नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलन सुरु

|

भद्रपुर, (झापा) : पर्यटन वर्ष सफल बनाउने उद्देश्यका झापाको भद्रपुरमा नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलन शुक्रवारदेखि सुरु भएको छ।

भद्रपुर ६ स्थित सिटी गार्डेन होटेल परिसरमा नेपाल जेसीजको आयोजना तथा भद्रपुर जेसीजको आतिथ्यमा सुरु भएको जेसीज क्षेत्र ‘क’ सम्मेलनको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले गरे। 

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले भने, ‘नेपाली समाजको गन्तव्य भनेकै समाजवाद ल्याउनु हो।’ हामी सबैको साझा संविधानमै उल्लेख त्यो कुरा उल्लेख रहेको बताउँदै उनले भने, ‘समाजवाद कसरी बन्छ, समाजवादमा हामी कसरी पुग्छौ, वास्तवमा अहिलेका युवा पुस्ताले यसलाई गम्भीर रूपमा सोच्नु पर्ने हुन्छ।’ 

संविधानले दिएको अधिकार अनुसार लोकतन्त्रलाई हामीले संरक्षण गर्दै अघि बढ्नु पर्ने बताउँदै नेता खनालले भने, ‘जोसँग धन छैन, उसले निर्वाचन लड्न सक्दैन, उ जनताको प्रतिनिधि बन्‍न सक्दैन, त्यसैले देशको निर्वाचन प्रणालीलाई सुधार गर्ने जरुरी छ, अनि मात्र लोकतन्त्र व्यवस्थित र बलियो हुन्छ।’

देश समाप्त हुन्छ कि भन्‍न प्रसंगामा बोल्दै उनले भने, 'देशको राष्ट्रियता अझै पनि कमजोर छ, धेरै लामो समयदेखि राष्ट्रियतालाई कमजोर बनाउने काम भएको छ, तर हामी नेपालीहरू देशभक्त छौ, जनताको सङ्घर्ष, प्रतिकार, प्रतिरोधले राष्ट्रियतालाई बिस्तारै बलियो बनाउने दिसामा अघि बढाएका छौ।' 

‘अहिले पनि देशको सीमा विवादमा छ, हामीले अहिलेको नक्सा भनेर बालबालिकालाई  पढाइरहेको छौ, त्यसो होइन,’ उनले भने, ‘अझै पनि कालापानी र सुस्ता विवादमा छ, हाम्रा पुर्खाहरूले अहिलेको सिमानालाई मानेको छैन, राष्ट्रियतामाथि विवाद खडा गर्नु खोजिएको छ।’ 

नेपाल जेसीज राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष तथा क्षेत्र क सम्मेलनको सभापति रविन पोखरेलको अध्यक्षता भएको उद्घाटन कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष महेश पौडेल, प्रदेश सांसदद्धय वसन्त बानियाँ, ओमप्रकाश सरावगी, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, समाजसेवी दिनबन्धु गोयल, जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष उत्तरकुमार चापागाईँ लगायतले मन्तव्य राखेका थिए। 

कार्यक्रममा समाजसेवी तथा दाता दिनबन्धु गोयललाई नागरिक अभिनन्दन गरिएको थियो। भद्रपुर नगरपालिकाको उपप्रमुख चन्दामाया श्रेष्ठ, उद्योगी पशुराम अग्रवाल र कृष्ण दाहाललाई मानार्थ सदस्यता प्रदान गरिएको हो। 

कार्यक्रममा समाजसेवी दिनबन्धु गोयलबाठ क्यान्सरपीडित परिवारका सदस्य गीता सहनीलाई नगद रकम हस्तान्तरण गरिएको थियो। शनिवारसम्म सञ्चालन हुने जेसीजको क्षेत्र क सम्मेलनमा ४० वटा शाखाबाट ५ सय सदस्य र पर्यवेक्षक १ सय ५० गरी ६ सय ५० भन्दा बढी जेसीजकर्मी सहभागी छन्। 

सम्मेलनमा सैलुन, जुत्ता पोलिस, व्युटि पार्लर, साना नानीहरूलाई खाना खुवाउने छुट्टै स्थान, प्राथमिक उपचार समेतको निःशुल्क व्यवस्था गरिने छ भने सःशुल्क रूपमा विशेषता युक्त खानपिनको स्टलको राखिएको सम्मेलनका निर्देशक वसन्त पोखरेलले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.