|

इलाम : क्यान्सरको औषधीका लागि प्रयोग हुने लौठसल्लाको सरकारी स्तरबाट इलाममा व्यवसायिक खेती सुरु भएको छ। अन्तर्राष्ट्रिय बजारमा अत्यधिक माग रहेको लौठसल्लाको सरकारले पहिलोपटक व्यवसायिक रुपमै खेती सुरु गरेको हो।

क्यान्सर रोगीलाई दिइने औषधी ट्याक्सोल बनाउन लौठसल्लाको पात प्रशोधन गरी प्रयोग गरिन्छ। अन्तर्राष्ट्रिय बजारमा महङ्गो मूल्यमा बिक्री हुने लौठसल्ला वन तथा भू–संरक्षण मन्त्रालयले व्यवसायिक खेतीका लागि कार्यक्रम स्वीकृत गरी काम गर्न जिल्लामा बजेट पठाएको जिल्ला वन अधिकृत भरतबाबु श्रेष्ठले बताए।

सरकारले व्यवसायिक जडिबुटी खेती वृद्धि गर्न कार्यक्रम र बजेट दिएपछि इलाममा पकेट क्षेत्र नै छनौट गरी जडिबुटीको खेती सुरु गरिएको छ। समुन्द्र सतहको दुई हजार देखि तीन हजार मिटरसम्म खेती गर्न सकिने लौठसल्ला इलामको जोगमाई, माइमझुवा, माइपोखरी र पुवामझुवा गाविस पकेट क्षेत्र घोषणा गरिएको हो।

लौठसल्लाको व्यवसायिक खेतीका लागि चालु आर्थिक वर्षमा किसान, सामुदायीक तथा कवुलियती वन समूह, जडिबुटी उद्यमी र व्यवसायीलाई अनुदान प्रदान गर्ने कार्यक्रम छ। साइटिस अनुसुचि २ मा रहेको लौठसल्ला कच्चा पदार्थको रुपमा सोझै निकासी गर्न नपाइनाले नेपालमा सेमी प्रशोधन गरी अमेरिका र जर्मनी निकासी हुन्छ।

१८ वटा जडिबुटीको व्यवसायिक खेती गर्न सकिने इलाममा लौठसल्ला सँगै चिराइतोको पनि पकेट क्षेत्र घोषणा गरी व्यवसायिक खेती प्रवर्द्धन गरिने जिल्ला वन अधिकृतले श्रेष्ठले बताए। लौठसल्ला र चिराइतो प्रवर्द्धनका लागि भनेर चालु आर्थिक बर्षमा जिल्ला वन कार्यालयले ५० लाख रुपैयाँ विनियोजन गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.