विचार

बैंकिङ क्षेत्रको आठ दशकको इतिहास : प्रविधिको बढ्दो प्रयोग वा दुरुपयोग

यस्ता छन् हाइटेक चुनौती

भदौ २२, २०७६

    नेपालमा बैंकिङ क्षेत्रको आठ दशक भन्दा लामो इतिहास भएको छ। यो ऐतिहासिक विकासक्रमलाई अवलोकन गर्दा औपचारिक बैंकिङ प्रणालीको शुरुवात पछि शुरुका दशकहरूमा बैंकिङ सेवाको आपूर्ति र मागको बीचमा निकै खाडल देखिएपनि पछिल्लो दशकमा बैंकिङ क्षेत्रको विकास, विस्तार एवम् प्रतिफलको अवस्था उल्लेखनिय रहेको छ। सुरुका दशकमा सूचना प्रविधि, दक्ष जनशक्ति, बजार आदिको अभावका कारण आधुनिक बैंकिङ प्रणालीको विकास हुन सकेको थिएन।

    वि.सं.२०४० सम्म सरकारी स्वामित्वका बैंकहरूको मात्र उपस्थितिले संकुचित दायरामा निक्षेप संकलन र कर्जा प्रवाह जस्ता परम्परागत बैंकिङ सेवामा सीमित रहेको बैंकिङ क्षेत्र पछिल्ला वर्षहरूमा मोबाइल बैंकिङ, इलेक्ट्रोनिक बैंकिङ, ब्रान्चलेस बैंकिङ, भिसा तथा मास्टर कार्ड, चौविसै घण्टा एटिएम सेवा प्रदान गर्दै नेपालको बैंकिङ क्षेत्र अन्तर्राष्ट्रिय सञ्जालसम्म जोडिन पुगेको छ।

    एटिएम सेवाको कारण बैंकिङ व्यवसाय ३६५ दिन, २४ घण्टा, १४४० मिनेट र ८६४०० सेकेण्ड नै सञ्चालन हुने पेशा र व्यवसाय हो।

    विश्व बजार प्रविधि र विद्युतीय माध्यमले गर्दा एउटा घरमा सीमित हुन गएकोले यसको अधिकतम उपयोगबाट व्यापार, व्यवसाय, भुक्तानी, लगानी, उत्पादन, आय, कर, रोजगारीलगायत दैनिक कारोबार बढिरहेको छ। नेपालमा अहिले इ–कर्मस (इ–बैंकिङ, इ–गर्भनेन्स, इ–टिकट, इ–भूक्तानी, इ–व्यापार, इ–स्वस्थ्य, इ–शिक्षा, इ–कोटेशन, इ–चुनाव) मार्फत बैंकिङ सेवाको विकास, विस्तार र प्रर्वद्धन हुदै बैंकिङ क्षेत्रको आकार निकै बढेको छ। एटिएम सेवाको कारण बैंकिङ व्यवसाय ३६५ दिन, २४ घण्टा, १४४० मिनेट र ८६४०० सेकेण्ड नै सञ्चालन हुने पेशा र व्यवसाय हो।


    विश्वमा एटिएमको पहिलो पटक आवष्किार गरी प्रयोगमा ल्याउने ब्रिटिस जोन एर्डिएन सेफेर्ड बरोन हुन्। उनले सन् १९६७ मा एटिएम मेशिनको आवष्किार गरी प्रयोगमा ल्याएका हुन्। नेपालमा पहिलो पटक क्रेडिट कार्ड सन् १९९० मा नविल बैंक र एटिएम कार्ड सन् १९९५ मा हिमालयन बैंकले प्रयोगमा ल्याएको ल्याएको हो।

    नेपालमा अहिले कुल ३३१६ एटिएम रहेको, डेविट कार्ड ६७ लाख ८ हजार, क्रेडिट कार्ड एक लाख २३ हजार, प्रिपेड कार्ड ६७ हजार ४ सय प्रयोगमा आएको केन्द्रीय बैंकको तथ्यांकले दखाएको छ। बैंक एक सेवा अनेकलाई सार्थक बनाउन, अपेक्षाकृत लाभ लिन, लागत घटाउन, बैंकिङ शिक्षा तथा साक्षरता अभिबृद्धि गर्न एटिएमहरूको प्रयोगलाई बढाउन व्यवहारी देखिन्छ।

