|

पर्वत : छिमेकी जिल्ला कास्कीमा डेंगुको सङ्क्रमण फैलिँदै गएपछि पर्वत जिल्लामा पनि डेंगुको सङ्क्रमण हुन नदिनको लागि उच्च सतर्कता अपनाइएको छ।

पर्वत सदरमुकाम कुस्माबाट बसको यात्रामा झन्डै २ घण्टामा पोखरा पुग्न सकिने छोटो दूरी भएकोले रोगको सङ्क्रमण हुन सक्ने जोखिम पनि उत्तिकै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला अस्पताल पर्वतले संयुक्त रूपमा कार्य योजनासमेत तयार पारेका छन्।

प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालका अनुसार जिल्लामा डेंगुको लक्षण देखा परेका व्यक्ति भेटिएमा तुरुन्त उपचारमा लैजानुको साथै जनचेतना मार्पmत लामखुट्टे रहन सक्ने ठाउँलाई सरसफाइ गरेर लामखुट्टेका लागि उपयुक्त वातावरण हुन नदिने गरिएको छ।

डेंगुको सङ्क्रमणबाट बच्न लामखुट्टेबाट जोगिनुपर्ने भएकोले जनचेतनाका कार्यक्रमहरू पनि सोही अनुसार सञ्चालन गरिएको जिल्ला अस्पताल पर्वतका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले बताए।

‘प्रशासन र हामी मिलेर संयुक्त रूपमा कार्य योजना तयार पारेका छौँ।’ उनले भने, ‘योजना रहेर लामखुट्टेको टोकाइबाट सुरक्षित रहने तरिकाका बारेमा सार्वजनिक रूपमा सूचनाहरू प्रवाह गरेका छौँ। डेंगु र यसको असरको बारेमा सञ्चारमाध्यममा सूचना प्रसारण गरेका छौँ। दैनिक रूपमा रेकर्ड तथा प्रतिवेदन तयार गर्नुका साथै अनुगमन टिम समेत परिचालन भएको छ।’

जिल्ला अस्पताल पर्वतमा स्वास्थ्य परीक्षण गर्न आएका कोहीमा पनि हालसम्म डेंगुको सङ्क्रमण रहेको नपाइएको भए पनि छिमेकी जिल्ला कास्कीमा सङ्क्रमण फैलिएकाले पर्वत पनि उच्च जोखिममा रहने र जनघनत्व बढी भएको ठाउँमा यसले छिट्टै महामारीको रूप लिने चिकित्सकको भनाई छ। अस्पताल स्रोतका अनुसार पर्वतका दुई जनामा डेंगुको सङ्क्रमण देखिएको छ। 

छिमेकी जिल्ला बागलुङमा समेत डेंगुका बिरामी फेला परेपछि साबिकको धौलागिरी अञ्चलका जिल्लाहरूमा पनि उच्च सतर्कता अपनाउँदै गत सोमबारबाट सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएका हुन्। पर्वत सहित बागलुङ र म्याग्दी जिल्ला सिधै राष्ट्रिय राजमार्गसँग जोडिएका कारण सङ्क्रमण हुन सक्ने सम्भावना उच्च रहेको सरोकारवालाहरूको भनाई छ।

प्रयोग नहुने गरी घर बाहिर फालिएका पुराना टायरहरूमा जम्मा भएको पानीमा लामखुट्टेले बढी मात्रामा फुल पार्ने भएकोले आफ्ना घर वरपर त्यस्ता खालका टायरहरू नराख्न अनुरोध गरिएको डा. देवकोटाले बताए।

उनका अनुसार लामखुट्टेले दिउँसोको समयमा टोकेमा डेंगु लाग्ने सम्भावना बढी हुने भएकाले शरीरका सबै अङ्ग ढाक्ने गरी कपडा लगाउनुलाई डेंगु नियन्त्रणको एउटा उपायका रूपमा लिने गरिएको छ। त्यसबाहेक घर वरपर रहेका पुराना, गमला, खाली बट्टा,

खाल्डाखुल्डीहरू पुरेर पानी जम्ने सम्भावित ठाउँहरू हटाउने, बिहान र बेलुकाको समयमा पुरै शरीर ढाक्ने गरी कपडा लगाउने, घर आसपासमा रहेको झाडी तथा फोहोर हटाएर वातावरणीय सरसफाइमा ध्यान दिने, लामखुट्टे नाशक औषधि ‘ओडोसोम’ को प्रयोग गर्ने लगायतका उपाय अपनाउन सकिन्छ। डेंगुबाट कोही पनि प्रभावित हुन नपरोस् र भैहालेमा पनि तुरुन्तै परीक्षण गरेर त्यसबाट मुक्ति पाउन जिल्ला अस्पतालले सबैलाई सतर्क रहन अनुरोध गरेको छ।

मेडिकल सुपरीटेन्डेण्ड डा. देवकोटाका अनुसार पर्वत जिल्लमा बिहीबार मात्र पोखराबाट रगतमा डेंगुको संक्रमण छ वा छैन? भनी पत्ता लगाउने किट ल्याइएको छ। यसअगाडिसम्म नमूनाका रुपमा लिइएको रगतलाई पोखरा पठाएर संक्रमण भए/नभएको पत्ता लगाउने गरिएकोमा बिहीबार बिहानबाट जिल्ला अस्पतालमा नै परीक्षण प्रारम्भ गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.