|

 तनहुँ  : जिल्लाको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित निकै पुरानो ऐतिहासिक एवं धार्मिकस्थल अकलादेवी मन्दिरको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ।

समितिको आन्तरिक कोषको रकमबाट गत जेठ १८ गतेदेखि शुरु भएको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको हो। आगामी महीनाको फूलपातीको दिन उद्घाटन गर्ने गरी मन्दिरको काम तीव्र रुपमा भइरहेको मन्दिर निर्माण समितिका संयोजक रामभक्त घिमिरेले जानकारी दिए।

घिमिरेका अनुसार छ तल्लाको मन्दिरमध्ये चार तल्लाको ढलानको काम सम्पन्न भएको छ। 'अहिलेसम्म भइरहेको कामको गति हेर्दा दशैँको फूलपातीसम्म मन्दिर पुनर्निर्माण सम्पन्न हुने अनुमान गरेका छौँ,' घिमिरेले भने।

घिमिरेका अनुसार अकलादेवी मन्दिरको स्वरुप ललितपुरस्थित सन्तानेश्वर मन्दिरको जस्तै आकारमा निर्माण गरिएको छ। पुनर्निर्माण शुरु गर्दा रु ६३ लाख लागत अनुमान गरिए पनि मन्दिरको आकार थोरै परिवर्तन भएकाले लागत बढ्ने घिमिरेले जानकारी दिए।

घिमिरेका अनुसार मन्दिर पुनर्निर्माणका लागि म्याग्दे गाउँपालिकाले रु ४० लाख सहयोग गर्ने वचन दिएको छ। पुनर्निर्माण सम्पन्न भएलगत्तै मन्दिरमा तामाको छानो छाउने र ढोका  झ्यालहरुमा टुँडाल राखिनेछ। “३२ फिट उचाइ हुने मन्दिर पुनर्निर्माण सम्पन्न भएपछि निकै आकर्षक देखिनेछ,' घिमिरेले भने। मन्दिर पुनर्निर्माणका लागि भनेर समितिले केही समय अगाडि महायज्ञको आयोजना गरेको थियो। उक्त महायज्ञमा करीब रु एक करोड दान सङ्कलन भएको थियो।

मन्दिर व्यवस्थापन समितिले मन्दिरको डिपिआर तयार गरी भजनकीर्तन भवन, पाटीहरु गोलाकार शैलीमा निर्माण गर्ने योजना बनाएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मीनबहादुर बराई मगरले जानकारी दिए। मन्दिर क्षेत्रमा वनभोजस्थल पनि निर्माण गर्ने योजना छ। 'मन्दिरको विकासका लागि गुरुयोजना निर्माण गरेर अगाडि बढेका छौँ, मन्दिरको सर्वाङ्गीण विकासका लागि डिपिआरसमेत तयार भएको छ।

डिपिआरबमोजिम मन्दिर क्षेत्रमा पूर्वाधार निर्माणका लागि रु चार करोड बजेट आवश्यक पर्ने देखिएको छ,' उनले भने। अकलादेवी खुशी भएको बेला मन्दिरभित्र रहेको घण्ट आफैँ हल्लिने र बज्ने गरेको स्थानीयवासीको भनाइ छ। देवी प्रसन्न भएको अवस्थामा रातिको समयमा घण्ट बज्ने गरेको स्थानीयवासी बालहरि घिमिरेले बताए। विसं २०४२ देखि मन्दिरमा शङ्ख र घण्ट बजेको सुनिन थालेको स्थानीयवासी बताउँछन्।

मन्दिरमा नौ वर्षदेखि पुजारीका रुपमा कार्यरत टोपबहादुर सारुले देवीको शक्तिका कारण मन्दिरमा रहेको घण्ट आफैँ हल्लिने गरेको बताए। उनका अनुसार मन्दिरमा दैनिक ५०÷६० जना भक्तजन पूजाआजाका लागि आउने गर्दछन्। विसं २०५५ मा मन्दिरमा योगी नरहरिनाथले ८५औँ कोटी होम लगाउनुभएको थियो। यस क्षेत्रमा धार्मिक शक्ति भएको कारणले नरहरिनाथले यहाँ कोटी होम लगाएको स्थानीयवासी बताउँछन्।

अकला मन्दिरको बाहिर पुरानो आदिकालदेखिको सिंह र नन्दिनी अर्थात् साँढेको स्तम्भ छ। मन्दिर नजीकै पञ्चबलि दिने स्थान र हवन कुण्ड पनि छ। अकलादेवी मन्दिरको दक्षिण पश्चिममा रुद्रदेवीको मन्दिर छ। अकलादेवी र रुद्रदेवीको महिमाका लागि वर्षमा चार वटा रुद्री लगाउने गरिन्छ। यस ठाउँमा हरेक वर्ष वैशाख, साउन, कात्तिक र माघमा रुद्री लगाउने प्रचलन रहिआएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.