थाहा संवाद : स्थानीय सरकार

विकासको आधार भनेकै ‘उज्यालो घर, अन्‍नपूर्णको भर’

जनतालाई प्रक्रिया होइन परिणाम चाहिएको छ

भदौ २६, २०७६

    म्याग्दी : डमबहादुर पुन १४ वर्षकै उमेरमा भारतीय सेनामा भर्ती भए। पौडी खेलमा पोख्त पुन भारतीय सेनामा कार्यरत रहँदा सार्कस्तरीय प्रतियोगितामा भारतलाई दुईपटकसम्म स्वर्ण दिलाए। सेनाको जागिरबाट अवकाश लिएपछि उनी म्याग्दीको घोरेपानीमा पर्यटन व्यवसायीको सक्रिय रहे। घोरेपानी होटल व्यवसायी संघका अध्यक्ष भएर पर्यटनको क्षेत्रमा सुधारका कार्य गर्दै आएका पुन पछिल्लो ६ वर्षदेखि राजनीतिमा पनि सक्रिय बन्दै गए।

    दुई वर्षअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा अन्नपूर्ण गाउँपालिकाको प्रमुखमा चुनिएका डमबहादुर पुनसँग दुई वर्षमा गरेका कार्य, आगामी योजनाबारे थाहा खबरका लागि म्याग्दी संवाददाता ध्रुवसागर शर्माले गरेको कुराकानीको अंश :

    गाउँपालिकाको विकासका लागि कुन कुन क्षेत्रमा प्राथमिकता दिनुभएको छ?

    अन्नपूर्ण गाउँपालिका प्राकृतिक सौन्दर्यता, पर्यटन र जलविद्युतका सम्भावनाका कारणले भाग्यमानी गाउँपालिका हो। म गाउँपालिकाको प्रमुख भएर आउने बेलामा नै भनेको थिएँ मेरो पहिलो प्राथमिकता पर्यटन विकासमा हुन्छ भनेर। त्यसको लागि पर्यटनको सम्भावना बोकेको ठाउँसम्म यातायातको सुविधा पहिलो कुरा हो।

    त्यसैले हामीले विगत दुई वर्षमा पर्यटन, शिक्षा, स्वास्थ्य, र कृषिमा लगानी गरेका छौँ। हामीले यो वर्षका लागि प्राथमिकतामा राखेको योजना भनेको प्रत्येक वडा कार्यालयसम्म दुई लेनको सडक पुर्‍याउने हो।

    त्यसको लागि काम भइरहेको छ। अन्नपूर्ण गाउँपालिका एउटा पर्यटनको सम्भावना बोकेको गाउँपालिको हो, यहाँ भएको पर्यटकीयस्थलहरूको प्रचार–प्रसारमा विशेष ध्यान दिएका छौँ। र, विकास निमार्णमा हुने अनियमिता रोक्न र वातावरण संरक्षणका योजना अघि सारेर काम गरेका छौँ।

    चुनावताका जनतासँग गरेका वाचा कति पूरा गर्नुभयो त?

    चुनावको बेला म गाउँगाउँमा पुग्दा सडक, आमा समूहका भवन, युवाको लागि खेल मैदान निर्माण र अन्नपूर्ण गाउँपालिकालाई एउटा पर्यटकीय गाउँपालिकाको रूपमा चिनाउने मेरा चुनावका एजेण्डा थिए। ती एजेण्डामध्ये धेरै कुराहरू पूरा हुँदै गएका छन्। वार्षिक ३० हजारभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटकहरू यस गाउँपालिकामा आउँछन्।

    समग्रमा भन्ने हो भने ७० प्रतिशत चुनावी प्रतिबद्धता पूरा गरेको छु। मैले जनतासँग गरेका बाचा मेरो कार्यकालसम्म जुन हालतमा पनि सम्पन गर्नेछु। हिस्तानको पुलदेखि नागीसम्मको सडक थियो। हामीले त्यो सडकलाई नमुना सडक बनाउन लागेका छौँ।

    दुई वर्षमा गाउँपालिकामा देखिने गरी के के काम गर्नुभयो?

