|

दमक : पर्यटन वर्ष २०२० संघारमा नै आई पुग्दा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा पर्यटकीय योजनाहरूले तीव्रता पाएका छन्। यहाँ पर्यटन प्रवर्द्धनका लागि राष्ट्रियस्तरबाट दमक भ्युटावर, बुद्धको मूर्तिसहितको पार्कलगायतका योजना अघि सारिएको छ। यीबाहेक दमक नगरपालिकाले पर्यटन प्रवर्द्धनलाई नै लक्षित गरी आन्तरीक योजनाहरू पनि अघि सारेको छ।

वडा-वडामा योजना

दमक नगरपालिकाले प्रत्येक वडामा पर्यटकीय गन्तव्यहरू विकास गर्ने योजनालाई प्राथमिकता दिएको छ। आन्तरीक पर्यटकहरूको आकर्षणका लागि अधिकांश वडाहरूमा पर्यटन प्रवर्द्धन लक्षित योजनाहरू सञ्चालनमा रहेकाछन्। वातावरण संरक्षण, हरियाली अभिवृद्धि एवं स्वच्छ नगर स्थापनाका लागि योजनाहरूमा नीतिगत प्राथमिकता दिइएको नगरपालिकाले जनाएको छ। योजनाहरू कार्यान्वयन गर्दा पर्यावरणीय सुरक्षा र वातावरण सन्तुलनलाई प्राथामिकतामा राखिएको नगरप्रमुख रोमनाथ ओलीको भनाइ छ।

पर्यटकीय गन्तव्यहरूको विकास गर्दा पर्यावरण संरक्षण, स्वास्थ्य, सिकाइ तथा आर्थिक समृद्धिमा पनि सहयोग पुग्ने नगरपालिकाको ठहर छ। नगरका विभिन्न स्थानमा यस्ता योजनाहरू सञ्चालनमा रहेको नगरपालिका उपप्रमुख तथा प्रवक्ता गीता अधिकारी बताउँछिन्। यस्ता योजनाहरूलाई मनोरञ्जनसँगै धेरै कुराहरू सिक्न सकिने स्थानको रूपमा समेत विकास गर्ने लक्ष्य रहेको उनको भनाइ छ।

पर्यटकीय गन्तव्यहरूको विकास एवं वातावरणीय सन्तुलनमा सहयोग पुर्‍याउने योजनाका रूपमा दमक–१ मा त्रिवेणी मुक्तिघाटको योजना अघि सारिएको छ। रतुवा, चाँजु तथा साधु होलीको संगम स्थल नजिकै सुरक्षित र प्रकृतीमैत्री दाहसंस्कार स्थलसँगै वन संरक्षणको समेत योजना रहेको वडाध्यक्ष ताराप्रसाद अधिकारीले बताए।

हिमालय वन क्षेत्रका करिव ५ बिगाहामा मन्दिर, पुनर्ताजगी क्षेत्र, ज्येष्ठ चौतारी लगायतका संरचनाहरू निर्माणका क्रममा रहेकाले यो पर्यटकीयसँगै पर्यावरणीय स्थलका रूपमा विकास हुने उनको विश्वास छ। यस्तै वडा नं. २ मा समेत सिमसार संरक्षण एवं पर्यटकीय क्षेत्रको रूपमा लाजेको बाँध स्तरीकरण र पूर्वाधार विकासको योजना रहेको वडाध्यक्ष प्रजापति सापकोटाको भनाइ छ। वर्षौ अघिदेखिको बाँध एवं सिमसार क्षेत्रलाई प्रदेश सरकारसँग समेत समन्वय गरि वडाको मात्र नभई नगरकै आकर्षक गन्तव्यको रूपमा विकास गर्ने उनले जनाए।

वन क्षेत्र समेत रहेको र चुरेसँग जोडिएको वडा नं.३ मा भने आधा दर्जन भन्दा बढि पर्यटकीय योजनाहरू कार्यान्वयनमा रहेका छन्। तीमध्ये ढुकुरपानीस्थित बेतिनी सिमसारलाई २९ लाख रुपैयाँ खर्च गरि नौका बिहार गर्न सकिने अवस्थामा विकास गरिएको वडाध्यक्ष नविन बरालले बताए। यहि वडामा रहेको हम्सेदुम्से सामुदायीक वन तथा जामुने सिमसारलाई पर्यावरण सिकाइ स्थलको रूपमा विकास गर्ने योजना रहेको उनको भनाइ छ।