    नेपालमा एटिएम प्रयोग गर्ने करिब २० देखि ५० वर्ष सम्मका मानिसहरूको संख्या अत्यधिक रहेको एक अध्ययनले देखाएको छ। त्यसैगरी न्यून आम्दानी भएका, अशिक्षित, बृद्ध, बच्चा, सेवा निबृत्त कर्मचारी, मजदुरको तुलनामा उच्च आम्दानी भएका, शिक्षित तथा युवाहरूले एटिएमको प्रयोग धेरै गरेको देखिन्छ।

    एटिएमको सहयोगले तुरुन्तै चाहेको स्थानमा, चाहेको रकम, विना झण्झट जानकारी सहित पाउन सकिएपनि यसका आफ्नै समस्या तथा चुनौतिहरू छन् जस्तोः लोडसेडिङ्गको समयमा नचल्ने, कार्ड मेशिनमा अड्किने, चोरिने, प्रणाली तथा एटिएमको ह्याकिङ्ग हुने, सिष्टम तथा सफट्वेयर नचल्ने, सिमित समयावधिको कारण नियमित नविरण र सोको लागत आदि छन्। नेपालमा सुचना प्रविधिको राम्रो प्रयोग र पहुँच भएको एकमात्र क्षेत्र बैंकिङ क्षेत्र हो।

    बैंक तथा वित्तीय संस्थाको मुटु भनेको कोर बैंकिङ प्रणाली हो। अहिले नेपालको बैंकिङ क्षेत्रमा मुख्यरुपमा फिनाकल, टेमनस, आइफेलेक्स जस्ता विदेशबाट आयात गरिएका सफ्टवेयरहरू प्रयोगमा रहेको भएपनि धेरै बैंकहरूले नेपालमा बनेको पुमोरी सफ्टवेयर प्रयोगमा ल्याई आफ्ना सेवा तथा सुविधाहरू प्रवाह गर्दै आएका छन्।

    बैंकिङ क्षेत्र प्रतिष्पर्धी हुदै गएको सन्दर्भमा प्रविधिमा आधारीत सेवाहरूको प्रवाह बढ्दै गएको छ। केन्द्रीय बैंकले समेत भर्चुअल बैंकिङ कारोबारलाई बढाउन प्रर्वद्धन गरी बैंकिङ सेवालाई छिटो छरितो, हरेक स्थानमा बैंकिङ पहुँच, नोटमा हुने फोहोरको समस्याबाट छुटकारा आदिको लागि नगदमा आधारीत कारोबारलाई घटाउदै जाने रणनीति लिएको देखिन्छ। 

    बैंक तथा वित्तीय संस्थाको मुटु भनेको कोर बैंकिङ प्रणाली हो। अहिले नेपालको बैंकिङ क्षेत्रमा मुख्यरुपमा फिनाकल, टेमनस, आइफेलेक्स जस्ता विदेशबाट आयात गरिएका सफ्टवेयरहरू प्रयोगमा रहेको भएपनि धेरै बैंकहरूले नेपालमा बनेको पुमोरी सफ्टवेयर प्रयोगमा ल्याई आफ्ना सेवा तथा सुविधाहरू प्रवाह गर्दै आएका छन्।

    सामान्यतयाः बैंकिङ सफ्टवेयरहरू दश–पन्ध्र हजार देखि करोडौं रुपैयाँ सम्म रहेको पर्ने देखिन्छ। विश्वमै पछिल्लो समय विभिन्न स्थानबाट बैंकिङ सफ्टवेयरहरू ह्याक गर्ने, सिस्टममा रहेको पैसा चोर्ने, सुचना लैजाने, डाटा नोक्सान गराउने जस्ता समस्याहरू बढ्दै गएको विभिन्न अध्ययनहरूबाट देखिन्छ।

    त्यो कालो दिन

    नेपालको बैंकिङ इतिहासमा वि.सं.२०७६ साल भाद्र १४ गते शनिबारलाई कालो दिन मानिन्छ। जुन दिन चिनियाँ आठ जना ह्याकरहरूले नेपालका विभिन्न बैंकका एटिएम मेसिनहरूबाट गैरकानुनी रुपमा रकम निकालेका छन्। नक्कली भिसा कार्ड प्रयोग गरी नेपालबाट एक करोड ६८ लाख र भारतबाट  एक करोड ७६ लाख गरी जम्मा ३ करोड ४४ लाख रकम निकालेको पुष्टि भइसकेको छ। केन्द्रीय बैंकले एटिएम ह्याकिङ्ग प्रकरणमा छानविन गर्न कार्यकारी निर्देशकको संयोजकत्वमा एक समिति गठन गरी सुझाव समेत लिएको छ।