    पर्यटन, शिक्षा र भौतिक निर्माणमा महत्वपूर्ण कामहरू भएका छन्। सामाजिक विकास र कृषिको क्षेत्रमा पनि कामहरू हुँदै छन्। सबैभन्दा पहिला मैले शिक्षालाई पहिलो प्रथमिकता दिएर काम गरिरहेको छु। हाम्रो गाउँपालिकामा भएका सरकारी विद्यालयले गुस्तणतरीय शिक्षा दिनुपर्छ।

    सामुदायिक विद्यालयलाई पनि संस्थागत विद्यालय जस्तै बनाउन सकिन्छ। त्यसको न्यूनतम कार्य सुरु गरेका छौँ, त्यो भनेको गाउँपालिकाको बैठकले नर्सरीदेखि कक्षा आठसम्म अंग्रेजी माध्यमबाट पठाइ सुरु गरेका छौँ। यसले हाम्रो शिक्षा प्रतिस्‍पर्धी  हुन्छ, विद्यार्थीमा नयाँपनको महसुस भएको छ।

    गाउँपालिकाको यो निर्णयले अभिभावक उत्साहित भएका छन् भने शिक्षकहरू पनि अब बढी मिहिनेत गर्नुपर्छ भन्नेतर्फ लागेका छन्। यो वर्षमा मैले शिक्षामा केही नयाँ सुरुवात गरेको छु, यसको नतिजा वर्षौंसम्म हाम्रो पुस्ताले पाउँदै जानेछ। त्यसैगरी यातायातको क्षेत्रमा पनि महत्वपूर्ण काम भएका छन्। अब घोडेपानीमा मोटर चढेर नै जान पाइने भएको छ।

    लामो समय भारतीय सेनामा काम गर्नुभयो। सैनिकको जागिर र गाउँपालिका प्रमुखमा के फरक पाउनुभयो?

    धेरै फरक छ। म पहिला पनि भारतमा हुँदा पनि चुनावको बेलामा आउँथे अनि भोट हालेर जान्थेँ। यहाँ भौगोलिक हिसाबले विकट भएका कारणले पनि विकास निमाण कार्य नभएको भन्ने लाग्ने गथ्र्यो, जब मैले बुझ्दै गएँ, विकास निमाणमा हुने अनियमितताले गर्दा कुनै काम नहुने रहेछ।

    त्यो रोक्नलाई पनि म राजनीतिमा आएको हुँ। तर मेरो सैनिक जीवनभन्दा यो राजनीतिक जीवन धर्ती–आकाशको फरक छ। सैनिकमा जुन कुरा पनि प्रक्रियामा हुन्छ। कुनै कुरामा पनि अल्झिनुपर्दैन तर राजनीति र कर्मचारी प्रशासन धेरै झन्झटिलो छ।

    राजनीतिक लुछाचुँडीले गर्दा पनि हाम्रोमा विकास निर्माण कार्य भने जस्तो हुन नसकेको भन्ने लाग्छ। विगतमा यहाँ स्थिर सरकार थिएन, अब केही गर्न सकिन्छ भन्ने वातावरण बन्दै गएको जस्तो छ।

    म राजनीतिमा जे सोचेर आएको थिएँ त्योअनुरूप काम गर्न पाएको छैन। मैले पर्यटन व्यवसायी र सैनिक जीवन बिताइसकेको छु। कहिलेकाँही लाग्छ म राजनीतिमा आएर गल्ती गरेछु, किनकि मैले मेरो तरिकाले काम गर्न खोज्छु तर यहाँको प्रक्रिया र नियमले दिँदैन। जनतालाई प्रक्रिया होइन परिणाम चाहिएको छ।

    गाउँपालिकामा अबका योजनाहरू केके छन्?

