|

  • रमेश रावल

कालिकोट : गाउँलाई सफा राख्न दाहाँ गाविसस्थित मोल्फा बजारका महिलाले सरसफाई पसल शुरु गरेका छन्। गाउँका महिलाहरूले खोलेको दीपज्योति महिला बचत तथा ऋण सहकारी संस्थामार्फत सरसफाई पसल सञ्चालनमा ल्याइएको हो।

सरसफाई पसलमा स्वच्छ खानेपानीको फिल्टर, चर्पीमा प्रयोग हुने सामान, साबुन, खाद्यान्न लगायतका सामग्री राखिएका छन्। गाउँको सरसफाई कायम राख्न यस किसिमको पसलको सोच ल्याएको संस्थाकी अध्यक्ष मर्मसरा शाहीले बताइन्।

‘पसलको आम्दानी सहकारी संस्थामा बचत गर्छौं’, संस्थाकी कोषाध्यक्ष बेलसरा बिक भन्छिन्, ‘त्यो रकम अरु महिलाको उद्यमशीलतामा खर्च गर्छौं।’

पसलमा एक महिलाले रोजगारी समेत पाएकी छिन्। गत वर्ष गाउँका ३० महिला मिलेर गठन गरिएको संस्थामा अहिले ४ सय २० जना सदस्य रहेका छन्। गाउँमा महिलाहरूले मासिक १ सय रुपैयाँ बचत गर्छन्। सदस्यले बचत गरेको ब्याज ९ प्रतिशत पाउँछन् भने र ऋणका लागि ६ प्रतिशत ब्याज लिने गरिएको छ।

सहकारीमार्फत महिलाको उद्यमशीलता र गाउँको सरसफाइ लगायत क्षेत्रमा काम गरिरहेको संस्थाकी सदस्य रत्नरूपा शाहीले बताइन्। संस्थाले महिलाको आयआर्जनका लागि मात्र नभई गाउँको विकासका लागि पनि महिलाहरूले काम गरिरहेका छन्।

सहकारीको माध्यमबाट दाहाँ गाविसलाई यसै वर्ष पूर्ण सरसफाईयुक्त गाविस घोषणा गर्ने तयारी गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.