|
फाइल फोटो

विराटनगर : ट्र्याक ओपन नै नभएका ओखलढुंगाका तीन वटा सडकलाई प्रदेश सरकारले बहुवर्षे योजनामा पारेको खुलेको छ। सांसद तथा जनप्रतिनिधिको दबाब थेग्न नसकेर सो जिल्लाको पूर्वाधार विकास कार्यालयले बहुवर्षे सडकको रुपमा ती सडकलाई सिफारिस गरेको थियो। 

प्रदेश सरकारले तीन वर्षमा सम्पन्न गर्ने गरी बहुवर्षे आयोजनाको रुपमा कतिपय पूर्वाधार विकासलाई लिएको छ। सडकमा भने ट्र्याक ओपन भइसकेका र महत्वका आयोजनालाई मात्रै बहुवर्षेमा राख्ने गरिएको थियो।

बहुवर्षेमा सिफारिस गरिएका सडकमा करिव २६ किलोमिटरको मानेभन्ज्याङ–माधवपुर–सिस्नेरीभन्ज्याङ सडक, करिब २५ किलोमिटरको नेले–तुम्से काँगेलटार–वचिम–जुभो–खनियाखर्क हुँदै ऐंसेलुखर्क जोड्ने सडक र तामाखानी–जसमानेभन्ज्याङ–नाग्रा–गुम्बालिखु–पिके–काफ्लेचौर हुँदै भण्डार जोड्ने करिब १८ किलोमिटरको सडक रहेका छन्। यद्यपि ती सडकको टेन्डर भने मुख्यमन्त्री कार्यालयले रद्ध गर्न निर्देशन दिए पनि प्रक्रिया रोकिएको छ। 

प्रदेश सरकारले उक्त तीनवटै सडकका लागि ६० करोड रुपैयाँका दरले बजेट विनियोजन गरेको ओखलढुंगाका पूर्वाधार विकास कार्यालय प्रमुख देबेन्द्र देवले बताए। ‘बजेटले जति पुग्छ त्यति बनाउने भनेर पिच बाहेकको लागि हामीले टेण्डर आव्हान गरेका थियौं’, देवले भने, ‘तर, मुख्यमन्त्री कार्यालयले केही कुरा बुझ्नुछ भनेपछि अहिले हामीले प्रक्रिया रोकेका छौं।’

देबले कतिपय स्थानमा बाहेक ट्रयाक खुलिसकेको अवस्थामा तीनवटै सडक रहेको दाबी पनि गरे। ‘त्यति रकमको सडक भएपनि सोही रकममा टेण्डर त लाग्दैन थियो नि’, उनले भने, ‘निर्माण व्यवसायीले २० करोडमा सम्पन्न गर्ने पनि टेण्डर हाल्न सक्थ्यो नि।’

आइतबार बसेको प्रदेश १ सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शेरधन राईले धूले सडक निर्माणका लागि ५० करोडको टेण्डर आव्हान गरेको र ४ करोडमा काम सकेर अरु पैसा खाने दाउमा रहेको आफूले थाहा पाएको बताए। देवले भने इबिडिङ हुने भएको कारण त्यसमा अनियमितता हुने भए पनि माथिबाटै हुनसक्ने सम्भावना रहेको दाबी गरे।  

‘हल्ला फैलिएको जस्तो ट्र्याक ओपन गर्नका लागि मात्रै त्यति बजेट छुट्याएको होइन,’ देवले भने, ‘वाल लगाउने, ड्रेन बनाउने, रोलर लगाएर ग्राभेलिङ गर्ने काम हामीले गर्न लागेका थियौं।’ ती सबै सडक गरेर २५ देखि ३० किलोमिटरको हाराहारीमा काम हुने स्टिमेट निर्माण भएको देवको भनाइ छ। हाल ती सडकहरू अढाइ तीन मिटरको रहेको र ७ देखि ८ मिटरसम्म चौडा बनाउने योजनासहित बहुवर्षेमा हालिएको सो कार्यालयको भनाइ छ।

ओखलढुंगामा प्रदेश अन्तर्गतका विभिन्न १० वटा सडक आयोजनाको काम अहिले पनि चलिरहेको सो कार्यालयले जनाएको छ। पूर्वाधार विकास मन्त्रालयका निमित्त सचिव राजेश घिमिरेले मुख्यमन्त्री कार्यालकै निर्देशनमा उक्त सडकको टेण्डर रद्ध गरिएको बताए। ती सडक निर्माणको लागि दोस्रो पटक गत असार ३१ गते टेण्डर आव्हान भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.