    पर्यटन र शिक्षाको क्षेत्रमा विगतका दुई वर्षमा केही काम भएका छन्। भएका ती कामहरूलाई व्यवस्थित र अझ उपयोगी बनाउनुका साथै अबको योजना भएको स्वास्थ्यमा सुधार ल्याउने खालका योजनाहरू ल्याउनुका साथै भएका पूर्वाधारहरूको स्तरोन्नति गर्नु हो। त्यसैले मैले प्रत्येक वडा कार्यालयमा स्वास्थ्य चौकी निर्माण गर्ने र वडामा भएका बिरामी स्वास्थ्य चौकीमार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने भन्ने हो।

    अकालमा सर्वसाधारणको ज्यान जानबाट कसरी बचाउन सकिन्छ भनेर सोच बनाइरहेका छौँ। यसका लागि गुणस्तरीय स्वास्थ्य संस्था र जनशक्तिको आवश्यकता पर्छ। हामीले हरेक स्वास्थ्य संस्थामा विशेषज्ञ डाक्टरहरू राख्ने सोचमा छौँ। अहिले भएका स्वास्थ्य चौकीहरूमा पनि औषधिहरूको अभाव देखिन्छ, त्यस्ता समस्या समाधान गर्दै जाने हो।

    हामीले गाउँपालिकाबाट हरेक वडामा गर्भवती र सुत्केरी महिलाका लागि २/२ लाख रुपैयाँको आकस्मिक कोष बनाएका छौँ। त्यसबाट मातृशिशु मृत्युदर हटाउने योजना हो। अर्को कुरा भनेको पर्यटन नै हो।

    हाम्रो गाउँपालिकामा विश्वकै गहिरो अन्धगल्छी, रुप्से झरना, घोरेपानी पुनहिल जस्ता विश्वमै चर्चित पर्यटकीय गन्तव्य छन्। यी ठाउँहरूमा अहिले वार्षिक ३० हजारभन्दा बढी पर्यटक आउने गरेको तथ्यांक नै छ।

    अझै यी ठाउँहरूको प्रचारप्रसार गरी आवश्यक पूर्वाधार निमाण गर्ने र पर्यटकको आगमन बढाउने र बस्ने दिन पनि कसरी बढाउन सकिन्छ? भन्नेतर्फ लागेका छौँ। पर्यटन भनेको नगद दिएर नगदै लिने क्षेत्र हो। हामीले जति पर्यटक ल्याउन सक्छौँ, उति नै हाम्रो गाउँपालिकाको आर्थिक वृद्धि गर्न सक्छौँ।

    कार्यकाल सकिने बेलामा मैले यी यी काम गरेँ भन्न सक्ने आधारहरू के-के छन्?

    मेरो कार्यकालसम्ममा नै विश्वमा चर्चित पर्यटकीयस्थल घोरेपानी– पुनहिलमा एउटा चिडियाखाना र गार्डेन बनाउने सोचेको छु। त्यो मेरो कार्यकालमा नै सम्पन्न हुने गरी काम गर्ने सोचेको छु। त्यसका साथै चैत वैशाख सिजनमा यो क्षेत्र लालीगुराँसले ढपक्कै छोपिन्छ।

    लालीगुराँसको जंगललाई संरक्षण गर्ने र त्यसलाई अझै विश्वव्यापी बनाउने अर्को योजना छ। पछि मैले राजनीति गरौँला या नगरौला तर अन्नपूर्ण गाउँपालिको मुहार फेरिने गरी कार्यहरूको सुरुवात गर्छु भनेको छु।

    भौगोलिक बनोटका कारणले गर्दा दुर्गम गाउँका जनता बिरामी भए भने अस्पतालसम्म ल्याउन ४/५ घण्टा लाग्छ। त्यसले कतिको बाटोमा नै मृत्यु हुने सम्भावना हुन्छ।

    त्यसैले गाउँपालिकामा स्वास्थ्य चौकीहरूको स्तरोन्नतिसँगै एउटा ठूलो अस्पताल खोलेर गाउँपालिका गरिब जनताको गुणस्तर उपचार गर्ने सोच बनाएका छु। अस्पताल बनाएपछि छिमेकी जिल्ला मुस्ताङका जनतासम्म यहाँ आएर सेवा लिने गरी अस्पताल स्थापना गर्ने छौँ।

    कृषि क्षेत्रमा केकस्ता योजना बनाउनु भएको छ?