नगरले प्रथम नागरिक घोषणागरेको धिमाल जातिको होमस्टेसमेत यसै वडामा रहेको छ। होमस्टेलाई बाह्रय पर्यटकहरूको समेत आकर्षण केन्द्रको रूपमा विकास गर्न वडाले प्राथमिकता दिएको र अन्य निकायसँग समेत समन्वय गरि यसलाई थप व्यवस्थित पार्ने क्रममा रहेको बरालले बताए। ऐतिहासिक स्थलको रूपमा रहेको अन्धाराजा अन्धारानी दरवार क्षेत्रसम्म पुग्ने पदमार्गको विकासका लागि चुलाचुली गाउँपालिकासँग समेत सहकार्य गरि यसलाई चुरेपदमार्गको रूपमा विकासका लागि चरणवद्ध योजना अघि सारिएको वडाकार्यालयले जनाएको छ।

यसै गरि अढाई दशकसम्म भुटानी शरणार्थीहरूको घनाबसोबास रहि हाल पातलिएको स्थानमा भुटानी शरणार्थीहरूको जीवनशैली झल्कने गरि शरणार्थी संग्रालय निर्माणको योजनासमेत प्रकृयामा रहेको छ। यहि वडामा राष्ट्रिय प्राथमिकतमा परेको भ्युटावर निर्माण प्रकृया शुरु भएको छ भने बुद्धमूर्ति सहितको पार्क निर्माणकालागि जग्गा व्यवस्थापनको प्रकृया चलिरहेको जनाइएको छ।

प्रथम नागरिककै सांस्कृतिक स्थलको रूपमा रहेको वडा नं. ४ समेत राष्ट्रिय योजनाको रकम खर्च भएको छ। यहाँ स्थित अर्नाखाडी ग्रामथाना तराई मधेश समृद्धी कार्यक्रम अन्तर्गत ७५ लाख र वडाको ५ लाख रुपैयाँमा घेरावारा, गेट निर्माण र भवन निर्माणको काम थालिएको वडाध्यक्ष कुमार साम्सुहाङ्ले जनाएका छन्। यस स्थानलाई धिमाल जातिको अध्ययन अनुसन्धान गर्न चाहनेहरूका लागि समेत गन्तव्य स्थलको रूपमा विकास गर्ने लक्ष्य रहेको उनको भनाइ छ। नगरको सघन सहरी क्षेत्रमै पर्ने वडा नं.८ मा समेत पर्यटकीय योजनाहरूले प्राथमिकता पाएका छन्।

केहि वर्ष अघिसम्म वडाको चुनौतीको रूपमा रहेको रातेहोली २ वर्षयता पर्यटकीय क्षेत्रको रूपमा विकास भइरहेको छ। गत आर्थिक वर्षमा यसको सरसफाई तथा किनारा व्यवस्थापनमा करिब १५ लाख रुपैयाँ खर्च भएको र यस वर्ष थप ३५ लाख रुपैयाँ खर्च गरि रेलिङ् निर्माण, फूलबारी व्यवस्थान, बत्ती व्यवस्थापन लगायतका पूर्वाधार विकास गरिने वडाध्यक्ष पशुपतिराज गौतमले जानकारी दिएका छन्।

यस्तै डिभिजन वन कार्यालय मार्फत ७ लाख रुपैयाँभन्दा बढी खर्च गरि रतुवा किनारालाई ‘रीक्रिएशन सेन्टर’ को रूपमा विकास गर्ने काम समेत शुरु भएको छ। यहाँ पाँच ओटा स्टिलका फलैँचा आराम गर्ने स्थलको रूपमा बनाइएको छ भने दुई ठाउँमा सिँडीसमेत निर्माण गरिएको छ। अबयसको किरानामा उद्यान विकास गरि यसलाई नमूना ‘ग्रीनबेल्ट’ को रूपमा विकास गर्ने वडाध्यक्ष गौतमले बताए।

वडा नं. ९ मा भने मुख्य पर्यटकीय तथा पर्यावरणीय स्थलको रूपमा चन्द्रमा बालबाटिका रहेको छ। यस बालबाटिकामा वडाको १० लाख र सिँचाई मन्त्रालय अन्तर्गतको योजनामा १० लाख रुपैयाँ खर्च भइसकेको वडाध्यक्ष रामबहादुर धिमालले जानकारी दिए। ६ बिगाहा १८ कट्ठा क्षेत्रफलमा रहेको बालबालिटाकाका केही बिरुवा बाढीले समेत बगाएकाले यसको थप स्तरवृद्धि र पूर्वाधार विकासका लागि नगरलाई पनि आग्रह गरिएको उनले जनाए।

