|

काठमाडौं : नेपालमा केही वर्षपछि नसर्ने रोगले स्वास्थ्य क्षेत्रमा भयावह स्थिति सिर्जना गर्ने भन्दै बेलैमा सचेत हुन विज्ञहरूले सुझाएका छन्।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, एक्सन नेपाल र द युनियनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनीहरूले नसर्ने रोगविरुद्ध लड्न ‘एक्सन लिनुपर्ने’ बेला आएको बताएका हुन्।

नसर्ने रोग नियन्त्रण गर्नका लागि पैरबी बैठक कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइरालाले विकसित मुलकहरूमा नसर्ने रोग कम हुँदै गए पनि हाम्रो देशमा भने यसविरुद्ध कामै सुरु हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे। उनले नेपालको यही अवस्था रहे भविष्यमा नसर्ने रोगले स्वास्थ्य क्षेत्रमा ठूलो क्षति पुर्‍याउने बताए।

‘अब पनि यसविरुद्ध काम नगरे अबको १० वर्षमा नसर्ने रोग भयावह भएर थेग्नै नसकिने अवस्थामा पुग्छ', उनले भने, 'यसबारे सरकारी निकायले बेलैमा सोच्नु पर्ने बेला आएको छ, अन्यथा नियन्त्रण हुन गाह्रो छ।’

यसैगरी सोही कार्यक्रममा बोल्दै मधुमेह तथा हर्मोन रोग विशेषज्ञ डा. ज्योति भट्टराईले पछिल्लो समय ‘साइलेन्ट किलर’को रूपमा रहेको मधुमेहले युवा अवस्थामै गाँज्न थालेको भन्दै नियन्त्रणका लागि सरकारीस्तरबाटै कार्यक्रम ल्याउनु पर्ने बताइन्।

‘अब सुर्तीजन्य पदार्थमा मात्र होइन ‘सुगरी ड्रिक्स’मा पनि ट्याक्स बढाउनुपर्छ’, उनले भनिन् 'यसले मुटु, मिर्गौला जस्ता रोग बढाउन मद्दत गरिरहेको छ, डाक्टरले औषधि लेखेर दिँदैमा मधुमेह नियन्त्रण हुँदैन जसले गर्दा सुरुमै रोगै लाग्न नदिनेतर्फ ध्यान दिन जरुरी छ।‘

कार्यक्रममा एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले नसर्ने रोग बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने सुर्तीजन्य पदार्थको बिक्रीमा कडाइ गर्नुपर्ने बताए। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनअनुसार नेपालमा ६६ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले नसर्ने रोगबाट करिब ७० प्रतिशत मानिसको मृत्यु हुने बताए। उनले नसर्ने रोगबाट बच्न आनीबानी र रहनसहन सुधार गर्नुपर्नेमा जोड दिए।

यस्तै, मन्त्रालयका सचिव खगराज बरालले आधुनिकताका नाम बद्लिएको जीवनशैलीले नसर्ने रोगलाई प्रोत्साहन गरिरहेको बताए। यो समस्याबाट जोगिने एउटै उपाय भनेको व्यवस्थित रहनसहन र खानपान भएको उनले बताए।

कार्यक्रममा गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. दिपेन्द्ररमण सिंह, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक कुन्जप्रसाद जोशी, राष्ट्रिय स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेश पोखरेललगायतले मन्तब्य राखेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.