नबिल बैंकको २ करोड ३० लाख लुटेको आश‌ंका

|

धनगढी : केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले गत बुधबार साँझ कैलालीको धनगढीबाट चार थान पेस्तोल, दर्जनौं तमसुक, चेक र नक्कली छापसहित पक्राउ परेका सञ्जय राणाले आफ्नो अपराध स्वीकार गरेका छन्।

प्रहरीले धनगढी उपमहानगरपालिका–६ मटियारीका सञ्जय राणा भनिने सञ्जय राना, मटियारीकी कमल विक र वडा नम्बर ३ का रुद्रप्रसाद अधिकारीलाई पक्राउ गरेको थियो।  उनीहरूबाट प्रहरीले पेस्तोल १ थान , रिभल्बर १ थान, कटुवा पेस्तोल २ थान, गोली ७ राउन्ड, बटनवाला चक्कु १ थान बरामद गरेको थियो।  प्रहरीले मुख्य नाइके सञ्जय राणा भएको बताएको छ।  यद्दपि उनले अहिलेसम्म उनी संलग्न भएका अन्य अपराधहरु, आफ्नो समूह र अपराधीहरुसँगको कनेक्सनका बारेमा भने बताउन मानेका छैनन्।

प्रहरीलाई बयान दिने क्रममा उनले आफूलाई कारबाही गर्न आग्रह गर्दै आफूबाट अपराध भएको स्वीकार गरेको प्रहरी स्रोतले बतायो। ‘यद्दपि उनले आफ्नो बारेमा कुनै पनि सूचना र जानकारी दिन भने मानेका छैनन्’, एक प्रहरी अधिकृतले भने, ‘कानून विपरित क्रियाकलाप गरेको स्वीकार गरे पनि त्यससँग सम्बन्धित कुनै पनि जानकारी दिन मानेका छैनन्।’

उनले सही कुरा नखोलेका कारण प्रहरी उनको पोलीग्राफ टेष्ट गर्ने तयारीमा जुटेको छ। ‘उनी कुनै बेला खुलेर कुरा गर्छन र निस्फिक्री देखिन्छन्। उनलाई कुनै तनाव नभएको जस्तो देखिन्छ। तर कुनै बेला अत्यन्त निराश र हताश देखिन्छन’ प्रहरी स्रोतले भन्यो, ‘उनी अरूलाई ठग्ने मामिलामा निकै चलाख देखिएका छन्।’  जिल्ला

प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले उनीबाट थप कुरा खोल्न पोलीग्राफको प्रयोग गर्ने तयारीमा जुटेको बताए।
‘पोलीग्राफको तयारीमा जुटेका छौँ’ उनले भने, ‘यो पनि अनुसन्धानको एउटा पाटो हो।’

पोलीग्राफको प्रयोगले कुनै व्यक्तिले झुट वा सही के बोलिरहेको छ पत्ता लाग्ने विश्वास गरिन्छ। नाडी र मुटुको धडकनबाट सही र झुट बोलेको पत्ता लगाउन पोलिग्राफको प्रयोग गरिन्छ। उनले राष्ट्र बैंकको एउटै चेकले धेरैलाई प्रलोभनमा पारेर ठगेको प्रहरी स्रोतले बताएको छ।

नेपाल राष्ट्र बैंकको एक सय छ करोड रुपैयाको चेक देखाएर उनले धेरै व्यक्तिलाई झुक्याएर ठगेको स्वीकार गरेका छन्। आफूलाई राष्ट्र बैंकको चेक देखाएर राणाले ठगेको भन्दै केही व्यक्तिले प्रहरीलाई मौखिक उजुरी पनि दिएका छन्।

आफूसँग भएको राष्ट्र बैंकको एक सय छ करोडको चेक केही दिनमा साटिने र त्यसका लागि प्रकृया पुरा हुन एक हप्ता लाग्ने भन्दै उनले झुक्याईएको पाईएको छ। उनले त्यही चेक देखाएर एक जना व्यक्तिलाई काठमाडौंमा रहेको राष्ट्र बैंकको केन्द्रीय कार्यालय र केही व्यक्तिलाई राष्ट्र बैंकको धनगढी स्थित कार्यालय समेत लगेका थिए।

आफूसँगै लगेका ती व्यक्तिलाई राष्ट्र बैंक बाहिर राखेर भित्र पसेका राणा आधा घण्टापछि फर्केर चेकको कानुनी प्रकृया सबै पुरा भईसकेको र एक साताभित्र रकम पाउने बताएर ती व्यक्तिलाई प्रलोभनमा पार्न सफल भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। कतिसम्म भने थुप्रै व्यक्तिलाई झुक्याउनका लागि राणाले आफ्नो मोवाईलबाट आफ्ना वकिललाई फोन गरेर सोधेको नाटक गर्ने गरेको पाईएको छ।

