कुलमानको घोषणा : ६ महिनापछि भारतबाट विजुली ल्याउँदैनौं

|

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार गरेको ऊर्जासम्बन्धी अन्तर्क्रियामा ऊर्जामन्त्री जनार्दन शर्मा र नेपाल विद्यूत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बोलाइएको थियो। कार्यक्रम सञ्चालकले घिसिङलाई आसन ग्रहण गराउने क्रममा नै भनिन् 'उज्यालो नेपालका अभियन्ता, नेपाल विद्युत प्राधिरकणका कार्यकारी निर्देशक।'

महासंघका अध्यक्ष पशुपति मुरारकाले पनि ऊर्जामन्त्रीको प्रशंसा गर्दै यसअघिका मन्त्रीहरुले धेरै बोल्ने तर काम कम गर्ने तर अहिलेका मन्त्रीले काम गरेर मात्रै बोल्न खोजेको बताए। 'उहाँ मन्त्री भएसँगै गत भदौमा हामीले उहाँलाई महासंघमा बोलाएका थियौ, तर त्यस बेलामा उहाँ केही बोल्नु भएन मात्रै काम गरेपछि बोल्छु भन्नुभयो, आज उहाँले केही गर्नु भएको छ, हामीले उहाँलाई निम्ताएका छौं। केही बोल्नु हुन्छ होला' अध्यक्ष मुरारकाले भने।

मन्त्री जनार्दन शर्माले आफ्नो सम्बोधनको क्रममा बोलेर गर्ने कि, गरेर बोल्ने भन्ने विषयमा भने 'मुरारकालेजीले भन्नुभयो पहिले आउदा बोल्नु भएको थिएन, त्यसबेला म केही बोलेको भने विल्ला हुने थिए होला, लोडसेडिङ अन्त्य गर्छु भनेको भए पत्याउनु पनि हुने थिएन बरु मलाइ कालो झण्डा देखाउन आउनु हुन्थ्यो होला, धेरै ठाउमा लोडसेडिङ अन्त्य भएको छ अब केही गर्छु भन्दा पनि तपाइहरुले पत्याउनु हुनेछ'।

उनले थपे 'अहिले गरेर मात्रै पनि हुने रहेनछ, गोरखामा लोडसेडिङ थिएन तर म त्यहाँ पुग्दा लोडसेडिङ अन्त्य हुनु पर्‍यो भन्ने  माग गरियो मैले मञ्चबाटै लोडसेडिङ अन्त्य भयो भनेँ सबैले ताली बजाए। पोखरा पुगेको लोडसेडिङ अन्त्यको माग गरियो मैले मञ्चबाटै अन्त्य भयो भने ताली बजाए जबकी गोरखा र पोखरामा यसअघि नै लोडसेडिङ अन्त्य भएको थियो' मन्त्री शर्माले भने।

कार्यक्रम समापनको क्रममा अध्यक्ष पशुपति मुरारकाले भने 'यो भन्दा अघिल्लो मिटिङमा लोडसेडिङ अन्त्य गर्ने भन्ने विषयमा कुरा गरिन्थ्यो आज कन्जम्सन कसरी बढाउने भन्ने विषयमा बहस गरिन लाग्यो यही हो उपलव्धी धन्यवाद ऊर्जामन्त्री धन्यवाद कुलमान घिसिङ।'

६ महिनापछि विद्युत आयत गरिदैन: घिसिङ

नेपाल विद्युत प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिलेनै उद्योग बाहेकका क्षेत्रमा आधारभुत रुपमा लोडसेडि अन्त्‍य भएको बताए। 'यो वर्ष सबै विद्युतगृह पूर्ण क्षमतामा सञ्चालन भएको र माग व्यवस्थापन गर्दा आधारभूत रुपमा लोडसेडिङ हटेको हो, भारतबाट आएको विद्युतको कारण मात्रै लोडसेडिङ अन्त्य भएको होइन' घिसिङले भने।

कालिगण्डकी, मध्यमर्स्याङ्दी र मर्स्याङ्दीलगायत सबै विद्युतगृह साँझमा ४ घण्टा पूर्ण क्षमतामा विद्युत उत्पादन भइरहेको विद्युत प्राधिरकणका उनले बताए।

