रिय आवास कम्पनीको जमिन रहेकोले त्यस ठाउँमा अहिलेका पशु हाट बजार सार्ने योजनामा छौं ।’ आवास कम्पनीलाई नगरपालिकाले पत्राचार गरिसकेको र नगरपालिकाको स्वामित्वमा जमिन आउन साथ पशु हाट बजारको व्यवस्थापन हुने उनले बताए। यसबर्ष पशु हाट बजारका लागि नगरपालिकाले बजेट समेत छुट्टाइसकेको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.