उनले यताबाट चेकको कानुनी प्रकृया पुरा हुन कति दिन लाग्छ भनेर सोधे। उताबाट जवाफ आउने गरेको थियो, सबै प्रकृया पुरा भईसकेकोले एक साताभित्र चेकको रकम प्राप्त हुन्छ। यो संवाद आफूसँग भएका व्यक्तिलाई सुनाउने गरेका थिए।

‘यसरी उनले धेरै व्यक्तिलाई त्यो संवाद सुनाएर प्रलोभनमा पारेको देखिन्छ’ प्रहरी स्रोतले भन्यो, ‘उनले व्यक्ति अनुसार गफ दिने गरेको पाइएको छ।’ कतिपय व्यक्तिलाई राणाले भारतको राजस्थानमा आफ्नो छ सय बिगाहा जग्गा भएको बताएको समेत अनुसन्धानबाट खुलेका छ।

उनले सय करोड र सय बिगाहा जमिनभन्दा कमका गफ गर्ने गरेका थिएनन्। यो कुरा बयानका क्रममा स्वं राणाले स्वीकार गरेको प्रहरीले जनाएको छ। प्रहरी नै उनले दिने गफ र गफ गर्ने तरिका देखेर चकित परेको छ। प्रहरीका अनुसार उनी जो सुकैलाई आफ्नो गफको प्रभावमा पार्ने माहिर देखिन्छन्।

उनी जुन सुकै व्यक्तिलाई आफ्नो कुराको प्रभावमा पार्न सक्ने देखिएको छ। प्रहरीले उनका धेरै पाटाहरु पत्ता लागीनसकेकोले उनका गतिबिधि र उनी रहस्यमयी भएको बताएको छ। स्रोतका अनुसार उनी आफूसँग संगत गरेकाहरुका लागि पनि रहस्यमयी थिए। उनले सबै राजनीतिक दलको नेतासँग राम्रो सम्बन्ध रहेको प्रहरीसँगको बयानका क्रममा खोलेका छन्। यद्दपि कुन नेताले आफूलाई संरक्षण दिएको छन्, भन्ने कुरा भने खोलेका छैनन्।

उनले आफूले सबै राजनैतिक दललाई आर्थिक सहयोग गरेको समेत दावी गरेका छन्। उनले अधिकांशलाई भने आफू जग्गाको ठूलो कारोवारी भएको बताउने गरेको पाईएको छ। स्रोतका अनुसार उनीसँगै हिड्नेलाई पनि उनले के काम गर्छन भन्ने थाहा भने नभएको पाइएको छ।

प्रहरीले यसअघि पनि उनीसँग सोधपुछ गरेको समेत खुलेको छ। यद्दपि प्रमाणका आधारमा उनीमाथि कुनै मुद्दा चलाउन भने सकेन। पछिल्लो पटक प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोली लामो समयको अनुसन्धानपछि उनलाई सप्रमाण समात्न सफल भएको हो।

नबिल बैंक लुटपाटमा पनि आशंका

प्रहरीले उनीसँग बरामद गरेका ट्राफिक प्रहरीका सिट, बेल्ट, नेमप्लेट र ड्रेसका आधारमा नविल बैंकको पैसा लुट्न पनि राणाको संलग्नता रहेको आशंका गरेको छ। त्यसमा पनि अनुसन्धान थालेको छ।

२०७० साल पुस महिनामा महेन्द्रनगरबाट नविल बैंकको २ करोड ३० लाख ६० हजार रुपैया नेपाल राष्ट्र बैंकमा जम्मा गर्न ल्याउने क्रममा कैलालीको मालाखेतीमा लुटिएको थियो। लुटपाटमा संलग्न व्यक्तिले ट्राफिक प्रहरीको पोशाक लगाएका थिए। ६ वर्ष्बित्दा पनि प्रहरीले उक्त घट्नामा संलग्न व्यक्ति पक्राउ गर्न सकेको छैन्। राणासँग फेला परेका ट्राफिक प्रहरीका पोशाक र सामग्रीका आधारमा प्रहरीले उनलाई नविल बैंकको रकम लुटपाट प्रकरणमा समेत जोडेर अनुसन्धान गरिररहेको छ।

उनीमाथि हातहतियार तथा खरखजाना, हतियारको अबैध व्यापार गरेको, किर्ते कागजात,जालसाजी गरेको, ठगी गरेको, दुई वटा नागरिकता बनाएको लगायतका आधा दर्जन भन्दा बढि मुद्दा चलाउने तयारीमा प्रहरी जुटेको छ। त्यसबाहेक सम्पत्ती शुद्धिकरणको मुद्दा पनि उनीमाथि चल्ने भएको छ ।

प्रहरीले उनी संलग्न सबै अपराधका विषयमा खोजी गरिरहेको छ। सबै कुरा पत्ता लागेपछि उनीमाथि कति मुद्दा चलाउने तय गर्ने प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.