घिसिङले वर्षायाममा भारतबाट विजुली आयत नै गर्नु नपर्ने समेत बताए। 'अबको छ महिनामा भारतबाट विजुली आयत गर्नु पर्दैन, ड्राइ सिजनमा मात्रै समस्या हो, वर्षामा हामीलाई समस्या छैन त्यो समयमा हामीले भारतबाट विजुली लिन पर्दैन, पुन ड्राइ सिजनमा उत्पादन घट्छ त्यो बेलासम्म केही उत्पादन पनि बृद्धि हुनेछ' घिसिङले भने।

औद्योगिक क्षेत्रमा दैनिक २० घण्टा निरन्तर रुपमा विजुलीआपूर्ति भइरहेको बताउँदै घिसिङले उद्योगीसँगको परामर्शमा बिहानको पनि केही समय विद्युत कटौती गरिने बताए। साँझको भन्दा बिहानको विजुलीमाग व्यवस्थापन गर्न गाह्रो हुँदै गएको भन्दै उनले बिहान उद्योग सञ्चालन नगर्न उद्योगीलाई आग्रह गरे। बिहान ५ देखि ९ वजेसम्म माग व्यवस्थापन गर्न प्राधिकरणलाई गाह्रो परेको उनले बताए ।

एक/डेढ वर्षमा मागेजति विद्युत : शर्मा

ऊर्जामन्त्री शर्माले उर्जाको मागको विषयमा खाका ल्याउनको लागि उद्योगीहरुलाई अग्रह गरेका छन्। 'तपाईहरु एक थरीले ऊर्जा नबिक्ने हो कि भन्ने चिन्ता गर्नुभएको छ, अर्काथरीले ऊर्जा नपुग्ने हो कि भन्ने चिन्ता गर्नु भएको छ दुबैको समधान हामीसँग छ' शर्माले भने। 'अबको एक डेढ वर्षमा तपाईंहरुले मागे जति विद्युत पुर्‍याउने जिम्मा हाम्रो हो, सके स्वदेशी उत्पादनले पुग्ने छ, भएन भने आवश्यक आयात गरौंला, तपाईहरुले मागे जति विद्युत दिन्छौं, ठूला उद्योगमा लगानी गर्नुस' उनले थपे।

शर्माले बजेटमा प्रतिवद्धता जनाए अनुसारका सबै सुविधा ऊर्जाउत्पादकले पाउने बताउदै विश्‍वास गरेर काम गर्न समेत आग्रह गरे।

उद्योगीले भने हामीले के गरौं?

ऊर्जामन्त्रालय र नेपाल विद्युत प्राधिरकणले गरेको कामको प्रशंसा गर्दै उद्योगी व्यवसायीले आफ्नो तर्फबाट आवश्‍यक सहयोग गर्ने बताए। 'हामी माग्नको लागि मात्रै होइन सहयोग गर्न पनि तयार छौं प्राधिरकणले गरेको कामबाट हामी धेरै लाभांवित छौं, हाम्रो व्यवसाय फस्टाएको छ, अब तपाईहरु भन्नुस् हामीले तपाइहरुलाई के सहयोग गर्न सक्छौं, कुन समय हामीले उद्योग नचलाउदा तपाइहरुलाइ सहयोग पुग्छ' अन्तक्रियामा सहभागी एक उद्योगीले भने।

'ट्रान्समिसन लाइन किन्नको लागि १३ अर्ब रुपैयाँ छुट्टाइएको थियो, तर अर्थमा फाइल रोकियो भन्ने सुनका छौं महासंघको तर्फबाट अर्थ मन्त्रालयमा धर्ना बस्नु पर्छ भने हामी बस्न तयार छौं' महासंघका सदस्य विप्लवमान सिंहले भने। यसको प्रति उत्तरमा ऊर्जामन्त्री शर्माले अर्थबाट ५ अर्ब लिइसकेको र अरु पनि लिने क्रममा भएको बताउदै धर्ना नभई उद्योग विकासमा लाग्न आग्रह गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • Good job energy minister Janardan Sharma and executive director Kulman Ghising. You both are gem of this country. Keep it up.