    हालसम्म बाहिर ल्याईएको जानकारी अनुसार (भारत र नेपालबाट गरी) प्रभु बैंकबाट दुई करोड ४५ लाख, ग्लोबल आइएमइ बैंकबाट ४६ लाख, सनराइज बैंकबाट २५ लाख, माछापुच्छ्रे बैंकबाट २१ लाख, एनआइसी एशियाबाट १७ लाख, सिटिजनबाट ३ लाख ४५ हजार र जनता बैंकबाट दुई लाख रकम निकालेको जानकारी भएको छ।

    बैंकिङ क्षेत्रमा सञ्चालन प्रकृतिको जोखिमको प्रभाव, दबाब र असर धेरै भएको हुँदा यसअन्तर्गत पर्ने प्रविधि र जनशक्ति जोखिमसँग सम्बन्धीत तत्वहरूको नियमित अनुगमन, सुपरिवेक्षण र निगरानी आवश्यक छ।यसप्रकारको संचालन जोखिमको पहिचान गरे पश्चात केन्द्रीय बैंकले निर्देशन सहितको परिपत्र जारी गरेसँगै नेपाली बैंकका एटिएमबाट अब एक पटकमा २० हजार रुपैयाँ मात्र निकाल्न सकिने र एकदिनमा एक व्यक्तिले ६० हजार भन्दा बढि रकम निकाल्न नपाउने व्यवस्था गरेको छ। नेपालका बैंकहरूले एकै कार्डमा चिप र म्याग्नेटिक स्ट्राइप दुवै प्रविधिमा आधारीत एटिएम प्रयोगमा ल्याएका छन्।

    बैंकिङ क्षेत्रमा सुरक्षाका दृष्टिले म्याग्नेटिक स्ट्राइप कार्ड (एटिएम कार्डको पछाडिको कालो रिबन) तुलनात्मक रुपमा सुरक्षित मान्न सकिदैन। सोहिपक्षलाई मध्यनजर गर्दै बैंकर्स एशोसिएसन पनि म्याग्नेटिक स्ट्राइपको सुविधा हटाउने विषयमा सहमती नजिक पुगेको देखिन्छ। त्यसैगरी नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) का सदस्य रहेका बैंकहरूले एउटाको कार्ड अर्काे बैंकको एटिएम मेशिनमा नचल्ने व्यवस्था पनि मिलाएका छन्।

    हाइटेक चुनौती

    चिनियाँ ह्याकरहरूले एटिएमबाट रकम झिक्ने क्रममा सुचना अपरेटको लागि चिनियाँ सामाजिक सञ्जाल वी च्याटको समेत प्रयोग गरी एटिएम बुथको लोकेसन, नेटवर्क ह्याक गर्न मिल्ने कोड नम्बर प्राप्त गरी सो कोर्ड हानि एटिएम भित्रको सबै रकम निकालेको देखिन्छ। ह्याकरहरूले ल्यापटप, मोवाईल, विभिन्न डिभाइसहरूको प्रयोग गरी वी च्याटमार्फत उनीहरूले आदेश प्राप्त गरी बैकिङ् क्षेत्रका विभिन्न बैंकबाट रकम लुटेका छन्।

    यसरी हाइटेकमा आएको यसप्रकारको ठूलो चुनौति नेपालको बैकिङ् इतिहासमा पहिलो हो। पछिल्लो समयमा साइबर क्राइम वा सिस्टम ह्याकिङ्ग गर्ने क्रम विश्वमै बढ्दै गएको छ। ह्याकरहरूले भारत, हङकङ, बेलायत, अमेरीका, माल्टा लगायत विभिन्न देशहरूमा थुप्रै घटनाहरू संसारभरी गराईरहेका छन्। इन्टरनेटमार्फत हुने यसप्रकारका अपराधहरूमा अन्तराष्ट्रिय समूहको संलग्नता हुने भएकोले यस्ता अपराधिलाई कानुनको दायरामा ल्याउन पनि कठिन छ।

    फरकफरक तरिकाले बारम्बार हुने यसप्रकारका संचालन प्रकृतिका घटनाहरूबाट प्रविधि वा साइवर सुरक्षामा चुनौति थपिएको छ। नेपालका एटिएम प्रयोगकर्ताले आफनो कार्डलाई सुरक्षित बनाउन सचेतता अपनाउन जरुरी छ।

