|

काठमाडौं : लोकगायक, सङ्गीतकार तथा रचनाकार मधुबाबु थापाको निधन भएको आज १३ औं दिन।

आज थुप्रै संगीतकर्मी तथा सर्जकहरुले थापाका लोकप्रिय गीतहरु प्रस्तुत गरेर उनको संझना गरे। रापती समाज काठमाडौं, प्रस्तोता समाज नेपाल, संगीतकार संघ नेपाल र सांस्कृतिक संस्थानले मंगलबार आयोजना गरेको श्रद्धाञ्‍‍‍जली सभामा राप्ती क्षेत्रका संगीतकर्मीहरुले थापाका चर्चित गीतहरुमा संगीत भरे, चर्चित गीतहरु गाए र उपस्थित सबैलाई भावविव्हल बनाए।  

 लोकगायक तथा थापाका विद्यार्थी खर्क बुढाले 'झिम-झिम परेली झिम्काइदेउ', 'मेरी मायालाई पिर पर्छ सम्झाईदेउ' बोलको गीत गाए।

लिलालवती बुढाले 'खाइन तिउन दाई लालै पल्लपे सिस्नोको, पाइन भर दाई पिरती बिस्नोको' गीत गाइन्।

गायक प्रेमप्रकाश वलीले थापाले सङ्गीत गरेको आधुनिक गीत 'गर्‍यौ किन वाचा आउछु भनेर, जानू नै थियो भने नआउने गरेर' बोलको गीत प्रस्तुत गरे। 

सङ्गीतकार गोविन्द मधुर आचार्यले थापाप्रति समर्पीत 'सानी मायालाई, आफु हिड्यौ हामीलाई ज्योति दियौं" बोलको गीत गाएर श्रद्धाञ्जली व्यक्त गरे।

प्रेमप्रकाश वली र गीता रेउलेले थापाको पहिलो गीत 'भैगो हजुर मायाजाल नबुन, गैगो हजुर माया लाउने दिन' गाए। मधुबाबु थापा रेडियो नेपालमा यही गीत गाएपछि चर्चित भएका थिए।

कार्यक्रममा एक दर्जन बढी गायक/गायिकाले गायक थापाका लोकप्रिय गीतहरुको प्रस्तुत गरेका थिए।

स्थानीय संगितलाई राष्ट्रिय संगीतसँग जोड्ने सेतु

कार्यक्रममा उपस्थित भएका सिँचाई मन्‍‍त्री दिपक गिरीले थापा राष्ट्रियता र संस्कृतिसँग अत्यन्त निकट रहेका व्यक्तित्व भएको स्मरण गरे। उनले थापाका हरेक कृतिले नेपाली माटोसँग सम्बन्ध राखेको बताए। 

एमाले नेता शंकर पोखरेलले थापाले सानै उमेरदेखि आफ्नो मनमष्तिष्कमै प्रभाव जमाएको बताए। उनले मधुबाबुलाई 'स्थानीय सङ्गीतलाई राष्ट्रिय सङ्गीतसँग जोड्ने सेतु' का रुपमा संझने बताए। उनले थापाको योगदानको संरक्षण गरिनुपर्ने बताए। आफु सञ्चारमन्त्री हुँदा नेपाल टेलिकमको सेवामा डाटा (थ्रिजि) सिस्टमको सुरुवात गरेको भन्दै अहिलेको युग सुचना र प्रविधिको युग भएकाले अब इन्टरनेटकै कारण श्रष्टाहरु भोकै मर्नु नपर्ने बेला आएको उनले बताए।

संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेषले संघले विशिष्ट श्रष्टाको देहावसान भएमा स्वर्गीय नभन्‍ने अमर श्रष्टा भन्‍ने कार्यको थालनी गरेको बताए। उनले कुनै श्रष्टा बिरामी पर्दा, आपतमा पर्दा सामान्यदेखि विशिष्टसम्मलाई समेट्ने गरि उहाँहरुको सहयोगका लागि पहल गर्न कल्याणकारी कोष सुरु गरेको बताए।

रापती समाज काठमाडौंका अध्यक्ष शशि शर्मा मजगैयाँले श्रष्टा थापाका कृतिहरुलाई जिवन्त राख्‍नका निमित्त पहल गरिने र थापाका नाममा समाजमा पुरस्कार स्थापना गरिने समेत बताए।

कालजयी लोकगीतका सर्जक गायक मधुबाबु थापाको पुस ७ गते ६३ वर्षको उमेरमा निधन भएको थियो। बहुप्रतिभाका धनी थापा गायन, शब्द संकलन, लेखन, संगीत, वाद्यवादन तथा सङ्गीत संयोजन सबै विधामा उत्तिकै सक्रिय  थिए। वि.स. २०१० साल वैशाख १० गते दाङको राजपुरमा जन्मेका मधुबाबुले २ वर्षको उमेरमै दृष्टि गुमाएका थिए। उनले २०३५ सालदेखि ‍औपचारिक गायन सुरु गरे। गाउँघरमा हुने मेलापात, पुजाआजा लगायतका अवसरमा उनको माग निकै बढ्थ्यो। स्थानीयस्तरमा राम्रो चर्चा कमाएपछि उनी काठमाडौं प्रवेश गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.