    हो, हाम्रो गाउँपालिकामा अरूभन्दा आलु खेती निकै राम्रो हुन्छ त्यसलाई अझै व्यवस्थित गर्दै लाने सोचेको छु। किसानलाई अब गाउँपालिकाले अनुदानको व्यवस्था गरेर भए पनि कृषकको संख्या वृद्धि गरिनेछ। त्यसका लागि गाउँपालिकाको कार्यपालिकाले निर्णय पनि गरेको छ।

    यहाँ होटलहरू धेरै भएको कारणले पनि यहाँ तरकारी खेती गर्ने किसानको संख्या वृद्धि गर्नुछ। आलु खेती गर्नका लागि आलुको राम्रो बीउ आवश्यक पर्ने भएकाले त्यसको लागी एउटा कोल्डस्टोर निर्माण गर्ने योजना बनाएका छौँ।

    अन्नपूर्ण गाउँपालिकामा धेरै जलविद्युत योजना छन्। कति योजना निर्माणधीन अवस्थामा छन् भने कतिपय निर्माण हुने क्रममा छन्। जलविद्युत् क्षेत्रको विकासका लागि के योजना बनाउनुभएको छ?

    म्याग्दी जिल्लाको अरू स्थानीय तहभन्दा हाम्रो गाउँपालिकामा बढी जलविद्युतका योजना छन्। ४२ मेगावाटको मिस्त्रीखोला, ६५ मेगावाटको उपल्लो मिस्त्रीखोला निलगिरी, ३७ मेगावाटको म्याग्दीकाली, १४ मेगावाटको घारखोला, ५ मेगावाटको घलेम्दीखोला, ६ मेगावाटको रेलेखोला र ५३.३ मेगावाटको मध्यकालीगण्डकी

    जलविद्युत् आयोजनाहरू निर्माण हुँदैछन्। यी आयोजना सम्पन्न भएपछि यिनीहरूलाई नेपाल सरकारको करको दायरामा ल्याएर गाउँपालिका कर संकलन गर्ने हो भने यहाँको आर्थिक विकास, भौतिक विकास निमार्णका कामहरू धेरै हुनेछन्।

    जलविद्युतमा स्थानीयको लागानीको वातावरण सिर्जना गरी लगानी गर्न सकेपछि यहाँका जनताको आर्थिक विकास हुन समय लाग्दैन। हामीले पहिलो गाउँसभामार्फत ‘उज्यालो घर अन्नपूर्णको भर’ भन्ने नाराअन्तर्गत यहाँका जलविद्युतको निर्माणमा सहयोगी बन्ने, आवश्यकता र सम्भाव्यता अध्ययन गरी लगानीसमेत गर्ने नीति पारित गरेका छौँ। गाउँपालिकालाई हामी हाइड्रो हब बनाएरै छाड्नेछौँ। त्यसका लागि निजी लगानीकर्ताहरूलाई आकर्षित पनि गर्नेछौँ।

    तपाईंले जनताका कामभन्दा आफ्नो पेसालाई बढी समय दिएको भन्ने गुनासो छ नि, के  भन्नुहुन्छ?

    मैले जनताको काम छोडेर आफ्नो पेसामा बढी समय दियो भन्नु सरासर गलत हो। म एउटा अवकाश प्राप्त सैनिक हुँ अरूको भन्दा काम गर्ने तरिका मेरो फरक छ, त्यो म मान्छु।

    मैले गाउँपालिकामा हुने सबै कामहरू प्रक्रिया पूरा गरेर गर्नुपर्छ भन्नेमा बढी जोड दिएको छु त्यसले एक दिनमा हुने कुनै काम प्रक्रिया पूरा नभएर दुई दिन लगाएको होला तर अहिलेसम्म गाउँपालिकामा सेवा लिन आएका एकजना पनि सेवा नलिई जानुपेरेको छैन। मेरो कार्यकालसम्म कुनै पनि पार्टीको होस् या अरू कसैले पनि एक पक्षीय हुन वातावरण आउन दिनेछैन।

ध्रुवसागर शर्मा

शर्मा थाहा खबरका म्याग्दी समाचारदाता हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]