|

इलाम : नेपालमै पहिलोपटक ब्रान्ड एम्बासेडरर नियुक्त गरेर आयोजना गरिएको हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रि गोल्डकप फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ। नेपाली महिला राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक हरि खड्का एम्बासेडर रहेको प्रतियोगिता बिर्तामोडको जायोन स्पोर्टस् क्लबले आयोजना गरेको हो।

डोमलाल राजवंशी रंगशालामा आगामी असोज ११ गते बाट १८ गतेसम्म हुने प्रतियोगिताको ६० प्रतिशत काम सम्पन्न भएको आयोजकले जनाएको छ। विजयादशमीको उपलक्ष्यमा झापालाई खेलकुदमय बनाउन प्रतियोगिता तयारी तीव्र पारीएको गोल्डकप आयोजक समितिका प्रवक्ता अभिनाश राईले बताए।

'प्रतियोगितामा सहभागि हुने ३ टिमको पक्का हुन बाँकी छ' उनले भने, 'मनाङ मर्स्याङ्दी, भुटानको पारो एफसी र नेपालको एक क्लबको कन्फर्म हुन बाँकी छ।' नेपालका पाँच वटा ए डिभिजन क्लबसहित ८ टिमले गोल्डकपमा सहभागिता जनाउने प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, रुपन्देही ११, भारतको मोल्होई युथ क्लब र आयोजक टिमले सहभागिता जनाउने पक्का भइसकेको छ।

हाल प्रतियोगिता हुने डोमालाल रंगशालाको फुटबल मैदानमा घाँसको काटछाट र प्याराफिट निर्माणको काम धमाधम भइरहेको छ। 'आन्तरिक रूपमा खेल मैदान मर्मत सम्हार, बाँसको प्याराफिट निर्माण र प्रचारप्रसारलगायतको काम तीव्र पारेका छौँ' आर्थिक संयोजक दीपेन्द्र आछामीले भने, 'आर्थिक संकलनका लागि प्रायोजकसँगको सम्झौतालाई अन्तिमचरणमा पुर्‍याएका छौँ।'

प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार रुपैयाँ र उपविजेताले छ लाख २५ हजारसहित ट्रफी प्राप्त गर्नेछ। त्यस्तै, विधागततर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदयीमान खेलाडी, सर्वाधिक गोलकर्तालाई पनि जनही नगद पुरस्कार प्रदान गरिने आयोजक समितिका अध्यक्ष भक्त खवासले जानकारी दिए।

गोल्डकप सम्पन्न गर्न कम्तिमा ८० लाख खर्च हुने अनुमान आयोजकको छ। गोल्डकपका लागि राष्ट्रिय महिला टिमका प्रशिक्षक हरि खड्कालाई यसअघि नै ब्राण्ड एम्बासेडर नियुक्त गरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.