    साना साना गल्तिका कारण आफ्नो पैसा एकै छिनमा हराउन सक्छ तसर्थ स्वयम् एटिएम प्रयोगकर्ताले आफनो एटिएम प्रयोग गर्दा पिन नम्बर कतै नलेख्ने, परिवर्तन गरिएको पिन नम्बर बैंक कर्मचारीलाई पनि नदिने, कार्ड छिराउनु भन्दा पहिला दुई पटक क्यान्सिल वटम चिच्ने, आफनो दस्तखत गर्ने ठाँउमा खाली नराख्ने, धेरै एटिएम भएमा फरक फरक पिन नम्बर राख्ने, बैंकले दिएको पिन नम्बर परिवर्तन गर्ने, एटिएम कार्ड सुरक्षित राख्ने, पिन नम्बर सेट गरेपछि ओठ चलाएर नभै मनले पढने, मिनि स्टेटमेन्ड (स्लिप) च्यातिदिने जस्ता स–साना कुरामा सचेतता अपनाउनु पर्दछ।

    प्रविधिको दुरुपयोग

    अहिले बैकिङ प्रणालीमा प्रविधिको दुरुपयोग गरी, कर्मचारीसँग मिली, आन्तरिक र बाह्य कमि कमजोरीका कारण स्वदेशी वा विदेशी ह्याकरहरूले एटिएम, मोवाइल बैकिङ्, इन्टरनेट बैकिङ्, बैकिङ् कार्ड लगायतबाट बैकिङ् क्षेत्रको प्रविधिलाई ह्याक गरी पैसा निकाल्ने प्रवृत्ति बढिरहेकोले एटिएम लगायत बैंकिङ कारोबार गर्दा प्रयोगकर्ता वा ग्राहक पनि सावधानी हुन आवश्यक छ।

    बैकिङ्ग सेवा, पेशा तथा व्यवसाय अर्थतन्त्रका लागि आर्थिक कृयाकलाप बढाउने एक प्रमुख औजार हो। बैकिङ्ग सेवामा सबैको चाहना र आवश्यकता नै आधुनिक सेवा र सुविधा सहितको अपेक्षा भएपनि सो बमोजिम सेवा उपलब्ध गराउने वातावरणको लागि एटिएमको लोकेशन र संचालनलाई गुणस्तरीय सफटवेयर, सिष्टम

    तथा आईटी अडिट, उपयुक्त स्थानमा सिसि क्यामरा, लाइट वा बत्तिको व्यवस्थापन, पिनकोडको सुरक्षा, कर्मचारी व्यवस्थापन, एसएमएस तथा सुचना प्रणालीको प्रभावकारीता, सुरक्षा गार्डको उचित प्रबन्ध, नियमित अनुगमन, एटिएममा आउने जाने मानिसको निगरानी जस्ता पक्षमा सचेत रहन जरुरी छ।

    बैंकिङ क्षेत्रका ग्राहकको हित तथा सुरक्षा गर्न, सेवा तथा शुल्कलाई पारदर्शी बनाउन, ग्राहक–मैत्री बैकिङ् प्रणालीको विकास गर्न, सर्व साधारणमा बैंकिङ पहुँच विस्तार गर्न, वित्तीय उपकरणको प्रयोगलाई प्रभावकारी बनाउन, विश्वासनियता कायम राख्न सक्नु पर्दछ। त्यसैले बैंक तथा वित्तीय संस्था र तिनका शाखामा एटिएमको संचालनमा सचेतता अपनाउदै विविध चुनौति र संचालन जोखिमको पहिचानसँगै व्यवस्थापन गर्नु पर्दछ।

    प्रविधिले बैंकिङ क्षेत्रमा अवसरसँगै चुनौतिहरू थपिदिएको हुँदा सोको ज्ञान र जानकारी केन्द्रीय बैंक, बैंक तथा वित्तीय संस्था, ग्राहक लगायत सरोकारवालामा हुन जरुरी छ। बैंकिङ क्षेत्र चौविसै घण्टा संचालन हुने व्यवसाय भएकोले बैंकिङ बजारका हरेक कारोबारमा संचालन प्रकृतिको जोखिम अन्तरनिहित हुने संभावना हुन्छ।

    तसर्थ संचालन जोखिमको पहिचान, मापन, मूल्यांकन, अनुगमन, नियन्त्रण र व्यवस्थापन गरी उच्च प्रविधि तथा प्रणालीको ह्याकिङ्गबाट पर्न सक्ने हाईटेक बैकिङ् फ्रडको बहुआयमिक प्रभावलाई घटाउँदै अन्य मुलुकबाट पनि बैकिङ् ह्याकिङ्ग गरी नेपाली बैंकबाट पैसा निकाल्न सक्ने संभावना देखिएकोले सोप्रति सतर्कता र चनाखो हुनु आजको आवश्यकता हो।

डा. सुरज टण्डन

टण्डन वित्तीय क्षेत्रका विश्लेषक हुन्। उनी कृषि विकास बैंकमा कार्यरत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]