|

मुगु : गाउँगाउँमा पुगेर घरदैलो अभियानमा जुटेका छायानाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीसँग स्थानीयले गुनासाका चांग लगाएका छन्। निर्वाचन भएको दुई वर्षपछि छायानाथ रारा नगरपालिकाका प्रमुखसहितको जनप्रतिनिधिको टोली गाउँगाउँमा पुगेर जनताका समस्याबारे जानकारी लिन थालेका हो।

घरदैलो अभियानका क्रममा मालिका आधारभूत विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर शाहीले विद्यालयको भवन जीर्ण भएको कक्षाकोठासमेत अभाव हुँदा पठनपाठनमा समस्या आएको मेयरसँग गुनासो गरे।

नगरपालिका-१३ को  लह गाउँकी ६० वर्षीया पञ्चशिला रोकायाले पनि नगरप्रमुख हरिजंग शाही गाउँमा पुग्दा दुई हात जोडेर भनिन्, 'मेयर साब हाम्मा गाउँकी महिलाकन दाउरा लयाउन्या बाटो जात्ती भेई लाग्न्या छ, बाटो बनाई दियाले राम्मो हुन्या छियो। (हाम्रा गाउँका महिलालाई धेरै दुःख छन्। दाउरा ल्याउन वनमा जाने बाटो निकै डर लाग्दो छ। बाटो बनाइदिएको भए राम्रो हुने थियो।)' 

रोकायाजस्तै रुगा गाउँका स्थानीय बलबहादुर बुढथापाले लामो समयदेखि स्थानीयले नदीको पानी खाइरहेको, स्वास्थ्य चौकी गाउँमा नरहेको, गाउँमा सडक पुगे पनि नदीमा पुल नबन्दा आवतजावतमा समस्या रहेको, सिँचाइ तटबन्दको उतिकै आवश्यक रहेको गुनासो गरे।

उता, वडा नं. १३ कै थार्प गाउँका स्थानीयको पनि उस्तै गुनासो छ। उनीहरूले स्वास्थ्य चौकीका लागि जग्गा उपलब्ध गराइसकिएकाले भवन छिटो बनाउन माग गरे भने गाउँमा रहेको फेज नेपाल नामक गैरसरकारी संस्थाद्वारा सञ्चालित स्वास्थ्य क्लिनिकबाट प्रसुति सेवा सञ्चालन गर्न दिनुपर्ने माग राखे।

तिर्प, लह र लापु गाउँका स्थानीयले आफ्नो वनजंगल नभएकाले काठदाउराको समस्या रहेको, लेक र मसानघाट जाने बाटो नभएकाले बाटो निर्माण गरि दिनुपर्ने, विद्यालयमा भवन अभाव, घेरबार नभएको, गाउँमा घट्ट नहुँदा समस्या रहेकाले मिलको व्यवस्था गरिदिन पनि नगर प्रमुख शाहीसँग अनुरोध गरे।

निर्वाचित भएलगत्तै स्थानीय निकायले पूर्णता पाएको र नयाँ संरचनाअनुसार काम गर्दा केही कठिन भएको तथा गाउँगाउँमा विकास निर्माणका योजना सञ्चालन भए पनि सबै गाउँ बस्तीमा पुग्न नसकेपछि स्थानीय जनताको गुनासो बढेको थियो। उक्त गुनासोको वास्तविकता बुझ्न नगर प्रमुख नै गाउँगाउँमा घरदैलो अभियान लिएर पुगेको छायानाथ रारा नगरपालिकाले जनाएको छ।

गाउँमा सञ्चालित योजना सम्पन्न गर्दा नगरका कर्मचारी र जनप्रतिनिधिले दुःख दिए/नदिएको, सम्झौताअनुसारको रकम पाए नपाएको विषयमा पनि जानकारी लिएको र योजनालाई दीर्घकालीन बनाउन पनि सुझाव पाएको शाहीले बताए।

'एकै पटक नगरपालिकाका सबै गाउँमा पुग्न सकिँदैन। समय मिल्नासाथ कुनै न कुनै बस्तीमा पुगेर जनताका दुःख-सुख बुझ्ने गरेको छु' नगर प्रमुख शाही भने।

घरदैलोका क्रममा नगरप्रमुख शाहीले समस्यालाई एकै साथ समाधान गर्न नसकिने बताउँदै क्रमिक रूपमा समस्या समाधान गर्ने बताए। उनले स्थानीयलाई धैर्य गर्न अनुरोध गर्दै समयसमयमा यसरी नै गाउँमा घरदैलो गर्न आइरहने प्रतिबद्धता जनाए।

गाउँगाउँमा पुगेर नगर प्रमुखले नगरबाट सञ्चालित योजना तथा कार्यक्रमको प्रभावकारिताका बारे जानकारी लिने, योजनाको अनुगमन गर्ने, स्थानीयका गुनासा र सुझाव लिने काम गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललितजंग मल्लले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.