|

सिरहा : सिरहा प्रहरीले जिल्लाका विभिन्न ठाउँमा अवैध रुपले लुकाएर राखिएको काठ बरामददेखि भन्सार छलेर ल्याइर्एका लाखौं मूल्यका सामानसम्म बरामद गरेको छ।

प्रहरीले सिरहाको पश्चिमवर्ती कर्जन्हा नगरपालिका २ बल्टिया गाउँबाट अवैध रुपमा लुकाई छिपाई राखिएको करिब एक लाख रुपैयाँ मूल्यको अवैध काठ बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको गस्ती टोलीले स्थानीय रामबहादुर सुनुवारको घर गोठमा अवैध रुपमा काठ लुकाई छिपाई राखिएको करिब एक लाख रुपैयाँ मूल्यको २० थान साल प्रजातिको काठ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीका अनुसार बरामद गरिएको काठ आवश्यक कारबाहीको लागि मिर्चैयास्थित इलाका डिभिजन वन कार्यालयमा बुझाईएको छ।

एक लाख ३६ हजार बढीको मूल्यको सामान नियन्त्रण

प्रहरीले नियमित चेकजाँचको क्रममा सिरहाको औरहीबाट एक लाख ३६ हजार दुई सय रुपैयाँ मूल्यको भन्सार छलेर ल्याइएको सामानसहित दई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको गस्ती प्रहरी टोलीले शुक्रबार मध्यरातमा औरही गाउँपालिका ४ मा पर्ने हुलाकी सडक खण्डमा

चेकजाँचको क्रममा स.६ प २११७ नम्बरको  मोटरसाइकलसहित नरहा गाउँपालिका १ बस्ने ३० वर्षीय श्रवण कुमार यादव र २४ वर्षीय देवरञ्जन यादवलाई युरिया मलसहित पक्राउ गरेको छ। पक्राउ गरिएका दुवैलाई आवश्यक कारबाहीका लागि सिरहा भन्सार कार्यालय माडरमा बुझाइएको प्रहरीले जनाएको छ।

त्यस्तै, प्रहरीले औरही गाउँपालिका ५ बाट भन्सार छलेर ल्याइएको ५६ हजार एक सय रुपैयाँ मूल्यको दुई बोरा कपडा बरामद गरिएको जनाएको छ। सिरहा नगरपालिका ७ बाट प्रहरीले भारतबाट भन्सार छलेर अवैध रुपमा ल्याउँदै गरेको १७ हजार चार सय रुपैयाँ मूल्यको लत्ता कपडा नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सिरहा भन्सार कार्यालय माडरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।  

घरेलु मदिरा नष्ट

इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले गोलबजार नगरपालिका ६ र ७ नम्बर वडामा पर्ने बजार क्षेत्रबाट अवैध रुपले उत्पादन गरी तयारी अवस्थामा राखिएको एक सय ५० लिटर घरेलु मदिरा, करिब एक हजार लिटर कच्चा पदार्थ र घरेलु मदिरा बनाउन प्रयोग भएका टिन तथा प्लाष्टिकको भाँडाहरु नियन्त्रणमा लिई नष्ट गरिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.