सबै ढुंगा झिक्न तीन पटक अपरेशन गर्नुपर्ने

|
विरामीको मिर्गौलाबाट झिकेको पत्थर

  • अर्जुन आचार्य-

विराटनगर :  मोरङ टाँढी ४ की शर्मिला गजमेरको मिर्गौलामा ५० वटाभन्दा बढी ढुङ्गा फेला परेको छ। ७ वर्षदेखि आयुर्बेदिक औषधी सेवन गर्दै आएकी उनको विराटनगरस्थित नेशनल किड्नी अस्पतालमा शल्यक्रिया गर्दा ५० वटा भन्दा बढी पत्थर (ढुंगा) भेटिएको हो।

नेशनल अस्पतालका चिकित्सक डा. सन्तोषकुमार झाले बिरामीको मिर्गौला भरी १७\१८ एमएमका झण्डै ५०/६० वटा ढुंगा देखिएको बताए। ‘खापमाथि खाप परेर मिर्गौला वरिपरि बसेको देखिन्छ,’ झाले भने,‘ढुंगाकै कारण मिर्गौला सरेर करङभन्दा माथि पुगेको रहेछ।’

उनको दुईपटक शल्यक्रिया भैसकेको छ। ‘दुई पटक अपरेशन गरेर केही दर्जन ढुङ्गा निकालियो,’ डा. झाले भने, ‘सबै क्लियर गर्न अझै एक पटक अपरेशन गर्नुपर्छ।’ मिर्गौलाभित्र पाँच वटासम्म प्वाल पारेर ढुंगा निकाल्ने प्रयास गरिरहेको डा. झाको भनाइ छ। 

२३ वर्षकी गजमेरलाई आयुर्वेदिक औषधी सेवनले मिर्गौलाको पत्थरी (ढुंगा) जाने विश्‍वास थियो। तर आयुर्वेदिक औषधिले काम गरेन। ढुंगा बढ्दै गयो। 'भारतबाट झिकाएर झण्डै डेढ लाख बराबरको आयुर्वेदिक औषधी खाइयो होला, तर ढुङ्गा गएन,’विराटनगरस्थित नेशनल किड्नी अस्पतालमा शल्यक्रियाका लागि आएकी बिरामी गजमेरले भनिन्,‘अहिले शल्यक्रिया गर्नुपर्‍यो, पैसा ३ लाख भन्दा बढी लाग्‍ने देखिएको छ।’

शर्मिलाका श्रीमान् शुक्रबहादुर मग्राती बिरामीको उपचारका लागि बिभिन्‍न स्वास्थ्यसंस्था धाइरहेको बताउँछन्। डाक्टरहरुले जटिल खालको बिरामी भन्दै शल्यक्रिया गर्न आलटाल गरे’ शुक्रबहादुरले भने, ‘अहिले भने अपरेशन सफल हुने आशा छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.