नगरको दक्षिणी क्षेत्रमा रहेको वडा नं. १० मा भने ईन्द्रेणी तालम, सिंहदेवी पोखरी, सिंहदेवी देवस्थल र विज्ञान पार्क मुख्य पर्यटकीय योजनाका रूपमा रहेका छन्। एक किलोमिटर लामो र ७० फुटसम्म चौडा रहेका ईन्द्रेणी ताल दमकको पुरानो र सम्भावनायुक्त स्थान हो। यसको प्रर्वद्धनकालागि १५लाख रुपैयाँ बजेटको प्रारम्भिक योजनाहरू अघि बढाइएको वडाध्यक्ष बोधराज न्यौपानेले जानकारी दिए।

यस्तै सिंहदेवी पोखरी र देवस्थल नगरका वर्षौ पुराना धार्मिक स्थलको रूपमा रहेका छन्। यहाँ सयौं वर्ष पुराना ईनारका अवशेस समेत भेटिएको स्थानीयको भनाइ छ। गत आर्थिक वर्षमा यहाँको पोखरी र भवनका लागि २६ लाख रुपैयाँ खर्च भएको जनाईएको छ। यस्तै सिंहदेवी माविको २ बिगाहा जमिनमा विज्ञान सिकाई केन्द्रको रूपमा विज्ञान पार्कसमेत निर्माण भइरहेको छ। यहाँ विभिन्न श्रोतबाट करिब ५० लाख रुपैयाँ खर्च भएको जनाइएको छ भने यसबाहेक २ तले भवनसमेत निर्माणको क्रममा रहेको उनले जनाए। यसलाई नगरको मात्र नभई पूर्वी नेपालकै विज्ञानसम्बन्धी विभिन्न जानकारी लिन सकिने आकर्षक सिकाई केन्द्रको रूपमा विकास गर्ने लक्ष्य रहेको न्यौपानेले बताए।

सहरमा सहरी सौन्दर्य

नगरका सघन बसोबास रहेका वडा नं. ५,६ र ७ मा भने सहरी सौन्दर्यसँग जोडिएका पर्यटकीय एवं पर्यावरणीय योजनाहरू सञ्चालनमा रहेका छन्। वडा नंं ५ का वडाध्यक्ष ईन्द्रबहादुर गुरुङले वडाका बिभिन्न सडकहरूमा हरियाली अभिवृद्धि गराई सडक एवं सहरी सौन्दर्य अभिवृद्धिका योजनाहरू कार्यान्वयनमा रहेको जनाएका छन्। यस्तै वडा नं. ६ मा सहरी सौन्दर्यको योजनाकै रूपमा १ सय ७५ मिटर लामो नमूना बजार निर्माण भएको छ।

यसलाई सन्ध्याकालीन बजारको रूपमा विकास गराउने नगरको अध्यक्षअनुसार सौर्यबत्ती, रेलिङ, पानीको फोहरा, फलैँचालगायतका पूर्वाधार बनाइएको छ। यस्तै नगरको प्रमुख धार्मीक संस्था मध्येको पशुपति मन्दिरको प्रवर्द्धन र पूर्वाधार विकास पनि वडाको प्राथमिकतामा रहेको वडाध्यक्ष टेकबहादुर थापाले बताएका छन्। यस्तै सहरी सौन्दर्य अभिवृद्धिका लागि व्यवसायी एवं विभिन्न संस्थाहरूसँगको सहकार्यमा सडक किनारामा फूलसहितका गमला राख्ने कार्यलाई पनि वडाले प्राथमिकता दिएको छ।

यसैगरी, क्षेत्रफलका दृष्टिकोणले सानो भए पनि सघन बसोबास रहेको वडा नंं ७ मा पर्यटकीय एवं पर्यावरणीय योजनाका रूपमा रोज गार्डेन निर्माण भइरहेको छ। यसलाई यसै वर्ष पूरा गर्ने लक्ष्यसहित पूर्वाधार निर्माणको कार्य भइरहेको वडाध्यक्ष भीम पौडेलले जनाएका छन्। रोजगार्डेनसमेत क्षेत्रफलका दृष्टिकोणले सानो भए पनि मुख्य राजमार्गको नजिकै रहेकाले यसलाई नगरको मात्र नभई दमक आउने अन्यत्रका व्यक्तिहरूका लागि आकर्षक गन्तव्यको रूपमा विकास गराउने उनले जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.