फोहोरका कारण क्यान्सरले २५ जना मरेको स्थानीयको दावी

|

काठमाडौं : काठमाडौंलाई हराभरा बनाउने नुवाकोटको सिसडोललाई फोहोरको थुप्रोमा कहिलेसम्म राख्छौ सरकार?

नुवाकोटको ल्यान्डफिल साइड सिसडोलबासीले वर्षौदेखि गर्दै आएको प्रश्न हो यो। २ वर्षको लागि भनेर काठमाडौंको फोहोर ल्याउन लागेकोमा १४ वर्ष बितिसकेको छ। तर, सरकारले आजसम्म वैकल्पिक व्यवस्था गरेको छैन। १४ वर्षसम्म फोहोर राख्ने वैकल्पिक स्थान खोजी नगरिएकोमा सिसडोलबासीले गुनासो गरेका छन्।

सिसडोलमा फोहोर राखिएको गाउँको वरिपरी बस्न सक्ने अवस्था छैन। काठमाडौं महानगरपालिकाको मात्र नाम लिने गरिए पनि सिसडोलमा उपत्यका लगायत आसपासका समेत गरी करिब २० नगर र गाउँपालिकाको फोहोर बिसर्जन गरिँदै आएको छ।

भान्सासम्म फोहोरको दुर्गन्ध आउने स्थानीय आशिष घिमिरेले बताए। ‘फोहोरको कारणले २५ जनाभन्दा बढी स्थानीयबासीको क्यान्सर लागेर मृत्युको भइसकेको छ,’ उनले भने। २ महिना देखि फोहोरको थ्रुप्रो लडेर बाटो अवरुद्ध छ। बिजुलीको खम्बा ढल्ने अवस्थामा पुगेको छ। 'कुन दिन त्यो ढलेर यो गाउँ अन्धकारमा बस्नुपर्ने अवस्थाले पिरोलेको छ', उनले भने।

बाटो बन्द हुँदा काठमाडौं जानलाई १ घन्टाको समय लाग्छ। सामान्य अवस्थामा सवारी चल्ने भएकाले सजिलो हुने गरेको स्थानीय बताउछन्। बिरामी हुँदा उपचार गर्न लाने बाटोसमेत नभएको उनी बताउँछन। सिसडोलको ल्यान्डफिल साइटमा १७ घरधुरी रहेका छन्। सरकारले सिसडोलको घरजग्गालाई क्षतिपुर्ति स्वरुप प्रति स्क्वाय फुट ५० रुपैयाँले दिएको थियो। तर, पछि प्रशासन लगाएर १५ रुपैयाँमा टारेको उनको भनाइ छ। 

फोहोरबाट निस्केको कालो पानी पोल्कु खोलामा मिसिएर खोला दुर्गन्धित बनेको छ। धेरै घरपालुवा जनावर खोलाको पानी खाएर मरिसकेको उनले बताए। तत्काल खोलामा आउने पानीलाई नरोके खोलाको पानी प्रयोगले खेतिपाति मार्फत स्वास्थ्यमा नराम्रो असर पर्ने स्थानीयको गुनासो छ।

सोमबार नुवाकोटको ल्यान्डफिल साइट सिसडोलको अनुगमन गर्न गएको प्रतिनिधीसभा अन्तर्गत विकास तथा प्रविधि समितिको टोली सामु पनि स्थानीय गुनासो गर्न पुगेका थिए। ल्यान्डफिल साइटको अनुगमन र फोहोर राख्ने वैकल्पिक स्थान बन्चरे डाँडाको अनुगमन गर्न पुगेका समितिलाई स्थानीयले यहीँ प्रश्न राखे। स्थानीयको प्रश्नले समितिका प्रतिनिधिलाई उत्तर दिन गाह्रो भएको थियो।

समिति सभापति कल्याणी खड्काले सिसडोलको अवस्थाले स्थानीयलाई धेरै मार परेको बताइन्। यसको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्ने उनको धारणा थियोि। ल्यान्डफिल साइटको यस्तो अवस्था हुनमा दीर्घकालीन योजना तय नगरी निर्माण गरिएकोले यहाँको अवस्था नाजुक रहेको उनले बताइन्। काठमाडौंले सिसडोललाई नराम्रो बनाए पनि स्थानीयको काठमाडौंप्रति सकारात्मक धारणा रहेको खड्काले बताइन्। महामारीबाट पीडित र क्यान्सरजस्तो रोगबाट पीडित हुँदा समितिलाई नै गम्भीर बनाएको उनको भनाइ थियो। 

वास्तविक समस्या र स्थानीयको भावना बुझ्नको सिसडोल आएको उनले बताइन्। यहाँको अवलोकन गरिसकेपछि त्यसैको आधारमा प्रतिवेदन पेश गरिने उनले प्रष्ट पारिन्।

सिसडोलको समस्या कसरी समाधान गर्न सकिन्छ त्यसको लागि सरोकारवाला समूहसँग छलफल गरिने उनले बताइन। काठमाडौं महानगरपालिका र शहरी विकास मन्त्रालय छलफल गरी सिसडोलको दीर्घकालीन गरिने उनको भनाइ छ। 'परम्परागत सोच बदल्न नसकेर दैनिक समस्या आइरहेको छ,' उनले भनिन्, 'वैज्ञानिक अवधारणाअनुसार फोहोर व्यवस्थापन गर्ने संकलन केन्द्र स्थापना गर्नुपर्छ।'

काठमाडौंको फोहोरलाई व्यवस्थापन कसरी गर्ने भनेर नसोचेकोले सिसडोलबासीमा समस्या आएको खड्काले बताइन्। सिसडोलबासीको समस्या के हो? त्यो बुझ्न र यसको दीर्घकालीन समाधान कसरी गर्न सकिन्छ? त्यसको लागि विकास समिति अवलोकन गर्न आएको उनले बताइन्। छलफलमा सरोकारवाला र स्थानीय जनप्रतिनिधिहरूलाई बोलाएर छलफल गरिने उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.