|

नेपाली राष्ट्रिय महिला टिम किर्गिस्तानमा जारी नादेझ्दा कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।  मंगलबार भएको समूह चरणको अन्तिम खेलमा ताजिकिस्तानलाई १–० ले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको हो।

काराकोलस्थित सेन्ट्रल स्टेडियममा नेपाललाई जित दिलाउन सावित्रा भण्डारीले गरेको एक मात्र गोल निर्णायक बनेको थियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा सावित्राले निर्णायक गोल गर्दे नेपाललाई फाइनलमा पुर्‍याइन्।

सावित्राले खेलको ८५औँ मिनेटमा  गीता रानाले प्रहार गरेको फ्रिकिकलाई आकर्षक हेडमार्फत पोस्टको दिशा दिएकी थिइन्। प्रतियोगितामा सावित्राको यो पाँचौं गोल हो। कप्तान निरु थापाबिना मैदान उत्रिएको नेपालले पहिलो हाफमा पाएका केही सुन्दर मौका सदुपयोग गर्न सकेन्। निरुको अनुपस्थितिमा नेपालको कप्तानी रेनुका नगरकोटीले गरेकी थिइन्।

ताजिकिस्तानविरुद्ध पहिलो हाफमा नेपालले एक गोल गरे पनि गोलको मान्यता पाएन्। मन्जली कुमारी योन्जनले गरेको गोललाई रेफ्रिले अपसाइड इशारा गर्दा संभावित अग्रताबाट नेपाल पछि हटेको थियो।

जितसँगै नेपालले ३ खेलमा ६ अंक जोडेको छ। नेपाल शीर्ष दुईमा रहँदै अब उपाधिका लागि उज्वेकिस्तानसँग प्रतिष्पर्धा गर्ने छ। नेपालले पहिलो खेलमा आयोजक किर्गिस्तानलाई ८–२ गोल अन्तरले पराजित गरेको थियो। अब नेपालले बिहीबार हुने फाइनलमा उज्वेकिस्तानको सामना गर्ने छ। समूहचरणमा नेपाल उज्वेकिस्तानसँगै पराजित भएको थियो। नेपालले यो प्रतियोगितालाई १३ औं दक्षिण एसियाली खेलकुदको तयारीका रूपमा समेत लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.