|

संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अफगानिस्तानमा सशस्त्र संघर्षरत तालिबानसँगको शान्ति वार्ता 'मृततुल्य' भएको बताएका छन्। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अब वार्ताको तत्काल सम्भावना नभएको बताएका हुन्।

संयुक्तराज्य अमेरिका र तालिबानबीचको वार्ता सम्झौतानजिक पुगेका खबर दुवैतर्फबाट सार्वजनिक भइरहेका थिए। तर गत साता काबुलमा अमेरिकी दूतावासनजिकै भएको कारबम आक्रमणबाट एक जना अमेरिकी सैनिक समेत १२ जनाको मृत्यु भएपछि ट्रम्पले वार्ता रद्द गरेका थिए।

राष्ट्रपति ट्रम्पले अफगानिस्तानमा युद्धरत तालिबान र अफगानी नेतासँग यसै सप्ताहान्तमा आयोजना गर्न खोजिएको गोप्य बैठक पनि एकाएक स्थगित गरेका थिए।

यस आक्रमणपछि ट्रम्पले शनिबार ट्वीटमार्फत क्याम्प डेभिडमा अफगानिस्तानका राष्ट्रपति र तालिवान नेताहरूसँग आइतबार हुने भनिएको गोप्य बैठक रद्द भएको घोषणा गरेका थिए।

तालिबानीले वार्ताको टेबुलमा फाइदा उठाउन खोजेको आरोप लगाउँदै यसको अमेरिकाले बदला लिने संकेत  समेत उनले दिएका छन्।

वार्ता रद्द गरेको घोषणापछि राष्ट्रपति ट्रम्पले अफगानिस्तानबाट तत्काल पाँच हजार सैनिक कटौती गर्ने प्रस्ताव पनि अन्यौलमा परेको बताइएको छ।

हाल अफगानिस्तानमा १३ देखि १४ हजार अमेरिकी सैनिक तैनाथ छन्। झण्डै १८ वर्ष अफगानिस्तानमा रहेको अमेरिकी सेनाले हाल अफगानी सेनालाई तालिम, सल्लाह र हवाई सुरक्षा प्रदान गरिआएको छ।

संयुक्तराज्य अमेरिकाले अल–कायदाले सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा आतंकवादी हमला गरेलगत्तै अफगानिस्तानमा आक्रमण गरी सेना पठाएको थियो। अफगानिस्तानमा तत्कालीन तालिबानी सरकारले अलकायदालाई आश्रय दिएको अमेरिकी आरोप थियो।

ट्रम्प प्रशासनले हाल अफगानिस्तानमा अमेरिकी सैनिक संलग्नता अन्त्य गर्न चाहेको छ। यसै सिलसिलामा सन् २०१८ देखि तालिबानसँग अमेरिकी विशेषदूत जाल्मे खलिलजादको नेतृत्वमा वार्ता जारी छ।

अमेरिका र तालिबानबीच हुने भनिएको सम्झौतामा अफगानिस्तानबाट अमेरिकी सेना चरणबद्ध रूपमा फिर्ता हुने, अफगानिस्तानलाई जिहादीहरूको सुरक्षित आश्रयस्थल बन्न नदिइने, अफगानिस्तान सरकारसँग वार्ता गर्ने तथा अन्ततः युद्धविराम गर्ने बुँदा रहेको बताइएको थियो।

पछिल्लो समय तालिबान समूहले राजधानी काबुल सहित देशका प्रमुख शहरमा आक्रमणलाई तिव्र बनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.