समाज

मादल बनाएरै घर खर्च
SHARES

भदौ २४, २०७६

    गुल्मी : रेसुङ्गा नगरपालिका १ का डिल्लिराज नेपालीलाई एकछिन् पनि फुर्सद छैन। उनको दिनचर्या बिहान सबैरै उठ्ने र राति अबेरसम्म मादल बनाउँन काममा खटिने नै हाे। उनलाई तीजमा मात्र होइन, दसैँ र तिहारमा पनि एकछिन पनि फुर्सद मिल्दैन। 

    धेरैजसो मानिस तीज, दसैँ, तिहार जस्ता पर्वहरूमा रमाइलो गर्छन्। तर नेपाली भने रमाइलो गर्ने मानिसलाई आवश्यक सामग्री जुटाइ दिएर आफ्नो खर्च चलाउँछन्। ५७ वर्षीय नेपालीले ४० वर्षअघि मादल बनाउने सीप सिके। त्यही सीप अहिले उनको जीवन चलाउने माध्यम बनेको छ।

    बीचमा केही समय भारतमा काम गरे पनि केही वर्षयता उनी तम्घास मै मादल बनाउदैँ आएका छन्। उनको घर बाग्लुङको गलकोट भएकोले उनले पसलको नाम पनि ‘गलकोटे मादल पसल’ राखेका छन्। एउटा नयाँ मादल ४ देखि ५ दिनमा तयार हुने गरेको उनको भनाई छ। अहिले एउटा मादलको मूल्य साइज हेरिकन दुई हजार २०० देखि ५ हजारसम्म पर्छ।साथै उनले महिनामा ५/६ वटा मादल बनाउने अन्य पुराना मादल मर्मत पनि गर्छन्।

    ‘अहिले मादलको सिजन चलेको छ। मादल बनाउन धेरै आउने हुँदा भ्याइनभ्याई छ’ उनले भने, ‘नयाँभन्दा पुराना धेरै मर्मत गर्नुपर्ने हुन्छ।’ मादल पनि सधैभरि बिक्री भने हुँदैन। तीज, दसैँ र तिहारमा अत्याधिक मात्रामा मादलको माग हुन्छ। यस्ता चाड पर्वमा गुल्मीका विभिन्न स्थानका साथसाथै पाल्पा, अर्घाखाँची, स्याङ्जा, बुटबल लगायतका स्थानबाट मादल किन्न र मर्मत गर्न उनै कहाँ आउने गर्दछन्।

    ‘मसँग भएको सीपले धेरै जिल्लाका मानिससँग भेट गराएको छ। यसमै खुसी छु’ नेपालीले भने, ‘बाल्यकालमा सिकेको सीप बुढेसकालको सहारा भएको छ।’ मादल बिक्री र मर्मतबाट मात्रै उनले तीजको समयमा मात्रै ८० हजार आम्दानी गर्छन्। त्यस्तै दसैँ र तिहारमा पनि कारोबार गर्दा बार्षिक एक लाख ५० हजारदेखि २ लाखसम्म आम्दानी गर्छन्। 

    दुःख र परिश्रमअनुसारको आम्दानी नभए पनि कामबाट आफू खुसी रहेको उनको भनाई छ। ‘मादलमा दुःख धेरै छ। फाइदा थोरै’ उनले भने, ‘घरखर्च चलाउन ऋण खोज्न परेको छैन।’

    सिजन चलेको बेला मादल बनाउन भ्याइनभ्याई हुने उनी अन्य समयमा भने सामग्री खरिद गर्ने काम गर्छन्। मादलका लागि आवश्यक पर्ने छाला भारतबाट ल्याउनुपर्छ। त्यसका साथै काठ, खरी लगायतका सामाग्री अन्य समयमा संकलन गर्ने र चाडपर्वमा नयाँ मादल बनाउने गर्दछन्। उनको घरमा अहिले पाँच भाइ छोरा,तीन छोरी र नाति-नातिना छन्। 

    आफू बढेसकालमा लागे पनि छोराहरूले सीप सिके हुन्थ्यो भन्ने उनको चाहना हो। तर छोराहरूले अहिलेसम्म सिकेका छैनन्। ‘नयाँ पुस्ताले सिक्दैनन्। कामलाई दुख भन्छन्’ उनले भने, ‘सीप सिके बुढेसकालको सहारा हुँदो रहेछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]