अर्गानिक प्रदेश बाउने मुख्य आधार होः मन्त्री केसी

|

सुर्खेत : नेपालमै कर्णाली प्रदेश सबैभन्दा कम रासायनिक मल प्रयोग गर्ने प्रदेशको रुपमा देखिएको छ।

देशैभर अंग्रजी सन् २०१७/०१८ मा कर्णाली प्रदेशमा देशभर खपत भएको रासायनिक मलको १ प्रतिशत मात्रै रासायनिक मल खपत भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। जबकी अंग्रजी सन २०१७/०१८ नेपालमा कुल ३ लाख ६४ हजार २०  मेट्रिक टन रासायनिक मल खपत भएको थियो।

संघीय सरकारको कृषि विभागले शुक्रबार वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेश स्तरीय प्राङ्गारिक कृषि प्रर्वद्धन मिसन कार्यक्रममा कर्णाली प्रदेशमा जम्मा ३ हजार ९०१ मेट्रिक टन मात्रै रासायनिक मल खपत भएको जानकारी दिइएको हो। 

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कुषि तथा सहाकारी मन्त्री बिमला केसीले एक प्रतिशत मात्र रासायनिक मल खपत हुनु कर्णाली सरकारका लागि खुसीको कुरा भएको बताइन्। उनले भनिन् ‘यो कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउने एउटा महत्वपूर्ण आधार हो।’

कर्णाली सरकारले आफ्नो पहिलो मन्त्रिपरिषदको बैठकबाट नै कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउने निर्णय गरेको थियो। अहिले सोही अुनसार विभिन्न कार्यक्रम प्रदेश सरकारको भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयले अघि सारेको छ। 

कर्णाली प्रदेशमा सुर्खेतले सबैभन्दा धेरै १८४९ मेट्रिक टन रासायनिक मल खपत गरेको छ। यस्तै सल्यानले ११७०, दैलेखले ४५९, रुकुमले २१३, जाजरकोटले १७७ र कालिकोटले ३१ मेट्रिक टन मल खपत गरेका छन्। हिमाली जिल्लाहरू मुगु, हुम्ला र डोल्पाले मल खपत नै गरेका छैनन् भने जुम्लाले २ मट्रिक टन मात्रै मल खपत गरेको छ।

‘अब कर्णाली सरकारको मुख्य काम र योजना प्रदेशलाई विषादीमुक्त र अगार्निकयुक्त प्रदेश निर्माण गर्नु नै हो’ मन्त्री केसीले भनिन्, ‘यसका लागि संघीय सरकारले प्रदेश सरकरालाई सशर्त अनुदान दिएको छ। अब संघीय सरकार र प्रदेश सरकार सँगसँगै अघि बढ्नु पर्छ।’

मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले प्रदेश सरकारसँग अर्गानिक प्रदेशका आधार तयार पार्दै, सोही अनुसारको उत्पादन गर्न चालु आर्थिक वर्षमा २२ करोड ३७ लाख रुपैयाँ (सशर्त अनुदान सहित) विनियोजन गरिएको जानकारी दिए।

कर्णालीको ७५ प्रतिशत भन्दा बढी जमिन अर्गानिक रहेको दावी भारीको छ। संघीय सरकार अन्तर्गतको कृषि विभागका उपमहानिर्देशक जानुका पण्डितले कार्यविधिमा ८५ प्रतिशत उत्पादन सामग्री सहयोग तथा प्रविधिमा, रैथाने बालीलाई प्याकेजिङमा अनुदान दिने लगायतका कुराहरू समेटिएको जानकारी दिइन।

स्थानीय तथा उन्नत जातको रैथाने बालीको वीउ प्रदान गर्ने तथा कृषकहरूको क्षमता अभिवृद्धि गर्ने गरी कार्यक्रम ल्याइएको उनको भनाइ छ।

सुर्खेतमा यूरिया मलको अभाव 

कृषकलाई आवश्यक परेकै बेला सुर्खेतमा यूरिया मलको अभाव देखिएको छ। धान खेतीका लागि आवश्यक परेको बेला मल नपाएपछि सुर्खेतका किसान मारमा परेका छन्।

अनुदानको रासायनिक मल उपलब्ध गराउँदै आएको कृषि सामग्री कम्पनी लिमिटेड सुर्खेतमा युरियामल नभए पछि कृषकहरू मारमा परेका हुन्। एक महिना यता सुर्खेतसहित कर्णालीका सल्यान, रुकुम पश्चिम, जाजरकोट, कालिकोट, जुम्ला र दैलेखमा अनुदानको मल अभाव भएको छ। गत साउनमा ४२ टन आएको यूरिया मल सकिएको कृषि सामग्री कम्पनी लिमिटेड सुर्खेतका प्रमुख टोपराम गौतमले जानकारी दिए।

‘ग्लोबल टेण्डरअनुसार सुर्खेतमा युरिया मल आउँछ’ गौतमले भने, ‘तर यो वर्ष कृषकलाई आवश्यक परेकै बेला भित्रयाउन सकिएको छैन।’ ओमनबाट मल आउन लागेको जानकारी आए पनि नेपाल प्रवेश गरि नसकेको गौतमको भनाई छ।

गौतमका अनुसार सुर्खेतमा झण्डै दुईसय टन युरिया मल अभाव देखिएको छ। ‘हामीलाई समयमै मल आए दुईसय टन भए पुग्ला’ गौतमले भने, ‘एक सातासम्म सुर्खेतमा मल आइपुग्छ भन्ने विश्वास लिएका छौं। र त्यही अनुसार किसानलाई पनि भन्ने गरेका छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.