|

काठमाडौं : मंगलबार बेलुका करिब पौने पाँच बजे। राष्ट्रिय नाचघरको नाटक थियटरमा संस्कृतिविद् सत्यमोहन जोशीले लेखेको 'यज्ञबल्क्य' नाटक मञ्‍चन हुँदैथ्यो। रङ्गकर्मी विष्णुभक्त फुँयाल राजा जनकको भूमिका निर्वाह गरिरहेका थिए। पुस १७ गतेबाट शुरु भएको नाटक २१ गतेसम्मका लागि दिउँसो ३ बजेदेखि मञ्‍चन भइरहेको थियो। 

मंगलबार तेस्रो दिन निर्धारित समयको १५/२० मिनेट ढिलोगरी मात्र शुरु भयो। करिब सवा २ घण्टाको नाटक शुरु भएर सकिन करिब २५ मिनेट बाँकी थियो। नाटकमा राजा जनकको अन्तिम सिन मञ्‍चन गरिरहेका फुँयाल एकाएक मञ्‍चमै बेहोस् भए। संयोग उक्त नाटकको ब्रम्हसभामा सहभागी ऋषि बेहोस भएर ढल्ने र राजाको आग्रहमा उनलाई उपचारमा लैजान आदेश दिने सिन थियो। तर मंगलबार भने ब्रम्हसभाका ऋषि सँगै राजाको भुमिकामा रहेका फुँयाल समेत ढले। उक्त नाटकका एक पात्र माधव पौड्याल घटना यसरी बताउछन्ः

करिब सवा तीन बजेबाट नाटक शुरु भएको थियो। नाटक सकिन करिब २५ मिनेट मात्रै बाँकी थियो। उहाँ (बिष्णुभक्त फुँयाल) राजा जनकको भूमिकामा हुनुहुन्थ्यो। नाटकमा उहाँको अन्तिम सिन थियो, जहाँ ब्रम्ह सभा भइरहेको थियो। ब्रम्ह सभामा उहाँ राजाको आसनमा रानीसँगै बसिरहनुभएको थियो। उक्त सिनमा ब्रम्हसभाका एकजना ऋषि कुरा गर्दा ढल्ने सिन थियो। 

नाटकमा ऋषि ढलिसकेपछि उसलाई छिटो हस्पिटल लैजाने भनेर बाहिर निकालियो। त्यसपछि मन्त्रीले आएर केही बोलिसकेपछि राजा बोल्ने पालो थियो। राजाले ल मन्त्री उहाँलाई उपचार गरेर लिएर आउनुस् भन्‍ने सिन थियो। उहाँले आफ्नो आसनबाट उठेर त्यो पनि भन्‍नुभयो। ऋषिलाई बाहिर निकालियो।

त्यसपछि मन्त्री आउदैथे बोल्नका लागि। राजाले मन्त्रीलाई बोलाएपछि मन्त्री आउनुभयो र मन्त्रीको काँधमा आफ्नो टाउको राख्‍नुभयो। एक्कासी उहाँ कमजोर भएर ढल्न थालेको देखियो। त्यसपछि अब केही हुन थाल्यो है भन्‍ने बुझेपछि उहाँलाई मञ्‍चभन्दा पर लग्यौं र करिब ५ मिनेटको बीचमा वीर हस्पिटल लगियो। उहाँ बेहोस हुनेबित्तिकै हामीले उहाँलाई हस्पिटल पुर्‍याइसकेका थियौं। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.